काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता भएको नागरिकता विधेयक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे सभामुख अग्निप्रसाद सापकोटाले परामर्श थालेका छन्।
आइतबार राष्ट्रपतिबाट संदेशसहित फिर्ता भएको नागरिकता विधेयक सोमबार संघीय संसद्मा टेबुल भएको छ। सभामुख सापकोटाले राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक अगाडि बढाउने सन्दर्भमा सरकारको तयारी बुझ्न गृहमन्त्री बालकृष्ण खाण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीसँग छलफल गरेका छन्।
सरकारले राष्ट्रपतिको संदेशबारे सदनलाई जानकारी दिने कार्यसूची राख्न भनेपछि मंगलबार प्रतिनिधिसभामा राष्ट्रपतिको सन्देशबारे जानकारी गराउने कार्यसूची छ।राष्ट्रपतिको संदेशबारे सदनलाई जानकारी गराएपछि अगाडि बढाउने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलको एउटै धारणा तय हुन सकेको छैन।
नेपाली कांग्रेस फास्ट ट्रयाकमा नागरिकता विधेयक पारित गराउनुपर्ने पक्षमा छ भने गठबन्धनमा रहेका अन्य दल राष्ट्रपतिले पठाएको सन्देशबारे एकीककृत धारणा तय गर्नुपर्ने पक्षमा रहेका छन्।