काठमाडौं- संघीय संसद्को दुबै सदनले पारित गरेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकोबारे मंगलबार प्रतिनिधि सभालाई जानकारी गराइने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार विधेयक पुनर्विचार गर्न पठाएको ९ पृष्ठ लामो सन्देशसहितको पत्र मंगलबारको संसद् बैठकमा पेश गरिने भएको छ। राष्ट्रपति भण्डारीले नागरिकता विधेयकसहित फिर्ता पठाएको सन्देशबारे संसद सचिवालयका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभालाई जानकारी गराएसँगै यसमाथि छलफल अघि बढ्नेछ।
प्रतिनिधि सभाको मंगलबारको सम्भावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपति कार्यालयको पत्रबारे जानकारी गराउनु हुने’ उल्लेख गरिएको छ।
साउन १५ मा संघीय संसदका दुवै सदनबाट पारित विधेयकलाई राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि आइतबार साँझ प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन्। राष्ट्रपति कार्यालयको पत्र सोमबार संघीय संसद सचिवालय पुगेसँगै यसबारे फेरि छलफल अघि बढ्ने भएको हो।
यसअघि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताएका थिए। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सिट बाँडफाँट कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि संघीय संसद्मा फिर्ता पठाएको उनले बताए। ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद्बाट पुनर्विचार हुन आवश्यक देखिएकाले’ भन्दै राष्ट्रपतिले फिर्ता पठाएकी थिइन्।
सरकारका प्रवक्ता कार्कीले अब नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताएका हुन्। नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ साउन ६ गते प्रतिनिधि सभा र साउन १२ गते राष्ट्रिय सभाबाट पारित भएको थियो।
संघीय संसद्बाट पारित गरिएको विधेयकलाई प्रमाणीकरणका लागि साउन १५ गते शीतलनिवास पुगेको नागरिकतासम्बन्धी विधेयकलाई विचाराधीन अवस्थामा राखेकी राष्ट्रपति भण्डारीले आइतबार फिर्ता गरेकी हुन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा २ बमोजिम फिर्ता गरेको जनाइएको छ।
संविधानको धारा ११३ को उपधारा ३ मा भनिएको छ, 'प्रमाणीकरणका लागि पेश भएको अर्थ विधेयक बाहेक अन्य विधेयकमा पुनर्विका हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेश भएको पन्ध्र दिनभित्र निजले सन्देश सहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउनेछ।'
यसरी राष्ट्रपतिले फिर्ता गरेको विधेयक अब प्रतिनिधि सभामा फर्किने छ। उपधारा ४ मा भनिएको , 'राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधन सहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ।' राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक ऐन बन्ने संविधानको धारा ११३ को ५ मा उल्लेख छ।