काठमाडौं- नेपालमा गैरकानुनी रुपमा भित्रिएका मोबाइल असोजदेखि नचल्ने भएका छन्। अवैद्य आयात नियन्त्रण गर्न भदौ ३० बाट मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम लागु हुने भएको हो। मोबाइल आयातकर्ता संघ र प्राधिकरणबीच सोमबार एक कार्यक्रममा ‘मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम’ लागू गर्ने सहमति भएको हो।
एमडीएमएस प्रणाली अवैद्य रुपमा आयात हुने फोनहरुको नियन्त्रण गर्ने उच्च प्रविधि हो। सामसुङ मोबाईलका आधिकारिक बिक्रेता तथा मोबाइल आयत संघका अध्यक्ष दिपक कुमार मलहोत्राले मोबाइल फोनको व्यवसायमा देखिएको अनधिकृत आयातबाट उत्पन्न भयावह स्थितिले नेपाल प्रहरीको अनुसन्धान कार्यमा समेत कठिनाइ भइरहेको हुँदा एमडीएमएस लागू गर्न अब ढिला गर्न नहुने बताए।
गैरकानुनी रुपमा भित्रिने फोनहरुका कारण एकातिर आम उपभोक्ताहरु ठगीमा पर्ने र अर्कोतर्फ सरकारले राजस्व गुमाउनुपर्ने बताए। साथै अवैद्य आयातले आधिकारिक बिक्रेताहरुको व्यापारमा संकुचन हुने मलहोत्राले बताए।
संघका उपाध्यक्ष सञ्जय अग्रवालले आउँदो भदौ ३० देखि औपचारिक रुपमा एमडीएमएस सुरु हुने र यसको दुईदेखि तीन महिनामा शतप्रतिशत लागू हुने बताए। ‘यो दुई–तीन महिनाको समयमा पुराना फोनलाई दर्ता गर्ने समयावधि प्रदान गर्ने हो र भदौ ३० उप्रान्त नेपालमा अनधिकृत आयातित मोबाइल चल्नेछैन,’ उनले भने।
अग्रवालले नेपाल दूरसञ्चार प्राधिकरणले सतःप्रतिशत प्रतिबद्वता दिएको जानकारी दिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अब कुनै विशेष परिस्थितिबाहेक आगामी भदौ ३० बाट एमडीएमएस सिस्टम सुरु गर्ने बताए।