काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा विधेयक पास गर्ने बेला गणपूरक संख्या पुग्न छाडेको भन्दै असन्तुष्टि जनाएका छन्। सोमबार संघीय संसद सचिवालयमा आयोजित ‘संसद्मा कानुन, न्याय तथा मानव अधिकार समिति : अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्ला दिन संसद्मा गणपूरक संख्या नपुगेकोप्रति असन्तोष व्यक्त गरेका हुन्।
पछिल्लो समय संसद्मा हाजिर गरेर सांसदहरू बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक संख्या पुग्न छाडेको छ। आइतबार मात्रै प्रतिनिधिसभा बैठकमा समेत विधेयक पास गर्न सांसदहरूको गणपूरक संख्या नपुग्दा मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो।
उनले संसद्लाई जनतामा जोड्न धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरू अनुपस्थित भइदिँदा जनमुखी विधेयक प्रमाणीकरण र पास गर्न आफूलाई अप्ठेरो भइरहेको सुनाए। सभामुख सापकोटाले संसद्मा विधेयक पास गर्न धेरै पटक घन्टी बजाउनुपरेको र मन्त्रीहरू बोलाउन कुर्नुपरेको भन्दै सबै सांसद र मन्त्रीहरू जिम्मेवार र गम्भीर हुनुपर्ने बताए।
उनले भने, ‘कानुन शक्तिशाली हुन्। तर्कोचित, न्यायोचित र विवेकशील हुनुपर्छ र मात्र शक्तिशाली हुन्छ। हामीले सबैभन्दा माथि म छु भनेर कसैले ठान्नुपर्दैन। हामीभन्दा माथि पनि कानुन छ। संसद्लाई जनतामा जोड्न कति बुद्धि र विवेक लगायौं? कति मिहिनेत र परिश्रम गर्यौं, त्यो मूल्यांकनको कुरा छ। हाम्रा सबै काम जनताले हेरिरहेका छन्।’
सभामुख सापकोटाले समितिमा दोहोरोपन देखिएको बताए। उनले समितिले दिएका निर्देशन सरकारले किन लागू गरेन भन्नुभन्दा पनि देशको धरातललाई बुझेर निर्णय भएका हो वा होइनन् भन्ने कुरा स्वयं समितिले आत्मालोचना गर्नुपर्ने सुझाए।
उनले भने, ‘समितिमा दोहोरोपन हुने गरेको छ। अब हाम्रो समय छोटो छ तर अभिलेख भए समितिमा छलफल गर्दा, प्रतिनिधिसभामा छलफल गर्दा के सोच्नुपर्ने रहेछ भने सरकारले हाम्रो निर्देशन पालना गरेन, हाम्रा निर्देशन लागू भएनन् भन्नुभन्दा पहिले नै गम्भीर रूपमा समीक्षा गर्नुपर्छ।
सभाुमख सापकोटाले संघीय संसद्लाई जीवन्त र जनमुखी बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘रबर स्ट्याम्पको रूपमा पनि व्यवस्थापिका छन्, क्रियात्मक रूपमा पनि छन्। रुपान्तरित रूपमा पनि छन्। तर हामी चाहन्छौं, उदीयमान व्यवस्थापिका। ध्यानाकर्षण गर्यो तर जनमुखी हुन सकेन भने राम्रो हुँदैन।
सभामुख सापकोटाले खोज, अनुसन्धान गरेर प्रभावकारी बनाएका कारण अमेरिका, स्वीडेन, जर्मनीका समिति धेरै शक्तिशाली रहेको सुनाए। उनले त्यहाँका समिति कानुन निर्माणमा असाधारण खोज, अनुसन्धान गरेका कारण शक्तिशाली भएको दाबी गरे।