शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • क्रिप्टो कारोबार नगर्न राष्ट्र बैंकको पुनः चेतावनी, विदेशबाट पनि कारोबार गर्न नपाइने

क्रिप्टो कारोबार नगर्न राष्ट्र बैंकको पुनः चेतावनी, विदेशबाट पनि कारोबार गर्न नपाइने

नेपाल राष्ट्र बैंकले नेपालबाट अझै पनि क्रिप्टोकरेन्सी कारोबार भइरहेको भन्दै त्यस्तो कारोबार नगर्न सूचना जारी गरेको छ।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपालबाट अझै पनि क्रिप्टोकरेन्सी कारोबार भइरहेको भन्दै त्यस्तो कारोबार नगर्न सूचना जारी गरेको छ। विदेशी विनियम व्यवस्थापन विभागले सूचना जारी गर्दै क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी र नेटवर्किङ व्यवसाय नेपालमा गैरकानुनी भएको पुनः स्मरण गराएको छ। 

यसअघि राष्ट्र बैंकले २०७४ साउन २९ गते, २०७८ भदौ २८ गते र माघ २९ गते सूचना जारी गर्दै यस्ता कारोबार गर्न आग्रह गरेको थियो। क्रिप्टोकरेन्सीले नेपालमा विदेशी विनिमय मुद्रा वा मुद्राको रुपमा कानुनी मान्यता प्राप्त नगरेको राष्ट्र बैंकले सूचित गरेको छ। नेटवर्किङ व्यवसाय तथा हाइपर फण्ड जस्ता कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलाप लगानी, ठगी तथा कर छली, लगानीमा असुरक्षा, पुँजी पलायन, मूल्य अस्थिरता एवं उत्तारचढाव, सट्टेवाजी सम्वन्धी जोखिम अन्तरनिहित हुने भएकाले यस्ता क्रियाकलापमा संलग्न नहुन भनिएको छ। 

नेपालभित्र मात्रै होइन, नेपाल बाहिर बसोबास गर्ने नेपाली नागरिक तथा नेपालमा दर्ता भई विदेशमा कारोबार गर्ने फर्म, कम्पनी वा संस्था र तिनका शाखा कार्यालयले नेटवर्किङ व्यवसाय तथा कारोबार र हाइपर फण्डमा संलग्न रहेको पाइएकाले त्यस्ता गतिविधिमा संलग्न नहुन राष्ट्र बैंकले भनेको छ। 

यस्ता कारोबारमा संलग्न हुने स्वदेशी तथा विदेशमा रहेका नेपाली नागरिक, फर्म, संस्था तथा तिनका शाखाहरुलाई विदेशी विनिमय नियमित गर्ने ऐन  २०१९  बमोजिम कारवाही हुने चेतावनी राष्ट्र बैंकले दिएको छ।


प्रकाशित: Aug 15, 2022| 17:01 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्