काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको लोकप्रियता र सबलतासँगै सम्पूर्ण ध्यान जनताको काममा लगाउन पार्टीबाट नवनिर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएका छन्।
कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले सबै जनप्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्नेमा आफू विश्वस्त रहेको बताए।
'मैले विशिष्ट परिस्थितिमा सरकारको नेतृत्व गरेको हुँ। कोभिड नियन्त्रण गर्ने, लोकतान्त्रिक मूल्यमान्यता स्थापित गर्ने र एमसीसी अनुमोदन गर्ने जिम्मेवारी थियो। त्यो पूरा गरेको छु,' उनले भने। कांग्रेसकै नेतृत्वमा स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न भएको देउवाले बताए।
अबको ध्यान मंसिर ४ गतेका लागि केन्द्रित भएको बताउँदै देउवाले सबैले सोहीतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए। 'अघिल्लो पटक हामीले विपक्षी गठबन्धनका कारण जित्न सकेनौं। यसपटक हाम्रो गठबन्धनको सरकार छ। हामीले गठबन्धन गरेरै जाने हो। पार्टीभित्र मजबुत एकता कायम गरेर चुनावमा जाऔं,' देउवाले भने।
देउवाले आफूले पार्टीभित्र सहमतिमै निर्णय गरेको दाबीसमेत गरे। आगामी दिनमा पनि पार्टीमा कसैलाई काखापाखा नगरिने उनको भनाइ छ। 'मैले पार्टीभित्र सहमतिमा निर्णय गर्ने गरेको छु। आगामी दिनमा पनि कसैलाई काखापाखा हुन दिन्नँ। कतिपय ठाउँमा गठबन्धन भएर पनि हामी हार्नुपरेको छ। स्थानीय तहले जनताको मन जित्नुपर्छ। जनताभन्दा ठूलो कोही छैन,' उनले भने।
जनता देशका मालिक भएको देउवाको भनाइ थियो। जनताको मन जित्नेगरी काम गर्न समेत उनले पार्टीबाट निर्वाचित प्रतिनिधिलाई निर्देशन दिएका छन्।
'पार्टीका सबै साथीहरू लाग्यौं। जनताको मन जित्यौं भने हामी सहजै चुनाव जित्नेछौं। त्यसैले सबै साथीहरू जनतामाझ जानुहोला,' उनले भने, 'म यसपटक चुनाव चित्नेमा विश्वस्त छु।' उनले गाउँगाउँमा सिंहदरबार भन्ने नारालाई स्थापित गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन्।
उनले आफू नेतृत्वको सरकार आगामी चुनाव स्वच्छ, निष्पक्ष र भयरहित बनाउन पनि प्रतिबद्ध रहेको बताएका छन्। यसका साथै देउवाले टिकट वितरणमा घात नहुने दावीसमेत गरे। उनले टिकट वितरण गर्दा सबैलाई मिलाएर लैजाने भन्दै आश्वस्त पारेका छन्।