काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिक जीवनको उत्तरार्धमा छन्। आफ्नो राजनीतिक जीवनमा देउवाले पाँच पटक मुलुकको नेतृत्व गरिसकेका छन्। दोस्रो कार्यकाल कांग्रेसको बागडोर सम्हालिसकेका छन्। कांग्रेसको विद्यमान विधानअनुसार देउवा तेस्रो कार्यकाल सभापति बन्न पाउने छैनन्। अब एकपटक मुलुकको नेतृत्व गर्ने अवसर भने देउवाका सामु छ। राजनीतिक परिस्थिति अनुकूल रहे देउवा छैटौं पटक प्रधानमन्त्री बन्नेछन्।
यस्तो अवस्थामा राजनीतिक वृत्तमा प्रश्न उठिरहेको छ- देउवाको उत्तराधिकारी को बन्ला? यो प्रश्न जति पेचिलो छ, उति नै यसका संकेतको खुलासा पनि विस्तारै भइरहेको छ। र, पछिल्लो समय धेरैले अनुमान गरेका छन्- देउवाले पत्नी आरजु राणा देउवालाई उत्तराधिकारी बनाउनेछन्। आरजुको राजनीतिक सक्रियता र हस्तक्षेपलाई हेर्दा पनि यो अनुमान सत्य नजिक छ।
पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक अध्येताहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ। त्यसो त आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनपछि देउवाले प्रधानमन्त्रीका रुपमा आरजुलाई अघि सार्न सक्ने सम्भावना पनि उत्तिकै छ। त्यसले कांग्रेसका कतिपय प्रभावशाली नेताहरुलाई झस्काइदिएको छ। त्यसमा पनि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा अझ बढी झस्किएका छन्।
गत असार तेस्रो साता पार्टी निकट बुद्धिजीवीहरुसँगको छलफलमा महामन्त्री थापाले देउवाको कुटिल चालबारे खुलासा गरेका थिए। आगामी निर्वाचनपछि प्रधानमन्त्रीको ५ वर्षे कार्यकाललाई बाँडेर आधा कार्यकाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई र आधा कार्यकाल आरजुलाई प्रधानमन्त्री बनाउनेतर्फ खेल अघि बढ्न सक्ने थापाको बुझाइ छ। जुन कुरा उनले छलफलमा उपस्थित वुद्धिजीवीहरुलाई सुनाएका थिए।
त्यसो त कांग्रेसभित्रको एउटा तप्का आरजुलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहने पनि छ। त्यो समूह खासगरी पार्टीमा देउवाको विकल्प नदेख्नेहरूको हो। यसका साथै आरजु प्रधानमन्त्री बने आफू उनीसँग थप निकट हुन चाहनेहरूले आरजुलाई प्रोत्साहन गरिरहेका छन्। खासगरी संस्थापन समूहका केही नेताहरु आरजु प्रधानमन्त्री बन्ने कुरालाई आपत्ति जनाउनुपर्ने कारण नभएको तर्क गर्छन्। गत साउन १९ गते नेता मीन विश्वकर्माले आरजु उदयीमान नेता भएकाले प्रधानमन्त्री बन्न नसक्ने भन्न नहुने बताएका थिए। उनले भनेका थिए, 'डा. आरजु उदीयमान नेता हो। प्रधानमन्त्री बन्न नसक्ने भन्ने कुरा हुन्छ?
देउवाको त्यो वचन, यो प्रयास
कांग्रेसको १३औं महाधिवेशन मुखैमा आइसकेको थियो। शेरबहादुर देउवा तेस्रो प्रयासमा सभापित बनेर सानेपा प्रवेश गर्ने तयारीमा थिए। २०५७ सालमा भएको १० औं महाधिवेशनबाट सभापति बन्ने देउवाको प्रयास १२औं महाधिवेशनसम्म सफल हुन सकिरहेको थिएन। १० औं र ११ औं महाधिवेशनमा उनी गिरिजाप्रसाद कोइरालासँग पराजित हुन पुगेका थिए भने १२औं महाधिवेशनमा सुशील कोइरालासँग। यस्तो अवस्थामा १३औं महाधिवेशन देउवाका लागि प्रतिष्ठाको लडाइँ बनेको थियो। वंशवादको विरोध गर्दै पार्टी नै फुटाएका देउवासामु उत्तराधिकारीको प्रश्न पनि जोडिएको थियो। महाधिवेशनको राप र ताप बढिरहेका बेला २०७२ फागुन १७ देउवाले कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा अन्तर्वार्ता दिएका थिए। तर उनले परिवारवादका विषयमा गरिएको प्रश्नको उत्तर भने दिन चाहेनन्। बरु आफ्नो उत्तराधिकारी परिवारबाट नहुने बताएका थिए।
उनले भनेका थिए, 'मेरो छोरा भर्खर २० वर्षको भयो। उसलाई मैले कसरी उत्तराधिकारी बनाउनु? म त्यसमा विश्वास गर्दिनँ। मैले आफ्ना उत्तराधिकारी बनाउन जरुरी छैन। मैले हुँदैन भनिसकेँ त ! मेरो परिवारभित्रबाट कोही पनि उत्तराधिकारी हुँदैन। यो मेरो बचन हो।'
पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।
देउवाले पत्नी आरजु कुनै पनि हालतमा उत्तराधिकारी नहुने दाबी गरेका थिए। संविधानसभा सदस्य पनि जेन्डरका कारणले भएकाले राजनीतिप्रति आरजुको चासो नरहेको उनको भनाइ थियो। 'मेरो धर्मपत्नी पनि उत्तराधिकारी हुँदिनन्। उनी जेन्डरका कारणले आएकी हुन्। त्यो पनि उनी आउनै चाहँदिनन्,' देउवाले भनेका थिए, 'धर्मपत्नी होस् वा छोरा परिवारबाट उत्तराधिकारी कोही पनि हुँदैन। मेरा सन्तान र परिवारबाट उत्तराधिकारी हुँदैन भनिसकेपछि त भइहाल्यो नि!'
देउवा १३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भए। सभापतिमा निर्वाचित भएको दुई वर्षपछि प्रधानमन्त्री बने। तर सभापति बन्नुअघि उनले गरेको बाचा भने बिर्सिए। आफैंले गराएको निर्वाचनमा पत्नी आरजुलाई कैलाली-५ बाट उम्मेदवार बनाए। आफ्नो उत्तराधिकारी बनाउने प्रयत्न उनले त्यही बेलाबाट सुरु गरेका थिए। यद्यपि उनको त्यो प्रयास भने सफल हुन सकेन। दुवै संविधानसभामा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेकी आरजु पहिलो पटक प्रत्यक्ष चुनाव लडेकी थिइन्। तर मतदाताले उनीभन्दा बढी उनका प्रतिस्पर्धीलाई विश्वास गरे। आरजु विजयी बन्न सकिनन्। देउवाको उत्तराधिकारी हुने उनको महत्वाकांक्षी प्रयासमा मत परिणामले ब्रेक लगाइदियो।
देउवाले आरजुलाई उत्तराधिकारी बनाउने प्रयास भने छाडेका छैनन्। पार्टीको १४औं महाधिवेशनमा आरजुलाई पार्टी केन्द्रीय सदस्यको उम्मेदवार बनाए। यसपटक भने आरजु चुनावी रणनीतिमा सफल भइन्। फर्स्ट लेडीका हैसियतमा आरजु अहिले पार्टी सत्ता र राज्य सत्ता दुवैमा हावी छन्। राजनीतिक र कूटनीतिक विषयमा आरजुको सक्रियता छिपेको छैन।