रुकुम पूर्व- जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको गाडी दुर्घटना हुँदा दुई जना डीएसपीसहित ६ जना घाइते भएका छन्।
पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरा नजिकै लु१झ ६६० नम्बरको प्रहरीको भ्यान दुर्घटनामा परेको हो।
दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठसहित ६ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ।
अनुगमन र अरु कामको सिलसिलामा प्रमुख जिल्ला अधिकारीलगायतको टोली तकसेरा जाने क्रममा दुर्घटना भएको हो। घाइतेमध्ये एक जना जवान गम्भीर घाइते रहेको र सबै घाइतेको उद्धारका लागि हेलिकोप्टर आइरहेको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताए।
प्रमुख जिल्ला अधिकारीसहितको टोली अर्को गाडीमा रहेको बताइएको छ। दुर्घटनाको कारण नखुलेको प्रहरीको भनाइ छ।