काठमाडौं– सरकारले देशभर रहेका सबै मिटरब्याजीपीडितलाई उजुरी दिन आग्रह गरेको छ। सरकारबाट मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले शनिबार सूचना प्रकाशन गर्दै एक साताभित्र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको हो।
कार्यदलका संयोजक गृह मन्त्रालयका सहसचिव डा.भीष्मकुमार भुसालले सूचना प्रकाशन गर्दै मिटरब्याजीपीडितलाई तथ्य प्रमाणसहित आगामी ५ भदौसम्म उजुरी गर्न आग्रह गर्दै कार्यदलले एक घन्टाभित्रै काम थालेको बताएका छन्।
कार्यदल गठन भएको एक घन्टाभित्रै नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट संगठित भई काठमाडौं माइतीघर मण्डलामा धर्ना दिँदै आएका मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिसँग जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमेतको उपस्थितिमा कार्यदलले वार्ता गरेको भुसालको भनाइ छ।
उनले मिटरब्याजीले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठेरो परिस्थितिमा रहेका व्यक्तिमाथि गरेको शोषण शृंखलाले सयौं परिवारको विचल्ली भएका समाचार सार्वजनिक भइरहेको उल्लेख गर्दै त्यस्ता आर्थिक अपराधीलाई कानुनको दायरामा ल्याई कारबाही गर्ने प्रक्रिया चलिरहेको बताए।
धेरै पीडितले आफ्नो पीडा सार्वजनिक गर्न वा कानुनी उपचारका लागि पहल गर्न नसकेको अवस्था रहेकाले उनीहरुलाई एक साताभित्र उजुरी गर्न आग्रह गरिएको छ।नवलपरासीमा मात्र नभई तराईका अधिकांश जिल्लाबाट समेत गुनासा प्राप्त भएका र देशैभर मिटरब्याजीको जालो फैलिएको हुन सक्ने अवस्थालाई दृष्टिगत गरी देशैभरका मिटरब्याजीपीडित व्यक्तिबाट तिनले गरेका अपराध र शोषणविरुद्ध उजुरी मागिएको डा.भुसालले बताए।
मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न कार्यदल गठन भएको थियो।