काठमाडौं– सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजी समस्या समाधानका लागि उपाय पहिचान गरी अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आवश्यक पहलकदमी लिन निर्देशन दिएका थिए।
प्रधानमन्त्री देउवाको निर्देशनपछि गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा. भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन्।
कार्यदलका सदस्यमा प्रहरीका केन्द्रीय अनसुन्धान ब्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृहका कानुन उपसचिव श्रीकृष्ण पौडेल, प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहेका छन्। कार्यदलको सदस्य सचिवमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ ।
कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।
कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लामा स्थलगत भ्रमण गरी समस्याका कारक तथा समाधानका उपाय पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपाय सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेस गर्नेलगायत कार्यादेश दिइएको छ।