काठमाडौं- नेप्से बजारको ओरालो यात्रा थामिएन। साताभर (१-७ भदौ) नेप्से परिसूचक लगातार घटेको छ। कुनै पनि दिन नेप्से परिसूचक बढेन।
यस साता नेप्से कारोबारको शुरु दिन आइतबार ११९३.२९ विन्दुमा रहेको परिसूचक लगातार घटेर अन्तिम दिनसम्म आइपुग्दा १७.७९ अंकले घटेर ११७८.५० अंकमा पुगेको छ।
कारोबारसमेत गत साताको तुलनामा यस साता १७.८४ प्रतिशत घटेको छ। गत साता एक सय ८५ कम्पनीको २२ हजार पाँच सय २० कारोबारबाट एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ कारोबार भएको थियो। यस साता एक अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपैयाँको मात्रै कारोबार भएको छ। जसमा एक सय ८५ कम्पनीको १६ हजार ६ सय २० कारोबार भएको छ।
परिसूचक १७.७९ अंक घट्दा कारोबार एक अर्ब १७ करोड मात्रै।
यस्तै, गत साता ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयर खरिद-बिक्री भएकामा यो साता घटेर ४४ लाख २१ हजार नौ सय ५० कित्ता खरिद-बिक्री भएको छ।
‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा अन्तिम दिन ३.५४ अंकले घटेर २४८.९९ अंकमा पुगेको छ।
सेयर बजारमा आएका ११ समूहमध्ये व्यापार समूहबाहेक यस साता बाँकी सबै समूहको परिसूचक घटेको छ। वाणिज्य बैंक समूह, विकास बैंक समूह, वित्त, लघुवित्त, होटेल, जलविद्युत्, निर्जीवन बीमा, उत्पादनमुलक समूहको परिसूचक घटेको हो।
जसमा सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक १७०.९५ अंकले घटेको छ भने सबैभन्दा कम अन्य समूहको परिसूचक ०.३३ अंकले घटेको छ। यसैबीच, व्यापार समूहको परिसूचक २.९५ अंकले बढेको छ।
एनएमबीको कारोबार सबैभन्दा बढी
यस साता कारोबार रकम (६ करोड ६१ लाख ६० हजार रुपैयाँ)को आधारमा एनएमबी बैंक लिमिटेड अग्रस्थानमा छ। कारोबार भएको सेयर संख्या (दुई लाख १३ हजार कित्ता)का आधारमा समेत एनएमबी बैंक नै अग्रस्थानमा रह्यो।
कारोबार संख्या (५७९ वटा)को आधारमा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ।
यी कम्पनीले गरे सर्वाधिक कारोबार
नेप्सेका अनुसार एनएमबी बैंक, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, एनएलजी इन्स्योरेन्स, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक र ग्लोबल आइएमई बैंकले यो साता सर्वाधिक कारोबार गरेका छन्। ती कम्पनीहरूले तीन करोड ६५ लाख रुपैयाँदेखि ६ करोड ६१ करोड रुपैयाँको कारोबार गरेका छन्।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो। संस्थागत र सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन।
१२ कम्पनीको सेयर सूचीकृत
यस साता १२ वटा कम्पनीको विभिन्न किसिमको धितोपत्र सूचीकृत भएको छ।
भार्गव विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकको हकप्रद धितोपत्र सूचीकृत भएका हुन्।
यस्तै, हाम्रो विकास बैंक, सिद्धार्थ बैंक, मिर्मिरे लघुवित्त वित्तीय संस्था, हिमालयन बैंक, सूर्योदय लघुवित्त वित्तीय संस्था, मेगा बैंक नेपाल र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको बोनस धितोपत्र सूचीकृत भए।
यसबाहेक, एनएमबी बैंक र नाडेप लघुवित्त वित्तीय संस्थाको क्रमशः थप निष्काशन र प्राथमिक सेयर सूचीकृत भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४