काठमाडौं- पछिल्ला साता नेपालमा कोरोना संक्रमण दैनिक एक हजारको हाराहारीमा पुष्टि हुन थालेको छ। साउन १ गते कुल परीक्षणको ४ प्रतिशतमा संक्रमण पुष्टि भएकोमा पछिल्लो साता झण्डै २० प्रतिशतसम्म संक्रमणदर पुगेको छ। बुधबारमात्रै कुल परीक्षणको १३ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। यसरी पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गएपछि सरकारले सतकर्ता अपनाउन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ।
पछिल्लो समय कोरोना संक्रमण बढ्दै जानु र मानिसले जनस्वास्थ्यका मापदण्ड पालना गर्न लापरबाही गर्नुले अझै कोरोना संक्रमण दुई साता बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक अध्ययनअनुसार अझै दुई साता संक्रमण बढ्दै जानेछ। दुइसातापछि स्थिर हुँदै पुन संक्रमण कम हुँदै जानेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख तथा मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले अनुसार आगामी दुई हप्ता कोरोना संक्रमणदर अझै बढ्ने बताए। 'विगतका कोरोनाको लहरमाझैं यसपटक कोरोना संक्रमणको पूर्वानुमान नमिल्न सक्छ,' उनले भने, ‘विगतको समयमा कोरोना संक्रमण समुदायमा फैलन बाँकी थियो, भ्याक्सिन लगाउन पाएका थिएनन्, रोग प्रतिरोधात्मक क्षमता विकास भएको थिएन।
त्यसैले पनि हामीले अनुमान गर्न सक्थ्यौं तर अब ती कुरा सबै भइसकेको छ, त्यसैले पनि कतिजनामा संक्रमण हुन्छ भनेर यकिन तथ्यांक अनुमान गर्न गार्हो हुन्छ। तर मन्त्रालयले निश्चित अनुमान गरेर गरेर अस्पताल व्यवस्थापनलगायतका कुरा गरेका छौं। हामी अहिले पिकमा गइरहेका छौं, अझै दुई साता कोरोना संक्रमण बढ्न सक्छ, यकिन तथ्यांकमा भन्न नसकिए पनि आजको तुलनामा तीन गुणासम्म बढ्न सक्छ।’
सहप्रवक्ता अधिकारीका अनुसार हाल अधिकांश मानिसलले खोप लगाइसकेकाले अस्पतालमा भर्ना हुने दर अन्य लहरभन्दा कम हुनसक्ने आंकलन छ। तर संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा पनि भर्ना हुने दर बढ्न सक्ने उनी बताउँछन्। अधिकारीका अनुसार मानिसहरु कोरोना संक्रमण भएको कम्तिमा पनि एक सातापछि आफूलाई गार्हो भएपछि मात्रै अस्पताल पुग्ने गरेका छन्। अबको दुई सातापछि मृत्युदर पनि बढ्न सक्ने उनले बताए।
विश्व स्वास्थ्य संगठनका अनुसार हाल ओमिक्रोनका विभिन्न उपप्रजातिहरु भेटिएका छन्। अहिलेको कोरोना संक्रमण फैलनका लागि ओमिक्रोन र त्यसका उपप्रजातीहरु कारक बनेका छन्। संगठनका अनुसार हालसम्म ओमिक्रोनका ५ वटा उपप्रजातीहरु पुष्टि भएका छन्।
संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी ओमिक्रोनका कारण सांक्रमण बढिरहेको बताउँछन्। उनका अनुसार अहिलेका संक्रमितहरुलाई पनि खोपले मृत्युबाट जोगाउने बताउँछन्। खोप लगाएका व्यक्तिमा अस्पताल भर्ना हुने दर कम हुने, अस्पताल भर्ना हुनुपरेमा पनि अक्सिजन, भेन्टिलेटरको आवश्यकता चाहिने सम्भावना निकै कम हुने उनी बताउँछन्। कोरोनाको स्वरुप परिवर्तन भइरहँदा खोपको प्रभावकारीता कम हुँदै जानसक्ने उनी बताउँछन्।
विश्व स्वास्थ्य संगठन नेपालले पनि कोरोना संक्रमणबाट मृत्यु हुने अधिकांश खोप नलगाएका रहेको जनाएको छ। विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा. राजेश सम्भाजिराव पाण्डवका अनुसार पछिल्लो लहरमा मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन्। खोप नलगाएका व्यक्तिमा अन्य व्यक्तिमा भन्दा मृत्यु हुने सम्भावना १० गुणा हुने गरेको अध्यायनहरुले देखाएको बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना भाइरसविरुद्धको खोप नलगाएका उच्च जोखिममा भएकाले खोप लगाउन आग्रह गरेको छ। मन्त्रालयले खोप नलगाएका उच्च जोखिममा रहेकाले सबैले आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई आवश्यकताअनुसार पहिलो, दोस्रो र बुष्टर मात्रा खोप लगाउन आग्रह गरेको छ। सरकारले लक्षित जनसंख्याको ९३ प्रतिशत भन्दा धेरैले पहिलो मात्रा र ८८ प्रतिशतले दोस्रो मात्राको खोप लगाइसकेका छन्।
मन्त्रालयले कोभिडबाट संक्रमित ५० प्रतिशत मानिसमा कुनै पनि लक्षण नदेखिएकाले संक्रमणबाट बच्नका लागि खोप लगाउन आग्रह गरिएको छ। संक्रमणबाट बच्नका लागि नाक, मुख छोपिने गरी सही तरिकाले मास्क लगाउन, भौतिक दूरी कायम गर्न, खोक्दा वा हाच्छ्यूँ गर्दा पाखुरादेखि नाडीसम्मको भागले छोप्न, झ्याल सधैं खुला राख्न र बेलाबेलामा साबुन पानीले मिचिमिची हात धुन आग्रह गरेको छ।
अस्पतालमा संक्रमित बढ्दै
कोरोनाको चौथो लहर सुरु भएसँगै अस्पतलामा भर्ना हुने बिरामीको संख्या पनि बढ्न थालेको छ। हाल नेपालमा ५ हजार ८८५ जना आइसोलेसनमा छन्। जसमध्ये होमआइसोलेसनमा ५ हजार ६७१ संस्थागत आइसोलेसनमा २१४ छन्। ६४ आईसीयू र ७ जना भेन्टिलेटरमा छन्।
स्वास्थ्य मन्त्रालयले आगामी दुई साता तीन गुणाले बढ्नसक्ने भन्दै त्यसले हुने सम्भावित क्षतिलाई न्युनिकरणका लागि अस्पतालहरु तयारी अवस्थामा रहेको जनाएको छ। सरकारले कोभिडको उपचारको लागि १७ अस्पताललाई कोभिड डेडिकेटेड अस्पतल तोकेको छ।
मन्त्रालयले देशभर कोभिडका बिरामीको उपचारको लागि ८ हजार २०२ आइसोलेसन बेड, ३ हजार ८४६ एचडीयू, २ हजार ७९७ आईसीयू, १ हजार ८ भेन्टिलेटर तयारी अवस्थाामा राखेको छ। त्यस्तै १८ हजार २९९ अक्सिजन सिलिन्डर, १३२ अक्सिजन प्लान्ट र २७ वटा अक्सिजन ट्यांक तयारी अवस्थामा राखेको छ।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार नेपालमा हाल देखिएको भाइरस संक्रामक भएपनि पहिले कोरोना संक्रमण भइसकेका मानिस अथवा खोप लगाइसकेका व्यक्तिमा कम असर देखिएको छ।
‘हाल मानिसहरु धेरै होम आइसोलेसनमा छन्, ओमिक्रोन समुदायमा फैलिसकेको छ। त्यसैले अर्को हप्ता अस्पताल भर्ना हुनेको संख्या पनि बढ्न सक्छ,’ अधिकारीले भने। होम आइसोलेसनमा बसेका संक्रमितहरु निरन्तर रुपमा चिकित्सकको परामर्शमा रहन मन्त्रालयले आग्रह गरेको छ।