काठमाडौं– सुदखोरको अत्याचारपछि श्रीमान् बिते। २५ वर्षका छोरा अरबमा काम खोजिरहेका छन्। ९ दिनअघि मिटरब्याजीबाट पीडितहरुको भीडमा मिसिएर उनी आफू सात दिनदेखि निरन्तर माइतीघरबाट न्यायको गुहार मागिरहेकी छन्।
नवपरासी सुस्तापूर्व प्रतापपुरका सफरल्लाह मियाँकी माइली छोरीको बिहे पक्का भयो। खेती किसानीबाट राम्रै आम्दानी हुने गरे पनि बिहेका लागि खर्च नपुग्ने भयो। बिहेका लागि जगदीश कानु (बानियाँ) सँग ६ लाख ऋण मागे र धुमधामसँग छोरीको बिहे गराए। त्यही दिनदेखि उनको जिन्दगीको धागो विस्तारै उधिनिँदै गयो।
खेती–किसानी परिवारको जिम्मामा छाडेर सफरल्लाह आफू विदेश पनि गए। तर विदेशमा राम्रो कमाइ हुन नसकेपछि पुनः घरै फर्किएर कृषिमै नङ्ग्रा खियाउन थाले। ऋण लिएको ९ वर्षपछि गत वैशाखमा उनी साहुकहाँ पुगे। यतिन्जेल उनले केरा र उखुसहित अन्य खेतीबाट जगदीशलाई २२ लाख रुपैयाँ बुझाइसकेका थिए। उनी ऋणमुक्त भइसकेकोमा ढुक्क थिए। लामो समयदेखि थाप्लोमा बोकेको ऋण उत्रिएर टाउको हलुंगो हुने सोचमा उनी थिए। तर यसो भएन। जब उनी साहुकहाँ पुगे, छाँगाबाट खसेजस्तो भए। जग्गाको मूल्यांकनका लागि भन्दै जगदीशले बनाएको १४ लाखको ऋणको कागजको अलावा उनको नाममा ऋणका चार कागज बनेका थिए। उनका अगाडि थिए तीनटा नयाँ साहु राजेन्द्रप्रसाद गुप्ता (बानियाँ), सुनिलकुमार गुप्ता (बानियाँ) र बैजनाथ दुबे।
२०७० वैशाख २२ गते जगदीशसँग ६ लाख ऋण लिँदा बनेको १४ लाख कागजमा उनको ८ कठ्ठा १२ धुर जग्गा दृष्टिबन्धकमा थियो। उनलाई आफ्ना साहु भनेर थाहै नभएका सुनिलकुमार र राजेन्द्रप्रसादसँग ८–८ लाख ऋणको कागज र दुवैसँग गरेर १७ कठ्ठा ४ धुर जग्गा दृष्टिबन्धकमा थियो। यी दुई साहुको नाममा सफरल्लाहले ऋण लिएको भन्दा अघिल्लो वर्ष २०६९ साउन र पुसमा कागज बनेको थियो। चौथा साहु बैजनाथ दुबेबाट पनि उनले ३ लाख ऋण लिएको कागज बनेको थियो, जसमा उनको १ कठ्ठा जग्गा दृष्टिबन्धकमा थियो। धूर्त साहुले एकै दिन फरक मिति राखेर बनाएका ती कागजअनुसार फरक–फरक समयमा पैसा लिएको पनि कागज बनाएका थिए।
यसरी उनले लिएको ६ लाख ऋणको साउँ मात्रै बढेर २९ लाख पुगिसकेको थियो। दृष्टिबन्धकमा रहेको जग्गा फुकुवाका लागि पुगेका सफरल्लाह मियालाई साहुले खाता पल्टाउँदै धम्कीपूर्ण भाषामा भने, ‘तैंले अझै २९ लाख बुझाउन बाँकी छ। कहिले तिर्ने हो?’
जीवनको ऊर्जाशील समय साहुको ऋण तिर्दै बिताएका उनलाई साहुको उक्त बचनले नराम्रोसँग पोल्यो। ऋणको भारी देखेर अचानक हृदयाघात भयोे र उनी अस्पताल भर्ना भए।
प्रतापपुर अस्पतालले बुटवल रेफर गर्यो। बुबालाई लिएर जेठा छोरा रिजमान बुटवल पुगे। रिजमानको हात समातेर सफरल्लाहले भने, ‘सबै घरखेत गयो, कत्ति जग्गा फिर्ता आउँदैन रे, घरखेत गयो, कहाँ जाने के खाने? बास उठ्यो।’ यति भनेर सफरल्लाहले देह त्यागे।