शनिबार, जेठ ५, २०८१

अवैध आयात भएका मोबाइल बजारमा छ्यापछ्याप्ती

खरिद गर्न जाँदा पसलेले यस्ता मोबाइल तत्कालै नभई केही दिनमा समय राखेर उपलब्ध गराउने गरेको पाइएको छ।
 |  मंगलबार, साउन २४, २०७९

भीमा पन्थी

भीमा पन्थी

मंगलबार, साउन २४, २०७९

काठमाडौं- सरकारले प्रतिबन्ध लगाएका मोबाइल बजारमा सजिलै पाउन सकिन्छ। सरकारले आयातमा रोक लगाएका साओमी १२-१२ प्रो, सामसुङको ग्यालेक्सी एस २२, एस २२ प्लस, आइफोनलगायतका मोबाइलहरु पसलबाट सजिलै किन्‍न सकिन्छ।

triton college

उक्त वैशाखदेखि नै आयात प्रतिबन्ध लगाइएका मोबाइल खरिदमा भ्याट बिल र वारेन्टी भने दिइँदैन। खरिद गर्न जाँदा पसलेले यस्ता मोबाइल तत्कालै नभई केही दिनमा समय राखेर उपलब्ध गराउने गरेको  पाइएको छ।  ग्राहकले प्रतिबन्धित मोबाइल खरिद बिक्रीको गोपनियता कायम गर्ने विश्‍वास दिलाउन सके तत्कालै पनि मोबाइल उपलब्ध गराने गरेका छन्।  

साउनको पहिलो साता नेपाली बजारमा 'नोथिङ'को मोबाइल समेत उपलब्ध भयो। नेपाली बजारमा आएको करिब ४ सय डलर बराबरको नोथिङ असार २८ मा मात्रै सार्वजनिक भएको थियो। तर सरकारले साउन १ गते देखि नै ३ सय डलर (औषत ३८ हजार) भन्दा माथिका मोबाइलको आयातमा प्रतिबन्ध लगाएको हो। त्यो भन्दा अघि बैशाखदेखि भने ६ सय डलर(औषतमा नेपाली ७८ हजार) माथिका मोबाइलमा मात्रै प्रतिबन्द लगाइएको थियो। 

अहिले बजारमा पाइने प्रतिबन्धित मोबाइलहरुको अवैध आयात हुने गरेको व्यावसायीहरु नै स्वीकार गर्छन्। नेपालमा मोबाइलको अवैध आयात नौलो समस्या भने होइन। अवैद्य आयातका मोबाइल पनि सजिलै चलाउन सकिने हुँदा नेपालमा 'ग्रे मार्केट' (अवैद्य अर्थात राजस्व छलि गरेर ल्याइएका मोबाइलको व्यापार)को लागि कुनै समस्या नै छैन।

राजस्व छलेर ल्याएको सामानमा ग्राहकलाई केही सस्तो पर्न जाने र बिक्रेतालाई राजस्व तिर्न नपर्ने हुँदा बढी नाफा हुन्छ। भारत र चीनसँगको खुला सिमानाको कारण यस्ता प्रतिबन्धित वस्तुको आयात बढ्दोक्रममा छ। आन्तरिक रुपमा पनि अवैध आयातका मोबाइल सञ्‍चालनमा रोक लगाउनसक्ने कुनै प्रविधि र प्रावधान छैन। जसोतसो नेपाल भित्र्याउन पाए राम्रो मुनाफा गर्न सकिने हुँदा 'ग्रे मार्केट' मौलाएको हो। 

corrent noodles
Metro Mart

प्रतिबन्धले मौलायो अवैध आयात
सरकारले आयातमा प्रतिबन्ध गरेपछि अवैध आयात थप बढेको जानकारहरु बताउँछन्। नेपाल मोबाइल व्यावसायी महासंघका अध्यक्ष भरत भट्टराईले प्रतिबन्धले अवैध आयातलाई थप प्रोत्साहित गरेको बताए। सरकारले आयातमा प्रतिबन्ध लगाएर वैद्यानिक आयातकर्तालाई निरुत्साहित गरेको अध्यक्ष भट्टराईको भनाई छ। व्यक्तिले खाना छोडे पनि मोबाइल नछोड्ने समयमा यसलाई विलासिताको वस्तुमा गणना गर्नु सरकारले अनविज्ञता प्रकट गर्नु जस्तै रहेको उनले बताए। 

ल्यापटप, टिभी, रेडियोको काम, पठनपाठन, आर्थिक कारोबारलगायतका सबै कामहरु मोबाइलबाटै हुने हुँदा यो अत्यावश्यक वस्तुमा पर्ने उनको जिकिर छ। सामसुङ मोबाइलका आधिकारिक बिक्रेता आइएमएस ग्रुपका अध्यक्ष दिपक मलहोत्राले पनि प्रतिबन्धले अवैद्य आयात मौलायकोमा समर्थन गरेका छन्। बजारमा अत्यधिक माग हुने मोबाइलकै आयातमा प्रतिबन्ध गर्दा अवैद्य आयात बढेको उनको दाबी छ। ‘३ सय देखि ६ सय डलरसम्मका मोबाइलको माग हिस्सा नै बजारमा ५० प्रतिशत छ, त्यो मान्दा माथिल्लो मूल्यका मोबाइलको बजार हिस्सा १५ प्रतिशत र त्यो भन्दा कम मूल्यका मोबाइलको हिस्सा ३५ प्रतिशत रहेको छ’ उनले भने, ‘अत्यधिक माग हुने वर्गका मोबाइल रोकेपछि अवैद्य आयात थप मौलाएको हो।’ 

अवैद्य आयातकर्ताले पछिल्लो समय ग्राहक र सरकारलाई नै अत्यधिक ठगेको मलहोत्राको बुझाइ छ। उनले भने, ‘सरकारले आयात बन्द गरेको छ, मोबाइल अर्कै बाटो ल्याउनुपर्छ। बजार मूल्यमा थप रकम दिने भए दिन्छौँ भनेर एकातर्फ सरकारलाई तिर्ने कर छली गरेका छन् भने अर्कोतर्फ ग्राहकबाटै थप रकम लिएर ठग्‍ने गरेको पाइएको छ।’ उनका अनुसार 'ग्रे मार्केट'मा ग्राहकलाई कम्तिमा पनि बजार मूल्यभन्दा ५ देखि ६ हजार रुपैयाँ मूल्य थप गर्न भनिएको छ। 

प्रतिबन्धले ग्राहक, व्यावसायी र सरकारलाई नै घाटा
अध्यक्ष भट्टराईले आयात प्रतिबन्ध गर्दा सरकार, व्यवसायी र ग्राहकलाई नै थप असर गर्ने बताउँछन्। विश्व बजारमा नै महँगी बढेको कारण हरेक पछिल्ला दिनहरुमा मोबाइलको मूल्य बढ्दै जानेछ। तीन महिनामात्रै पनि प्रतिबन्ध गर्दा पछिल्लो खरिद मूल्य बढी पर्न गई ग्राहक मर्कामा पर्ने उनको बुझाइ छ। 'ग्रे मार्केट' मौलाउँदा ग्राहक ठगिनसक्ने जोखिम हुन्छ,' उनले भने, 'आधिकारिक बिक्रेताको व्यापारमा कमि आउँछ। अवैद्य बाटोबाट आउने मोबाइलबाट हुने राजस्व सरकारले नै गुमाउनु पर्ने हुन्छ।' अवैद्य बाटोबाट आयात गर्नेहरुले क्यासमा नै खरिद गरेर ल्याउँदा मुद्रा सञ्चितिमा पनि भार पर्ने उनको बुझाई छ। उनका अनुसार मोबाइलमा प्रतिबन्द गरेर सञ्चिति जोगाउने सम्भावना नेपाल जस्तो खुल्ला सिमाना हुने मुलुकमा नहुने बताए।  

बजारमा ७० प्रतिशत मोबाइल चोरीका
भट्टराईका अनुसार अहिले बजारमा ७० प्रतिशतको हाराहारीमा चोरीका मोबाइल रहेका छन्। सरकारले प्रतिबन्ध लगानु अगाडि ३० देखि ३५ प्रतिशतको हाराहारीमा बजारमा चोरीका मोबाइल हुने गर्थे भने अहिले त्यसको दोब्बर पुगेको हो।  अध्यक्ष मलहोत्राले पनि सामसुङको बजार बिक्रि हिस्सा आफ्नो हातमा ३० प्रतिशत मात्रै रहेको बताए। ‘सामसुङ मोबाइको सन्दर्भमा मात्रै भन्नुपर्दा पनि पहिला बढीमा ४० प्रतिशत मोबाइल अवैद्य बाटोबाट आएको थियो,' उनले भने, ‘अहिले ७० प्रतिशत हिस्सा ग्रे मार्केटको रहेको छ।’ 

७० प्रतिशत अवैध मोबाइल भारतबाट 
मोबाइलको सबैभन्दा बढी अवैद्य आयात भारतबाट हुने गरेको छ। भारतसँग तीनतिर खुला सिमान र खुकुलो व्यवस्थापनको कारण अवैद्य आयात बढेको हो। अध्यक्ष मलहोत्राका अनुसार अवैद्य आयातको करिब ७० प्रतिशत नै भारतबाट हुने गरेको छ। त्यसपछि भने कतिपय वैदेशिक रोजगारबाट आउने, कतिपय चीनको सिमानाबाट ल्याउने गरेको बताए। मोबाइल व्यावसायी भट्टराईले पनि भारतीय सिमानाकाबाट अत्याधिक अवैद्य आयात हुने हुँदा सशस्त्रबलसँग पनि समन्वयन गर्ने तयारी गरेको बताए। भारतमा सजिलै गएर आधिकारिक बिक्रेताबाटै खरिद गर्न सकिने र केही थान मात्रै मोबाइल सजिलै बोकेर ल्याउन सकिने हुँदा भारतबाट अत्याधिक अवैद्य मोबाइल आयात भएको उनीहरुको बुझाई छ। 

एमडीएसएम कार्यन्वयनमा निरिह एनटीए
सरकारले मोबाइलको अवैद्य आयात रोक्नका लागि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयन ल्याउने बताए पनि कार्यान्वयन हुन सकेको छैन। यसका लागि ठेक्का सम्झौता समयावधि दुई-दुई पटक थप गर्दा पनि कार्यसम्पन्‍न हुन सकेको छैन। एमडीएमएसको ठेक्कादेखि कार्यन्वयनसम्मको सम्पुर्ण जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) को हो। प्राधिकरणले एमडीएमएस जडानका लागि २०७६ असार १९ गते ७० लाख ६६ हजार ८८८ अमेरिकी डलर लागतमा (८८ करोड ३३ लाख ६१ हजार रुपैयाँ) भारतको ओएसआई कन्सल्टेन्सी, मलेसियाको न्युमेरा (एम) एसडिएन बिएचडी र सिंगापुरको नमस्ते ग्लोबल कम्युनिकेसन प्रालिको ज्वाइन्ट भेञ्चरसँग ठेक्का सम्झौता गरेको थियो। सम्झौतामा ६ महिनामा कार्य सम्पन्न गरेर ५ वर्षसम्म सपोर्ट गर्नुपर्ने ठेक्का पाएको कम्पनीले हालसम्म काम सम्पन्‍न गर्न सकेको छैन। जसअनुसार २०७६ पुसमा नै एमडीएमएस कार्यन्वयनमा आउनुपर्ने थियो। 

साथै, समयमा ठेक्का सम्झौता पूरा नगरेमा सम्झौता रकमको ०.०५ प्रतिशत प्रतिदिन पूर्वनिर्धारित क्षतिपूर्ति लिनुपर्ने समेत उल्लेख छ। तर ठेक्का लिएको कम्पनीले सम्झौता अनुसार काम गर्न नसकेपछि कोभिड महामारीको कारण देखाउँदै प्राधिकरणले ठेक्का समय अवधि थप गरेर २०७८ फागुन ३ गतेसम्म पुर्‍याएको थियो। थप गरिएको समयमा पनि कार्यसम्पन्‍न नभएपछि २०७९ वैशाख १९ मा ठेक्का पाएको परामर्शदाताको बैंक खाता नै रोकेको थियो। अन्तत: प्राधिकरणले पछिल्लो पटक दुई महिना ठेक्काको समयावधि थप गरेको छ। त्यसको पनि एक महिना बितिसकेको छ भने बाँकी १ महिना रहेको छ। 

प्राधिकरण आफैंले पनि यसको लागि ढिलासुस्ति गरेको पाइन्छ। प्राधिकरणले ६ महिनामा कार्यसम्पन्‍न गर्न भनि गरेको सम्झौता भएपछि म्याद गुज्रिएको झन्डै १८ महिनापछि एमडीएमएस राख्न प्राधिकरण भवन निमार्णको क्रममा जुटेको हो। प्राधिकरणले हालसम्म सेकेन्डरी डेटा सेन्टरको हार्डवेयर खरिद तथा जडानबापत परामर्शदातालाई ३ करोड ६८ लाख ६४ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ।

भदौ तेस्रो साता एमडीएमएस सफ्टवयेर लञ्‍च हुन्छ :  प्राधिकरण
प्राधिकरणले भदौ तेस्रो सातासम्म एमडीएमएस सफ्टवयर सार्वजनिक गर्ने तयारी थालेको छ। खुद्रा, थोक बिक्रेता तथा मोबाइल आयतकर्ताकै छाता संगठनहरुले एकमुष्ठ रुपमा यसको माग गर्दै आइरहेका छन्। भट्टराईका अनुसार विगतमा पटक-पटक भन्दा पनि सुनुवाई नभएपछि मोबाइल व्यावसायीहरुसँग सम्बन्धित सम्पूर्ण संगठनहरुले दबाब दिएपछि सेप्टेम्बरमा नै सफ्टवयेर लञ्‍च गर्ने प्रतिबद्धता प्राधिकरणले जनाएको हो। ‘हामी सबै मिलेर एमडीएमएस लागु गर्न दबाब दिइरहेका छौ,’ उनीहरुले भने, ‘सेप्टेम्बरमा सफ्टवयेर लञ्च गरेर अगाडी बढ्ने प्रतिबद्धता गर्नुभएको छ।’

सेम्टेम्बरमा नै सफ्टवयेर सार्वजनिक गरे पनि कार्यन्वयनमा आउन भने केही समय लाग्‍ने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए। ‘भवन अझै बन्दै छ। सबै उपकरणहरु तयार पार्न बाँकी छ,’ उनले भने, ‘सेप्टेम्बरमा सफ्टवयेर लञ्च गरेपनि पुर्ण कार्यन्वयनमा आउन थप समय लाग्छ।’ 

ग्राहकलाई अवैद्य आयातका मोबाइल खरिदमा निरुत्साहित गर्न मासिक किस्ता(इएमआई), वारेन्टी तथा थप सुविद्या दिएको व्यावसायीहरु बताउँछन्। यद्यपि पछिल्लो समय आयात नै बन्द भएपछि अवैद्य व्यापार फैलिएको उनीहरुको भनाई छ। यसका लागि अन्तिम उपाय नै एमडीएमएस रहको र जतिसक्दो चाँडो लागु गर्नुपर्ने व्यवसायीहरु बताउँछन्। 

प्रकाशित: Aug 09, 2022| 18:10 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्