काठमाडौं- वन्डर्स नेपाल प्रालिले काठमाडौं कमलादीमा दक्षिण एसियाकै पहिलो ‘स्काइवाक’ निर्माण गर्ने भएको छ ।
आगामी घटस्थापनामा उक्त परियोजना शिलान्यास गरिने कम्पनीले जनाएको छ । आन्तरिक/बाह्य पर्यटकलाई लक्षित गरेर स्काइवाक निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले बताए । चीन, क्यानडा, अमेरिकालगायत देशमा स्काइवाक सफल मानिएको छ ।
संस्थाका अनुसार संसारमा धेरै प्रकारका स्काइवाक चलनचल्तिमा छन् । दुई वटा अग्ला पहाड वा भवनलाई पुलको माध्यमबाट जोडेको काँचको पारदर्शी भाग स्काइवाक हो । पहरा वा अप्ठ्यारो भीर वा अग्ला भवनका केही भाग बाहिर निकालेरसमेत क्यान्टिलिभर स्काइवाक बनाइन्छ ।
जमिनभन्दा निकै माथि काँचमा हिँड्दै जमिनतिर हेर्दा आकाशमा हिँडेको जस्तो अनुभव गर्न सकिने भएकाले यसलाई स्काइवाक भनिएको हो । तीन वर्षपछि परियोजना उद्घाटन गर्ने लक्ष्य रहेको पोखरेलले बताए ।
कमलादीमा १३.२ रोपनीमा स्काइवाक बन्नेछ । लागत करिब दुई अर्ब रुपैयाँ अनुमानित छ । पोखरेलका अनुसार परियोजनाका लागि सरकारी तवरबाट पनि सहयोग उपलब्ध हुने भएको छ ।
कम्पनीले २३ वर्षका लागि जग्गा लिजमा लिएको छ । नेपालको पर्यटन विकास र प्रबद्र्धनमा त्यसबाट सहयोग पुग्ने कम्पनीको दाबी छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४