महोत्तरी- सधैँको उपेक्षा, अभाव र उत्पीडनको जाँतोमा पिसिँदै आएका मधेसका मुसहर अब आफ्नै मेहनतले उभिन लागेका छन्।
‘राख्ने लुगा र साँच्ने धन नहुने’ आहानका लागि उदाहरणमा उभ्याइने पराले झुपड बस्तीका मुसहरले पछिल्ला केही वर्षयता आफ्नै पौरख र मेहनतले आयआर्जन र सञ्चय बढाएका छन्। महोत्तरीको गौशाला नगरपालिका–८ बेलगाछीका मुसहरको मेहनत अहिले अरुको लागि दृष्टान्त बनेको छ।
कृषि मजदुरी नै मुख्य पुख्र्यौली पेसा बनाउँदै आएका महोत्तरी जिल्लाका मुसहर अब अतिरिक्त आर्जन गरेर सञ्चय गर्न थालेका छन्।
बस्ती नजिकैको सोनी खोला किनारको नदीउकास बगर अहिले ६२ घरपरिवारका मुसहरको मेहनतले हराभरा देखिएको छ। केही वर्ष पहिलेको बगरमा फलफूलका बिरुवा हुर्कदैछन्। बारीमा मौसमअनुसारका तरकारीका लहरा लहलहाएका देखिन्छन्। 'हजुर, यसपालि वैशाखी तरकारी नै २० हजारको बेचिएछ', बस्तीका हेमन्ती सादा मुसहरले भने, 'घरमा पनि हरियो सागसब्जी टन्नै खाइएको छ।'
हेमन्ती नदीउकास बगरमा नगरपालिकाले उपलब्ध गराएको एक कट्ठा जग्गामा दिनरात नभनी नङ्ग्रा खियाउनुहुन्छ।
चार वर्षअघि सुरु गरिएको बगर खेती कार्यक्रमले यसअघि कुपोषणले दुब्लो जस्तो देखिने बालबालिका हरियो सागसब्जी खान थालेपछि शारीरिकरुपमा पनि हृष्टपुष्ट देखिन थालेका छन्।
हेमन्तीजस्तै बस्तीका बुद्धु, चहेन्द्र, बिल्टु, सौखीया, फुलो र नथुनीयाँ सादा पनि बगरमै आफ्नो मेहनत खन्याइरहेका भेटिन्छन्।
'हजुर, यो खेतीले हाम्रो बानी पनि सुधारेछ', बगरमा फलेको भिण्डी टिप्दै भेटिएकी फुलो सादा भन्छिन्, 'पहिले बनी (मजदुरी गर्दा पाइएको पारिश्रमिकबापतको अन्न) गरेर ल्याएको अन्न पनि आधा बेचेर रक्सी खाइन्थ्यो, अब त तरकारी बेचेर पैसा हात पर्न थालेपछि रक्सी खाएर लड्ने हाम्रो बस्तीमा भेटिन छाडेका छन्।' खेतीले आर्जन र सञ्चय गर्ने बानी बसेपछि फजुल खर्च हुन छाडेको त्यहाँका मुसहर बताउँछन्।
पहिले रक्सी खाएर मातेर लड्ने आफ्ना बस्तीका युवा अब भने बगर खेतीमा रमाएका बुद्धु सादाको भनाइ छ। बगर खेती सुरु गरेयता दुई–चार हजारको गर्जो टार्न कुनै मालिक (मुसहरले आफूले मजदुरी गर्ने अन्य समुदायकालाई मालिक भन्छन्) गुहार्नु नपरेको बुद्धु बताउँछन्। आफ्नै बस्तीका समुदायभित्रबाटै सापट पैँचोमा बिहेवारी, मरनहरण र उपचार गर्न सकिएको बुद्धुको थप भनाइ छ।
नदीउकास बगरको करिब १२ बिघा जग्गा ६२ परिवार मुसहरलाई परिवार सङ्ख्याको आधारमा एक कट्ठादेखि तीन कट्ठासम्म उपलब्ध गराइएको छ।
सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबास (महोत्तरी) को सहकार्यमा २०७५ सालमा थालिएको बगर खेतीले केही वर्षभित्रै मुसहरको स्वास्थ्य, आर्थिक र शैक्षिक सुधार देखिएको बेलगाछी बस्तीका अन्य समुदाय बताउँछन्।
हरियो सागसब्जी र तरकारी राम्रो उब्जेपछि बस्ती नजिककै खाल्टेमा बजार बसाइएको छ। अहिले बगर खेती गरिएको ठाउँ नजिकै खाल्टे बजार जम्दै गएपछि मुसहर आफ्नो फसल नजिकै बेच्न पाएर दङ्ग छन्।
'बगरमा तरकारी उब्जन्छ, छेउमै बजार लागेको छ', मनकामना महिला समूह ‘ख’ मा आबद्ध पसुलिया सादा खुसी हुँदै भन्छिन्, 'अब लाग्छ, हाम्रा दुःखका दिन गए, दुई\चार पैसा सबैसँग छ।'