सोमबार, वैशाख २४, २०८१

कोरोना, मौसमी फ्लु र एडिनो भाइरस पहिचान गर्नै कठिन, उकालो लाग्दै बिरामीको ग्राफ

मौसममा आएको परिवर्तनसँगै सामान्य ज्वरो, रुघा, खोकीको लक्षण देखिएर अस्पताल आउने बिरामीको संख्या दिनहुँ बढ्दै छ।
 |  बुधबार, साउन १८, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, साउन १८, २०७९

काठमाडौं– नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर १० प्रतिशतमाथि पुगिसकेको छ। सरकारले कोरोना संक्रमणका चौथो लहर भनेर घोषणा नगरे पनि विज्ञहरू नेपालमा कोरोनाको चौथो लहर सुरु भइसकेको बताउँछन्।

triton college

कोरोना संक्रमण उकालो लागिरहँदा भाइरल ज्वरोका बिरामी पनि बढिरहेका छन्। देशका विभिन्न स्थानमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि विद्यालय नै बन्द गर्न थालिएको छ। विद्यार्थीमा भाइरल ज्वरो बढ्न थालेपछि दाङको राप्ती गाउँपालिकाका सबै विद्यालय ७ दिनका लागि बन्द गरिएको छ।

बुधबार राप्ती गाउँपालिकाको कार्यपालिका बैठकले पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा भाइरल ज्वरोको संक्रमण बढेको बताउँदै १८ देखि २४ साउनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। 

केही दिनअघि रुघाखोकी र ज्वरो बढेपछि इलामका केही विद्यालय बन्द भएका छन्। चिकित्सकले भाइरल ज्वरोका बिरामी भएको बताएका छन्। 

चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन्। उपचारका लागि आएकामा सामान्य समयभन्दा १५ देखि २० प्रतिशत भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन्।

corrent noodles
Metro Mart

भरतपुर अस्पतालमा उपचारका लागि पुग्नेमध्ये २० प्रतिशत बिरामी भाइरल ज्वरोका रहेको अस्पतालका फिजिसियन डा. प्रमोद पौडेल बताउँछन्। पौडेलका अनुसार मौसममा आएको परिवर्तनसँगै सामान्य ज्वरो, रुघा, खोकीको लक्षण देखिएर अस्पताल आउने बिरामीको संख्या बढिरहेको छ। उनले भने, ‘कोभिडजस्तो लक्षण देखिएका बिरामीको संख्या बढिरहेको छ।  ज्वरोका बिरामी बढ्दै गएपछि चिकित्सकले डेंगु, कोरोना, स्क्रफ टाइफसलगायत रोगको परीक्षण गर्न थालेका छौं।’ 

वर्षामास सुरु भएसँगै देशभर बिरामीको संख्या बढेको छ। कोरोना संक्रमणको दर उकालो लागेसँगै मौसमी फ्लुका बिरामीको संख्या बढ्न थालेको छ। ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा कट्कट् खाने, छाती र घाँटी दुख्नेलगायतका लक्षण बिरामीमा देखिएका छन्। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अहिले कोरोना संक्रमणसँगै मौसमी फ्लुका बिरामीको संख्या पनि बढिरहेको छ। बालबालिकामा समेत छिनछिनमै ज्वरो आउने, छिनछिनमै ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढे पनि केही भागमा चिसोपना रहनेलगायत लक्षण देखिएका छन्।

कतिपय बिरामीमा अत्यधिक टाउको दुख्ने, बान्ता हुने लक्षण देखा परेको चिकित्सक बताउँछन्। डा. पुनका अनुसार यतिबेला कोरोना भाइरस, मौसमी फ्लु र एडिनो भाइरसका कारण बिरामीको संख्या बढिरहेको छ।  तीन प्रकारका बिरामी एकै पटक देखिनु र सबैका लक्षण मिल्दोजुल्दो हुँदा के समस्या भएको हो, छुट्याउन परीक्षण नै गर्नुपर्ने डा. पुन सुझाउँछन्। 

पुन भन्छन्, ‘अहिले अस्पतालमा तीन थरीका बिरामी आइरहेका छन्। एकथरी कोभिड संक्रमणका बिरामी, अर्को मौसमी फ्लुका र अर्कोथरी एडिनो भाइरसका बिरामी।  यी तीनै थरीका बिरामीमा लक्षण उस्तै–उस्तै छन्। त्यसैले कुन रोगका बिरामी हुन् भनेर परीक्षण नै गर्नुपर्छ।’

डा. पुनका अनुसार बर्खामाससँगै मौसमी फ्लुका बिरामी देखिने गर्छन्। एक्कासि आउने ज्वरो, श्वासप्रश्वास संक्रमणका लक्षण, जिउ दुख्ने, टाउको दुख्ने लक्षण देखा परे त्यसलाई भाइरल इन्फ्लुएन्जा भनिन्छ। 

संक्रमित व्यक्तिको शरीरमा भएको तरल पदार्थ थुक, ¥यालका स–साना कणमा भाइरस हुनाले नजिकै बसेको मानिसले सास फेर्दा, हात मिलाउँदा, अंकमाल र चुम्बन गर्दा, रुमाल, कलमबाट सर्दछ। संक्रमणपछि एक्कासि ज्वरो बढ्ने र रोकिने गर्छ। चिसो महसुस हुन्छ। हल्का खोकी लाग्ने, शरीर एवं जोर्नी दुख्ने, कमजोर महसुस हुने, आँखा गेडी दुख्ने र रातो हुन सक्छ। 

फ्लु सामान्य अवस्थामा तीन दिनमै निको हुन्छ तथापि दुर्बल र खोकी एक सातासम्म रहिरहन सक्ने डा. पुन बताउँछन्। तर ज्वरोसँगै अन्य समस्या बान्ता हुने, बेस्सरी टाउको दुख्ने, सास फेर्न कठिन भए अस्पताल गइहाल्नुपर्ने उनको सुझाव छ।

मौसममा आएको परिवर्तनसँगै सामान्य ज्वरो, रुघा, खोकीको लक्षण देखिएर अस्पताल आउने बिरामीको संख्या दिनहुँ बढ्दै छ।

कोरोना संक्रमण, मौसमी फ्लुसँगै एडिनो भाइरसका कारण बिरामीको संख्या बढीरहेको बालरोग विशेषज्ञ डा. युवानिधि बसौला बताउँछन्। देशको एक मात्र सरकारी केन्द्रीय बाल अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामीको संख्या बढिरहेको छ। बालबालिकालाई औषधीले पनि ज्वरो कम नभएपछि अभिभावकले अस्पताल ल्याइरहेको उनी बताउँछन्। 

बसौलाका अनुसार नाकबाट पातलो सिंगान बग्नु, ज्वरो आउनु, खोकी लाग्नु, घाँटी दुख्नु आदि एडिनो भाइरसका मुख्य लक्षण हुन्। तर कतिपय बिरामीमा  निमोनियाजस्तो जटिलता देखिने गर्दछ। निमोनियाबाहेक आँखा रातो हुने गर्दछ।

बालबालिकामा एडिनो भाइरस संक्रमण भएको अस्पतालका निर्देशक डा. बसौला बताउँछन्। बालबालिकाबाहेक वयस्क मानिसमा पनि एडिनो भाइरस संक्रमण हुने भए पनि बालबालिकालाई बढी पिरोल्ने डा. बसौला सुनाउँछन्। 

अहिले कान्ति बाल अस्पतालमा उपचारका लागि पुग्ने बालबालिकामा नाकबाट पातलो पानी बग्ने, रुघाखोकी लाग्ने, ज्वरो आउने,  खान मन नलाग्ने, बान्ता हुनेलगायत समस्या देखिएका छन्। बालबालिकामा एडिनो भाइरस संक्रमण भएकाले आँखा रातो हुने, एक सातासम्म ज्वरो आउने, आँखा  पाक्नेलगायतका लक्षण देखिएका हुन्। 

डा. पुन भन्छन्, ‘एडिनो नयाँ भाइरस होइन। कुनै पनि बालबालिका १० वर्षसम्म पुग्दा एक पटक एडिनो भाइरस देखिने अध्ययनले देखाएका छन्। एडिनो भएका बालबालिकालाई सबैभन्दा बढी श्वास–प्रश्वासमा समस्या देखिन्छ। एडिनो भाइरसको लक्षण रुघाखोकी, फ्लु भाइरससँग पनि धेरै मिल्दोजुल्दो हुने हुँदा छुट्याउन सहज छैन।’

हाल ओमिक्रोनका कारण कोरोना संक्रमण बढिरहँदा एडिनो भाइरस, मौसमी फ्लु  सँगै देखिएपछि पहिचानमा पनि समस्या भएको चिकित्सकहरू बताउँछन्। यी रोगको सर्ने तरीका पनि एकै प्रकारको छ। यसका लागि परीक्षण गर्न चिकित्सकको सुझाव दिन्छन्। तर धेरैजसो मानिस सामान्य रुघाखोकी ठानेर घरमै बसिरहेका चिकित्सक बताउँछन्।

ओमिक्रोन भेरिएन्टअन्तर्गतका उप–प्रजाति र थप म्युटेड भएका भाइरस आफैंमा रुघाखोकीजस्तो लक्षणसहित विकसित भएकाले पनि एडिनो भाइरस, मौसमी फ्लुसँग छुट्याउन सहज नभएको चिकित्सकको तर्क छ। 

हालको भाइरल गम्भीर खाले नभए पनि सजग रहन भने चिकित्सकले आग्रह गरेका छन्। भाइरल ज्वरोबाट बच्न चिसो खानेकुरा नखाने, रुघा, खोकी लागेका बिरामीको नजिक नजाने, स्वास्थ्य मापदण्ड पालना गर्ने, पानी तताएर मात्रै खान चिकित्सकको सल्लाह छ। 

बिरामीलाई भीडभाडमा नजान र मास्क प्रयोग गर्न, पानी उमालेर मात्र पिउन, आराम गर्न, झोलिलो पदार्थ खानुपर्ने चिकित्सकको सुझाव छ। 

प्रकाशित: Aug 03, 2022| 16:47 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्