काठमाडौँ- साताको पहिलो दिनदेखि ओरालो लागेको सेयर बजार बिहीबार पनि घटेर एक हजार १७८.५० मा झरेको छ। बैंक तथा वित्तीय संस्थाले धमाधम गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरिरहेको भए पनि सेयर बजारलाई त्यसले कुनै प्रभाव पारेको छैन।
आज सेयर बजार ओरालो लागेर कारोवार बन्द भएको छ। यस्तै ‘क’ वर्गका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५४ बिन्दुले घटेर २४८.९९ बिन्दुमा कायम छ।
आज कूल १५९ कम्पनीको १० लाख २० हजार ५९५ कित्ता शेयर रु २७ करोड ७३ लाख आठ हजारमा कारोवार भएको छ। स्टकका अनुसार दुई उपसमूहको शेयर बढ्दा अन्य उपसमूहको घटेको छ। विकास बैंक ०.१८ र अन्य समूह ५.०७ बिन्दुले बढ्दा बैङ्किङ ३.५३, जलविद्युत् १४.६२, होटल २.३६, वित्त ०.०७, निर्जीवन बीमा २७.५५, उत्पादन ५४.६७, माइक्रोफाइनान्स ४.४१, जीवन बीमा ३८.६४ ले घटेको छ।
एनआइबिएल समृद्धि फण्ड र लक्ष्मी भ्यालू फण्ड एकका लगानीकर्ताले आज कमाएका छन् भने युनिलिभर नेपाल लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंकका शेयर लगानीकर्ताले गुमाएका छन्।
बोनस शेयर सूचीकृत
मेघा बैंक लिमिटेडको ९९ लाख ८६ हजार ९५१ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएको छ। यस्तै लुम्बिनी विकास बैंकको १६ लाख ४६ हजार ४४२ कित्ता बोनस शेयर पनि आजै सूचीकृत भएको छ।
यसैगरी नेपाल कम्युनिटी विकास बैंकको चार लाख १७ हजार ४६१ कित्ता बोनस शेयर सूचीकृत भएको छ। यस्तै एनआइबिएल समृद्धि फण्ड एकले एकाइधनीलाई करसहित १२ प्रतिशतका दरले हुन आउने १२ करोड प्रतिफल वितरण गर्ने जानकारी स्टकलाई गराएको छ। प्रतिफलपश्चात् उक्त सामूहिक योजनाको खुद सम्पत्ति मूल्य प्रतिएकाइ १० रुपैयाँ नौ पैसा कायम रहनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४