कञ्चनपुर- १३ वर्षीय बालिका निर्मलाको बलात्कारपछि हत्या प्रकरणलार्इ लिएर स्थिति तनावग्रस्त हुँदा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ।
कर्फ्यु बिहिबार दिउँसो ३ बजेदेखि बिहान ५ बजेसम्मका लागि जारी गरिएको हो। जिल्ला सुरक्षा समितिको बैठक बसी स्थितिलार्इ नियन्त्रणमा लिन र थप अप्रिय घटना हुन नदिन कर्फ्यु आदेश जारी गरिएको कञ्चनपुरको कमाण्ड सम्हालिरहेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विक्रम बहादुर चन्दले बताएका छन्।
प्रहरीले पनि सार्वजनिक स्थानमा रहेका मानिसहरुलाई कर्फ्यू लाग्ने भन्दै आ-आफ्नो गन्तव्य तर्फ छिटो गइदिन आग्रह गर्दै हिँडेका छन्।
ट्राफिक चोकमा भइरहेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा बिहीबार चार जना घाइते भएका छन्।
घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि उनीहरुलार्इ कोहलपुर रिफर गरिएको महाकाली अञ्चल अस्पतालले जनाएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले दोषीलाई उम्काउने कोशिस गरेको भन्दै स्थानीयले तीन दिनदेखि प्रदर्शन जारी राखेका छन्। प्रदर्शनकारीहरुले ठाँउठाँउमा टायर बालेर प्रदर्शन गरिरहेका थिए।
बुधबारसम्म महेन्द्रनगर बजारमा केन्द्रित रहेको आन्दोलन बिहीबारदेखि राजमार्ग केन्द्रित भएको छ। प्रहरीले वास्तविक अपराधी लुकाउन मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई नाटकीय ढंगले सार्वजनिक गरेको भन्दै स्थानीय आन्दोलित बनेका हुन्।
दुई दिनदेखि बन्द रहेको महेन्द्रनगर बजार तेस्रो दिन पनि बन्द छ। बिहीबार बिहानैदेखि पुर्व–पश्चिम राजमार्गको चोक चोकमा टायर बालेर यातायात अवरुद्ध पारिएको छ। बेदकोट नगरपालिकाको सुडा, लालपुर र दैजीलगायतका चोकहरुमा टायर वालेर स्थानीयले प्रदर्शन गरिरहेका छन्। यसैगरी जिल्ला प्रशसन कार्यालय अगाडि पनि उग्र प्रदर्शन भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४