काठमाडौं- १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई हदैसम्मको कारवाही माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दाहरूमाथि प्रहरीले गोली प्रहार गरेको छ।
जिल्ला प्रशासन कञ्चनपुर अगाडि प्रदर्शनकारीमाथि बिहीबार दिउँसो प्रहरीले अश्रु तथा गोली प्रहारबाट चार जना घाइते भएका हुन्। गोली लाग्नेमा १८ वर्षीय अर्जुन भण्डारी, टेक भट्ट, किरण पाण्डे र सन्तोष कठरिया छन्। डीएसपी ज्ञानबहादुर सेठीले भने गोली प्रहार नभएको दाबी गरे। तर, महाकाली अञ्चल अस्पतालले तीन जनालार्इ गोली लागेका व्यक्ति उपचारका लागि आएको पुष्टि गरेको छ।
गोली प्रहारबाट एक प्रदर्शनकारी गम्भीर घाइते भएको र सबैको उपचार महाकाली अञ्चल अस्पलामा भइरहेको छ।
बुधबारसम्म महेन्द्रनगर बजारमा केन्द्रित रहेको आन्दोलन बिहीबारदेखि राजमार्गकेन्द्रित भएको छ। प्रहरीले वास्तविक अपराधी लुकाउन मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई नाटकीय ढंगले सार्वजनिक गरेको बताउँदै स्थानीयवासी आन्दोलित बनेका हुन्।
दुई दिनदेखि बन्द रहेको महेन्द्रनगर बजार तेस्रो दिन पनि बन्द छ। बिहीबार बिहानैदेखि पूर्व-पश्चिम राजमार्गको चोक-चोकमा टायर बालेर यातायात अवरुद्ध पारिएको छ। वेदकोट नगरपालिकाको सुडा, लालपुर र दैजीलगायत चोकमा टायर बालेर स्थानीय बासिन्दाले प्रदर्शन गरिरहेका छन्। यसैगरी जिल्ला प्रशासन कार्यालय अगाडि पनि उग्र प्रदर्शन भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४