बिहीबार, असार ३२, २०८३

भरतसमशेरबाट गणतन्त्रमा जाने प्रेरणा: डा बाबुराम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नयाँशक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालमा राजसंस्थाको अन्त्य गरी गणतन्त्रमा जाने प्रस्थान विन्दु भरतसमशेर राणाले शुरु गरेको बताएका छन्।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य राणाको १३ औं पुण्यतिथिको अवसरमा बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा डा भट्टराईले भने, ‘निरंकुश पञ्चायती व्यवस्थाको समयमा तत्कालीन राजा महेन्द्रका अपराध भनेर पुस्तक निकालेर राजसंस्थाविरुद्ध अभियान थाल्ने राणाकै कारण नेपालले गणतन्त्रको प्रस्थान विन्दु तय गरेको थियो।’

डा भट्टराईले राणा प्रधानमन्त्री चन्द्रसमशेरको नाति भएर पनि भरतसमशेरले जातका आधारमा हुने छुवाछुत र धर्मको नाममा चलाइएका रुढीवादी संस्कारविरुद्ध अभियान चलाएको बताए। राणाले लेखेको पुस्तकको अध्ययनबाटै आफूलाई गणतन्त्रमा जाने प्रेरणा मिलेको बताए।

माध्यमिकस्तरको अध्ययन गर्दादेखि नै आफू नेपाली कांग्रेसप्रति आकर्षित भएको जनाउँदै भट्टराईले राजाविरुद्ध कांग्रेस र नेविसंघले गरेको विद्रोहप्रति आफ्नो सधैं साथ दिएको बताए।

धर्मपत्नी हिसिला यमीसँगको पहिलो भेटसमेत आफ्नो जीवनमा भरतसमशेरकै कारण अविश्मरणीय रहेको खुलासा गरे। ‘मेरो हिसिला यमीसँग पहिलो पटक परिचयमा उनले अंग्रेजीमा परिचय दिँदा यमी भन्ने थर दोस्रो पटक थाहा पाएको हुँ,’ डा. भट्टराईले भने, ‘उनै भरतसमशेरले लेखेको ‘महेन्द्रका अपराध’ पुस्तकमा राजा महेन्द्रका सहयोगी भनेर धर्मरत्न यमीको नाम उल्लेख थियो।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राणा प्रधानमन्त्री चन्द्रसमशेरको नाति भएर पनि भरतसमशेर र काजीको नाति भएर पनि गणेशमान सिंह जनताको मुक्तिका लागि योगदान दिने योद्धा भएको बताए।

‘भरतसमशेरको साहस, कुसंस्कार र अन्यायविरुद्ध लड्ने र चुनौतीको सामना गर्ने साहस देख्दा मलाई पनि अचम्म लाग्थ्यो,’ पौडेलले भने, ‘समाजवादी र प्रगतिशील स्वभावका भरतसमशेर ०१५ सालको निर्वाचनमा घोडा चढेर देशव्यापी प्रचारमा हिँड्दा विरोधीले हानेको ढुंगा फर्काउने साहस अचम्मको थियो।’

कांग्रेस सभापति शेरबहादुर देउवाले भरतसमशेर ०१६ सालको संसदमा प्रमुख प्रतिपक्षी दलको नेता भएर पनि संसदीय व्यवस्था राजा महेन्द्रले हरण गर्दा कांग्रेसमा निशर्त पार्टी विलय गरेर ठूलो योगदान दिएको बताए। उनले भने, ‘भरतसमशेरको योगदान र साहसको कांग्रेसले सधैं स्मरण र सम्मान प्रकट गर्छ।’

राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिसमशेर राणाले भरतसमशेर साहसी र राष्ट्रवादी नेता भएको जनाए। कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा स्वर्गीय भरतसमशेरका सहोदर भाइ सागरसमशेरले उनी समाजवादी र राष्ट्रवादी चिन्तन बोकेका साहसी र प्रजातन्त्रवादी नेता भएको बताए। २००८ सालमा तत्कालीन गृहमन्त्री बीपी कोइरालालाई भरतसमशेरले खुकुरी दलको नेतृत्वको हैसियतले आक्रमण गरेको आरोप बीपीको आत्मवृत्तान्तले नै खण्डन गरेको उनले प्रष्ट पारे।

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा भरतसमशेरका सहोदर दाजु हिमालयसमशेर राणाले राष्ट्रवादी र समाजवादी चिन्तक भएकाले कांग्रेसले संगठनलाई व्यवस्थापन गर्न ध्यान नदिएपछि असन्तुष्ट भएर पार्टीको नेतृत्वमा आउने चाहना त्याग्दै स्वतन्त्र र शान्तिपूर्ण जीवन जीउन कोलकाता बस्दै आएको बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।