रुकुम- सानै उमेरमा विदेश गएर धेरै दुःख पाएका सिस्ने गाउँपालिका वडा नं ५ रुमालबाराका वसन्त मल्लले अहिले घरमा फर्केर भैँसी पालन व्यवसाय सुरुआत गरेका छन्। उनलाई विदेशमा गर्ने दुःखको आधा दुःखले पनि स्वदेशमै राम्रो पैसा कमाउन सकिँदो रहेछ भन्ने लागेको छ।
उनीसँग अहिले आधा दर्जन भैँसी छन्। रुकुमकोटमा दूधको माग निकै बढेको छ। दैनिक पाँच सयदेखि हजार लिटरको माग आउने बजारमा अहिले १७/१८ लिटरदेखि लिएर ४०/५० लिटरसम्म मात्र दूध उत्पादन गरेर बजारमा पुर्याउने गरेको उनले बताए।
यस्तै सिस्ने –६ की निशा हमालले पनि जग्गा भाडामा लिएर तरकारी खेती गरिन्। गएको वर्षमा एक रोपनी जग्गा भाडामा लिइ थोरै लगानीबाट सुरु गरिएको तरकारी खेती अहिले भने १० रोपनी क्षेत्रमा विस्तार भएको छ।
खेती गरिएको सबै जमिन शाहीले लिजमा लिएकी हुन्। व्यावसायिक कृषिबाट राम्रो आम्दानी गर्न सकिन्छ भने आफूलाई लागेपछि तरकारी खेती सुरु गर्नुभएका शाहीले अहिले आफ्नी श्रीमान्लाई समेत स्वदेश फर्काएकी छिन्।
रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा पनि सामूहिक बङ्गुरपालन सुरु भएको छ। वडा नं १२ कोलमा स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत सामूहिकरुपमा बङ्गुरपालन सुरु गरिएको हो। अहिले कोलमा उन्नत जात र स्थानीय जातको बङ्गुरपालन गरिएको छ। बङ्गुरपालन व्यवसायबाट आम्दानी राम्रो हुने स्मार्ट कृषि कोलगाउँका अध्यक्ष प्रेमकुमार गुरुङले बताए। उनीहरुजस्तै अन्य व्यक्तिले पनि व्यावसायिक कृषितर्फ पाइला अघि बढाएका छन्।
अहिले जिल्लामा उनीहरूले कृषि पेसालाई अँगालेर जुन खालको मेहनत गरिरहेका छन् यो साँच्चिकै उदाहरणीय छ। मान्छेले विदेशकै सपना देख्ने र स्वदेशमा भएकाहरू पनि गाउँमा काम छैन भनेर सहर बजार केन्द्रित हुँदै गर्दा कृषि बाटै उदाहरणीय काम गरी जीवनस्तर परिवर्तन गर्न सकिन्छ भनेर उनीहरुले सन्देश दिएका छन्।
युवा जमात सबै विदेशिँदा जन्ती र मलामी भेट्नै गाह्रो परेको छ। स्वदेशमै भएकाहरू पनि सहर बजार केन्द्रित छन्। विदेशबाट फर्केर स्वदेशमै आइ केहीले फरक तरिकाबाट पैसा कमाउने सपना देखेका छन्।