क्वालालम्पुर- मलेसिया सरकारले २१ अगस्टमा चिनियाँ कम्पनीहरूका दुई महँगा र ठूला पूर्वाधारका परियोजनालाई थान्को लगाउने निर्णय गरेको छ। मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पहिले नै ऋणै ऋणले ग्रस्त आफ्नो मुलुकले थप ऋणभार थेग्न नसक्ने कारण औंल्याउँदै महँगा चिनियाँ परियोजनाहरू अस्वीकार गरेका हुन्।
केही वर्ष अघिदेखि चीनले विश्वस्तरमा प्रस्ताव गरेको 'बेल्ट एन्ड रोड इनिसिएटिभ' (बीआरआर्इ) अर्थात् एक पाटो, एक बाटो कार्यक्रमअन्तर्गतका प्रमुख मानिएका परियोजनाहरू मलेसियाको यस्तो आकस्मिक निर्णयमा सम्मिलित छन्।
यस्तो निर्णय आएको एक दिनअघि चीन र मलेसियाले 'आपसी दूरगामी हित एवं राजनीतिक विश्वसनीयतालाई थप सुदृढ' गर्नेबारे दुवै पक्ष सकारात्मक रहेको सन्देश प्रवाह गरेका थिए। तर, २१ अगस्टको निर्णयले उनीहरूको पूर्वनिर्धारित लक्ष्यसँग कुनै मेल खाएको छैन। त्यसैले यसप्रकारको घटनालाई अनेक अर्थमा हेरिएको छ।
मलेसियाले लिएको यस्तो निर्णयको अघिल्लो दिन मलेसियाका प्रधानमन्त्री महाथिर र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच रात्रिभोजको आयोजना गरिएको थियो। उक्त रात्रिभोजमा मलेसियाका प्रधानमन्त्री महाथिरले भनेका थिए, 'मलेसिया आर्थिक रूपले कंगाल भएको छ र चीनले पक्कै पनि हाम्रा समस्याहरू बुझ्छ र मलेसिया कंगाल भएको हेर्न चाहन्न।' मलेसियाको प्रस्तावलाई चीनले स्वीकार गरेर जानेमा आफू विश्वस्त रहेको समेत महाथिरले बताएका थिए।
मलेसियाले थान्को लगाउने निर्णय गरेका परियोजनाहरूमध्ये एउटा 'इस्टकोस्ट रेल लिंक' थियो भने अर्को बोर्नियो टापुको सवाह राज्यमा प्रस्तावित प्राकृतिक ग्यास पाइपलाइनको परियोजना थियो। इस्टकोस्ट रेल लिंकले मलेसियाको पश्चिमी क्षेत्रबाट दक्षिण चिनियाँ सागरसम्मको रणनीतिक महत्वको व्यापारिक सम्पर्क मार्ग जोड्थ्यो।
हेडेलबर्ग विश्वविद्यालयमा चिनियाँ विदेशी अनुदानबारे अध्ययनरत मरिना रुद्याकका अनुसार मलेसियाको पछिल्लो निर्णय चीनका लागि साह्रै ठूलो धक्का हो। राष्ट्रपति सीद्वारा प्रस्तावित 'बेल्ट एन्ड रोड' परियोजनाले नयाँ युगमा चीनलाई विश्व व्यवस्थामा एक सकृय खेलाडीका रूपमा स्थापना गर्न मद्दत गरिरहेको थियो र छ। तर, मलेसियाको पछिल्लो कदमले चीनको आर्थिक कूटनीतिक असफलतातर्फ अग्रसर भएको देखाउँछ।
विश्व बैंकका अनुसार बेल्ट एन्ड रोड परियोजनाले जुनस्तरमा फाइदै फाइदाका फेहरिस्त देखाएको छ, त्यसबाट अवश्यंभावी रूपले उत्पन्न हुने जोखिम तथा चुनौतीहरू पनि काम देखिंदैनन्। विश्व बैंकका एक अर्थशास्त्रीका अनुसार विश्व अर्थतन्त्रमा जोडिन नसकेका मुलुकहरूलाई यस्तो चिनियाँ परियोजनाले निकै मद्दत गर्न सक्छ। यसविपरित अर्का अर्थशास्त्री मिचेल रुटाका अनुसार केही मुलुकका लागि भने यसले चौतर्फी ऋणको भार बढाइदिएर चरम आर्थिक संकट सिर्जना गर्न सक्नेछ।
बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत् जोडिएर आर्थिकस्तर उकास्न चाहने तुलनात्मक रूपले कमजोर सरकार भएका कतिपय मुलुकमा ठूला पूर्वाधार परियोजनाले झन् धेरै प्रतिकुल वातावरण तथा भ्रष्टाचारको जोखिम बढाइदिन सक्ने पनि बीआरआर्इको सन्दर्भमा उठ्न थालेको छ। मलेसिया यसको पछिल्लो उदाहरण बन्न गएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४