जनकपुरधाम- प्रदेश २ सरकारले मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठुलो चाड बकरईदको अवसरमा दिएको सार्वजनिक विदा घोषणामै सिमित भएको छ । सोमबार बसेको प्रदेश २ को मन्त्रीपरिषद बैठकले बुधबार सार्वजनिक विदाको घोषणा गरेको थियो।
तर यसअघि झैँ संघीय सरकार मातहतका कार्यालयहरुले प्रदेश सरकारले विदा दिने गरेको निर्णयलाई टेरपुच्छर लगाएनन्। र, पूर्ववत सञ्चालनमा रहयो । प्रदेश सरकार मातहतका कार्यालयहरु बन्द रहेपनि संघीय सरकार अन्तर्ग रहेका कर्मचारीहरु अन्य दिनझैँ समयमै कार्यालय पुगेका थिए।
प्रदेश सरकारले विदाको घोषणा गरेपनि संघीय सरकारबाट आफूहरुलाई यस विषयमा कुनै परिपत्र नआएपछि कार्यालय सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत दिपक कर्णले बताए। कार्यालय सञ्चालनमा रहेपनि सेवाग्रहीको संख्या भने न्यून रहेको उनले जानकारी दिए।
प्रदेश सरकारले विदा घोषणा गरेपनि संघीय सरकार मातहत रहेको अदालत, जिल्ला प्रशासन, हुलाक, कोलेनिका, आन्तरिक रावस्व, बैंक तथा वित्तीय संस्थाहरु अन्य दिन झैँ सञ्चालनमा रहेको थियो।
प्रदेश सरकारक आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश सरकारले दिएको विदा कार्यान्वयन गर्न संघीय सरकारले मातहतका कार्यालयहरुलाई निर्देश नगरेर तिक्तता ल्याउने काम गरेको प्रतिक्रिया दिए। विदा कार्यान्वयन गराउन आफूहरुले संघीय सरकारलाई पत्राचारसमेत गरेको उनको भनाइ छ।
प्रदेश सरकारको विदा कार्यान्वयन नहुँदा संगै रहेको एक कार्यालयका कर्मचारीहरु घर बसेका हुन्छन् भने अर्का कर्मचारी कार्यालयमा ड्युटी गरिरहेका देखिन्छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४