सोमबार, वैशाख २४, २०८१

कर्णालीको शिक्षालाई गिज्याउने एसईई नतिजा, सुदूरपश्चिम किन सधैं दूर?

सुगम प्रदेशमा एसईई नतिजा : यसले जतिजति नेपालको सुदूर भाग गयो, त्यति नै शिक्षा क्षेत्रको अवस्था खस्कँदो रहेको देखाउँछ। सहरी वा सुगम भेग छुने प्रदेशमा भने अन्यको तुलानामा राम्रै नतिजा आएको छ।
 |  बिहीबार, साउन १२, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बिहीबार, साउन १२, २०७९

काठमाडौं– बुधबार राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा सार्वजनिक गर्‍यो। बोर्डले पहिलो पटक प्रदेशगत रूपमा नतिजा सार्वजनिक गरेको हो। संघीयता लागू भएदेखि हालसम्म प्रदेशको आधारमा नतिजा सार्वजनिक भएको थिएन। 

triton college

प्रदेशअनुसार सार्वजनिक गरिएको नतिजा केलाउँदा नेपालमा शिक्षा क्षेत्रमा देखिएको असमानता स्पष्ट झल्किन्छ। सरकारले तोकेको मापदण्डअनुसार ४ जीपीए ल्याउने विद्यार्थीलाई सबैभन्दा ‘अब्बल’ मानिन्छ। त्यसपछि ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीलाई उच्च अंक (ए–प्लस) ल्याएको मानिन्छ।

प्रदेशगत तथ्यांक हेर्दा ३.६ देखि ४ जीपीए ल्याउनेमा सबैभन्दा धेरै बागमती प्रदेशका विद्यार्थी छन् भने सबैभन्दा कम ल्याउनेमा कर्णाली प्रदेशका विद्यार्थी छन्। बागमती प्रदेशको तुलानामा कर्णालीमा ए–प्लस ल्याउने ४०.३६ गुणा थोरै विद्यार्थी छन्।

बागमतीमा ४६०२ विद्यार्थीले ए–प्लस ल्याउँदा कर्णालीमा ११४ विद्यार्थीले मात्र सो ग्रेड प्राप्त गरेका छन्। सुदूरपश्चिम प्रदेशमा १९५ विद्यार्थीले मात्र ए–प्लस ल्याएको देखिएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा सहभागी परीक्षार्थी नै कम भएकाले यस्तो परिणाम देखिएको भनिन सक्छ। त्यसैले एक पटक कुल सहभागी विद्यार्थीमै पनि कुन प्रदेशमा कति प्रतिशतले उच्च ग्रेड हासिल गरे भनेर हेरौं। 

corrent noodles
Metro Mart

बागमतीमा सहभागी परीक्षार्थीमध्ये ४.२८ प्रतिशतले ए प्लस हासिल गरेका छन्। जबकि कर्णालीमा कुल सहभागीमध्ये ०.३ प्रतिशतले मात्र ए–प्लस ल्याएका छन्। त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ०.३४ प्रतिशतले ए–प्लस ल्याएका छन्। यस पटकको एसईईमा बागमतीमा १,०७,४२५ परीक्षार्थी थिए भने कर्णाली र सुदूरपश्चिममा क्रमशः ३७,३६२ र ५७,०१० परीक्षार्थी सहभागी थिए।

यसरी अन्य प्रदेशको नतिजा केलाउँदा जति विकट भेग गयो, उति औपचारिक शिक्षाको अवस्था खस्किँदो देखिन्छ। मधेस प्रदेशमा १५३१ जनाले ए–प्लस ल्याएका छन्। लुम्बिनी प्रदेशमा १२२०, प्रदेश  १ मा ११८७ र गण्डकीमा ७८४ परीक्षार्थीले ए–प्लस ल्याएका छन्।

त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउनेमा पनि कर्णालीको तुलनामा बागमती प्रदेशका धेरै विद्यार्थी छन्। बागमती प्रदेशमा १६,२९६ विद्यार्थीले ‘ए’ ग्रेड ल्याउँदा कर्णाली प्रदेशमा ९५१ विद्यार्थीले मात्र ‘ए’ ल्याएका छन्। त्यसपछि सुदूरपश्चिममा १,३०७, गण्डकीमा ३,५०१, लुम्बिनीमा ५,२४३ र प्रदेश १ मा ६,९५५ परीक्षार्थीले ‘ए’ ल्याएका छन्। 

२.८ देखि ३.२ जीपीए ल्याउनेमा पनि बागमती अगाडि छ भने सुदूरपश्चिम र कर्णाली पछाडि छन्। बागमतीमा २१,५८८, प्रदेश १ मा १२,३७५, मधेसमा ११,०९५, गण्डकीमा ७,०८७, लुम्बिनीमा ९,८८२, कर्णालीमा ४,०३५ र सुदूरपश्चिममा ३,८३८ विद्यार्थीले सो ग्रेड ल्याएका छन्।  कुल ६९,९०० विद्यार्थीले यो ग्रेड ल्याएका छन्।

२.४ देखि २.८ जीपीए ल्याउनेमा पनि बागमती अगाडि रहँदा कर्णाली पछाडि देखिन्छ। बागमतीमा २०,४९३, प्रदेश १ मा १६,४३६, मधेसमा १२,९४९, गण्डकीमा १०,१०८, लुम्बिनीमा १३,९५८, कर्णालीमा ८,३८३ र सुदूरपश्चिममा ८,४३१ विद्यार्थीले २.४ देखि २.८ जीपीए ल्याएका छन्। 

२.० देखि २.४ जीपीए ल्याउनेमा पनि बागमतीलगायत सुगम प्रदेश अगाडि छन्। बागमतीमा २०,३९२, प्रदेश १ मा २०,२५६, मधेसमा १५,२०८, गण्डकीमा १२,१२६, लुम्बिनीमा २०,११९, कर्णालीमा १०,०७३ र सुदूरपश्चिममा १४,५५९ विद्यार्थीले यो ग्रेड ल्याएका छन्। 

जब ग्रेड खस्कने विद्यार्थीको संख्या आउँछ, सुदूरपश्चिमले तथ्यांकमा सबैलाई जित्न थाल्छ। जस्तो, १.६ देखि २.० जीपीए ल्याउनेमा पनि सुदूरपश्चिम १५,६८६, प्रदेश १ मा १६,९७४, मधेसमा १५,२९३, बागमतीमा १४,९३५, गण्डकीमा ८,७७८, लुम्बिनीमा २१,१५२ र कर्णालीमा ७,७७६ विद्यार्थी रहेका छन्। 

१.२ देखि १.६ जीपीए ल्याउनेमा पनि सुदूरपश्चिम र मधेस प्रदेश अगाडि छन्। सुदूरपश्चिममा ८,५६५ विद्यार्थीले यो ग्रेड ल्याउँदा मधेसमा ८,०२१, प्रदेश १ मा ६,४६०, बागमतीमा ५,३०२, गण्डकीमा २,३२५, लुम्बिनीमा १०,९१९, कर्णालीमा २,९९४ र विद्यार्थी रहेका छन्।

०.८ देखि १.२ जीपीए ल्याउनेमा सबैभन्दा बढी सुदूरपश्चिममा छन्। सुदूरपश्चिममा ९५२ विद्यार्थीले ०.८ देखि १.२ भित्र जीपीए ल्याएका छन् भने प्रदेश १ मा ३९०, मधेसमा ४०५, बागमतीमा ३१६, गण्डकीमा १३३, लुम्बिनीमा ९०९ र कर्णालीमा १७५ विद्यार्थीले सो ग्रेड ल्याएका हुन्।

यसले जतिजति नेपालको सुदूर भाग गयो, त्यति नै शिक्षा क्षेत्रको अवस्था खस्कँदो रहेको देखाउँछ। सहरी वा सुगम भेग छुने प्रदेशमा भने अन्यको तुलानामा राम्रै नतिजा आएको छ।

राज्यले स्रोत–साधन नदिँदा सुदूरपश्चिम सधैं पछाडि

बालचन्द्र लुइँटेल, शिक्षाविद्

सुदूरपश्चिम र बागमतीबीच त्यसै शिक्षाको यत्रो खाडल बनेको हैन। सुदूरपश्चिममा ‘रिसोर्स’ नै पुगेको छैन। काम गर्न चाहने स्कुललाई पनि रिसोर्स दिइएको छैन। शिक्षक दरबन्दी पनि पूरा छैन। जति दूरदराज भयो, विद्यार्थीमा त्यति धेरै स्रोत–साधन अभाव भयो। अहिले दुुर्गम भनेकै स्रोत–साधन अभाव भन्ने भएको छ।

सुदूर भेगमा पाठ्यपुस्तक समयमा पुग्दैन। सुगमको तुलानामा ढिलो पाठ्यपुस्तक पुगिरहेको हुन्छ। विद्यालयलाई राज्यले पर्याप्त पैसा दिएको छैन। दूरदराजमा व्यापक गरिबी छ। अनि यी कुरा सम्बोधन नगरी विद्यालय शिक्षा कसरी सुध्रिन्छ? 

विद्यालय राम्रो हुन पहिला रिसोर्स हुनुपर्‍यो। शिक्षण सिकाइ राम्रो हुनुपर्‍यो। शिक्षण सिकाइ राम्रो हुन पर्याप्त शिक्षक चाहियो। भएका शिक्षकले पनि समय दिएर पढाउनुपर्‍यो। अर्को समस्या भनेको विद्यालय सुशासनमा पनि छ। विद्यालय समयमा खुल्छ कि खुल्दैन? शिक्षकले कति तयारी गरेर पढाउँछन् भनेर अनुगमन हुनुपर्‍यो। सुगम भेगमै नगरिएको अवस्थामा कर्णाली र सुदूरपश्चिम गएर कसले अनुगमन गर्ने? 

सुदूरपश्चिमको नतिजा सुधार्न रिसोर्स पहिलो र अनिवार्य सर्त हो। रिसोर्स भनेको पैसा मात्र होइन। यो भनेको शिक्षण सामग्री हो, बस्ने ठाउँ हो। राम्रा कक्षाकोठा, इन्टरनेट, कम्प्युटर राखिदिनुपर्ने होला। तर यी कुराको अभाव सुुदूरपश्चिममा देखिन्छ। काठमाडौं र कर्णाली भेगका विद्यार्थीको पहुँचमै असमानता छ। नतिजा कसरी उस्तै हुन्छ? 

प्रकाशित: Jul 28, 2022| 17:10 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्