भैरहवा- उपचार अभावमा जीवनमरणको दोसांधमा पुगेकी सिद्धार्थ नगरपालिका- ८ बसडिलवाकी ४३ वर्षिय इन्द्रमायाको भुजेलको ढिलै भएपनि उपचार हुने भएको छ।
आर्थिक अभाव उपचार गराउन नसकी विगत ९ महिना देखी कोठामै रुदैं कराउदैं मृत्युको पर्खाईमा रहेकी उनको बारेमा ‘क्यान्सर पीडित ईन्द्रमायालाई एकातिर घरबेटीको घृणा, अर्कोतिर रोगको पीडा ’शिर्षकको नेपाल समयले समाचार प्रकाशित भएपछि भैरहवामा सामाजिक क्षेत्रमा अग्रस्थानमा स्थापित लायन्सक क्लब अफ सिद्धार्थनगर होलिसीटिले उपचार खर्चको जोहो गरिदिएको हो।
क्लबका संस्थापक अध्यक्ष ओमकुमार श्रेष्ठ र वर्तमान अध्यक्ष संगम न्यौपानेसहितको लायन्सको टोलीले इन्द्रमाया बस्ने कोठामै पुगेर इन्द्रमायाका पति दिर्घ बहादुरलाई ३५ हजार नगद प्रदान गरेको हो। रकम पाएसँगै इन्द्रमाया उपचारका लागि भरतपुर क्यान्सर अस्पताल गएकी छन्।
रकम हस्तान्तरण पश्चात श्रेष्ठले भने ‘हामीले थाहा पाएपछि उनको बारेमा छलफल गर्यौं र आर्थिक अभावको कारण कोहि पनि मर्न नपरोस् भन्ने निश्कर्ष निकाली मानवीय नाताले हामी सदस्यहरुबाट तत्काल रकम संकलन गरी ३५ हजार नगद र भरतपुर क्यान्सर अस्पताल सम्म जानकोलागी एम्बुलेन्सको भाडा गरी ४५ हजार बराबरको सहयोग प्रदान गरेका छौं। ’
रुपन्देहीका धेरै सामाजिक संघसंस्थाको नेतृत्वदायी भूमिकामा रहेका श्रेष्ठले भने, ‘इन्द्रमायाको प्रारम्भीक उपचार भरतपुर क्यान्सर अस्पतालमा शुरु भईसकेको छ। अब चिकित्सकले उनको थप उपचारकोलागी जे गर्न भने पनि हामीले सकेसम्म अभियानै चलाएर भएपनि रकमको जोहो गर्ने छौं। ’
यसैबीच क्लबका अध्यक्ष संगम न्यौपानेले एक विज्ञप्ती निकाली अर्कैको घर भाडामा लिएर बस्दै आएकी क्यान्सर पीडित इन्द्रमाया एकातिर उपचार गराउन नसकेर मृत्युसंग जुधीरहेकी छन् भने अर्कोतिर घरभाडा तिर्न नसक्दाको पीडाको बीचमा देखिएकोले उनलाई सहयोगीहरुले सक्दो सहयोग गरी मानवीयता देखाउन आग्रह गरेका छन्।
अध्यक्ष न्यौपानेले उनको परिवारलाई बिहान साँझको छाक टार्न पनि समस्या रहेकोले चामल दालको पनि केही व्यवस्था गर्ने जानकारी दिए। पति दिर्घ बहादुर भुजेलसंगै सिद्धार्थनगर नगरपालिका–८ बसडिलवामा बस्दै आएकी इन्द्रमायाको चार छोरीहरु छन्। पत्नि विरामी भएपछि सानोतिनो कुकको पेशा गर्ने उनका पतिले पनि जागिर छाडेर विरामीको हेरबिचारमा लागेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४