दार्चुला- भारत सरकारले धारचुला हुँदै निर्माण गरिरहेको कैलास मानसरोवर सडक खण्डमा पहिरो खस्दा एक जना नेपाली मजदुरको ज्यान गएको छ। दुर्घटनामा अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्।
भारत पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गतको रणनीतिक महत्त्वको धारचुला-मानसरोवर सडक खण्डमा मजदुरी गर्ने मजदुरको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको हो।
उक्त सडक खण्डको लामारी झरना नजिक क्षेत्रमा पहिरो परी मंगलबार नेपाली मजदुरको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा डडेल्धुरा आलिताल गाउँपालिका-५ का नरबहादुर रोक्कामगर रहेका छन्। उनीसँगै मजदुरी गरिरहेका दुहु गाउँपालिका-२ का पदमसिह कुँवर घाइते भएका छन्। घाइते कुँवरको भारतको पिथौढागढमा रहेको अस्पतालमा उपचार भइरहेको छ।