बनेपा- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक रोशी गाउँपालिका–१ का १८ वर्षीय कृष्ट लामा रहेका छन्।
अरनिको राजमार्गअन्तर्गत बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको ना८ख ८०८७ नम्बरको ट्रकलाई सोही दिशाबाट जाँदै गरेको बा६७प २८९२ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। सो घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय एण्डी लामा घाइते भएको प्रहरीले जनाएको छ।
यसैबीच यही साउन ४ गते रोशी गाउँपालिका–१ फलामेसाँघुस्थित रोशी खोलाले बगाएर बेपत्ता भएका नमोबुद्ध नगरपालिका–९ का ४८ वर्षीय ज्ञानबहादुर लामाको शव मङ्गलबार फेला परेको छ।
लामालाई भैँसी चराएर घर फर्कने क्रममा खोलाले बगाएको थियो। शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए।