तुलसीपुर- अपहरण गरेर सात लाख रुपैयाँ फिरौती माग्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ।
दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का २७ बर्षीय केशवकुमार विकलाई अपहरण गरी सात लाख मागेको आरोपमा दाङको तुलसीपुरबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।
हनी ट्रयापमा पार्दै बोलाएर विकलाई दाङ तुलसीपुरस्थित सल्यान रोडमा रहेको युवम होटलमा बन्धक बनाइएको थियो। इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्याल नेतृत्वमा गएको १५ जनाको प्रहरी टोलीले विकको उद्धार गरेको हो।
उनको उद्धार गर्नुका साथै प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्नेमा बबई गाउँपालिका-४ का ३५ वर्षीय लीला विक, सोही ठाउँका ३५ वर्षीय नेवबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका–७ निवासी २६ वर्षीया निर्मला विक, तुलसीपुर-४ खाद्रेका २५ वर्षीय सुकलाल विक, कपिलवस्तु शिवराज नगरपालिका–९ का २० वर्षीय मनोज थारु र गाडी चालक प्यूठान घर भई हाल तुलसीपुर–६ बस्ने २४ वर्षीय जनक कुँवर रहेका छन् ।
दाङका युवाले बुटवलमा बोलाएर एक महिलासँग होटलमा भेट गराएलगत्तै विकलाई अपहरण गरेर तुलसीपुर ल्याइपुर्याएका थिए। सात लाख नदिए ज्यान मार्ने धम्की दिएर युवकलाई होटलमा बन्धक बनाएर राखेको खबर पाएलगत्तै प्रहरीले मंगलबार दिउँसो साढे ४ बजे होटलमा छापा मारेको थियो। तुलसीपुर प्रहरीलाई दैलेखबाट पीडितकी श्रीमतीले खबर गरेकी थिइन्।
केशवकुमार कसरी परे हनी ट्रयापमा
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार केही समयअघि केशवको चिनजान दाङ तुलसीपुरकी निर्मला विकसँग फेसबुकबाट भएको थियो। निर्मलाले फेसबुकमा कुरा गर्दै सोमबार केशवलाई बुटवलमा भेट्न बोलाइन्।
भेट्न बोलाएपछि केशव सोमबार राति नै बुटवल आइपुगे। तर ती महिलाले आफू लिन आउँन नसक्ने र आफन्तलाई गाडीमा लिन पठाएको बताइन्। केशवलाई लिन पुगेका बबई गाउँपालिका-४ का ३५ बर्षीय लीला विक र सोही ठाउँका ३५ वर्षीय नेवबहादुर घर्तीले गाडीमा हालेर सिधै तुलसीपुर ल्याए।
सोमबार राति नै तुलसीपुर ल्याएपछि सल्यान रोडस्थित युवम होटलमा उनलाई बन्धक बनाएर राखिएको थियो। त्यसपछि लाख रुपैयाँ दिएमात्रै छोड्ने भन्दै उनीसँग रकम माग गरिएको प्रहरी अनुसन्धानले देखाएको छ।
उक्त सूचना दैलेखमा रहेकी केशवकी श्रीमतीले पाएपछि प्रहरीलाई खबर गरेकी थिइन्। त्यसपछि प्रहरीले केशवको उद्धार गर्दै घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका सबैलाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने तयारी गरेको छ।