सोमबार, वैशाख २४, २०८१

मंकीपक्स नियन्त्रणका लागि नेपालको कस्तो छ तयारी?

स्वास्थ्य मन्त्रालयले भारतमा मंकीपक्स संक्रमण देखिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र १४ वटा सीमानाकामा हेल्थ डेस्क स्थापना गरी निगरानी बढाएको छ।
 |  मंगलबार, साउन १०, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, साउन १०, २०७९

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकीपक्स संक्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ। मंकीपक्स संक्रमण द्रुत गतिमा फैलन थालेपछि डब्लूएचओले आपतकालका रूपमा घोषणा गरेको हो।

triton college

विश्वमा ७५ देशहरूमा १६ हजारमा संक्रमण पुष्टि भएपछि साउन ७ मा बहुराष्ट्रिय प्रकोपको समीक्षाका लागि बसेको बैठकले मंकीपक्स संक्रमणलाई जनस्वास्थ्य आपतकालका रूपमा घोषणा गरेको हो। संगठनका अनुसार दक्षिणपूर्वी क्षेत्र भारतमा तीन र थाइल्यान्डमा एक जनामा मंकीपक्स संक्रमण पुष्टि भएको छ। 

अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालीन समिति बैठकमा संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले मंकीपक्स दु्रत गतिमा बढेकाले जनस्वास्थ्य आपतकालको रूपमा घोषणा गरे। 

संक्रमण बढ्न थालेपछि डब्लूएचओले दक्षिणपूर्वी एसिया क्षेत्रका देशलाई निगरानी र जनस्वास्थ्यका उपायलाई बलियो बनाउन आग्रह गरेको छ। 

विश्व स्वास्थ्य संगठनले मंकीपक्स संक्रमणलाई जनस्वास्थ्य आपतकालको रूपमा घोषणा गरेपछि नेपालमा पनि फैलन सक्ने भन्दै त्यसलाई नियन्त्रण तथा रोकथामका लागि तयारी थालिएको छ।

corrent noodles
Metro Mart

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको जोखिमलाई दृष्टिगत गर्दै पूर्वतयारी थालेको छ। 

के छ नेपालमा पूर्वतयारी? 

मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारी भन्छन्, ‘विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ। छिमेकी भारतमा पनि मंकीपक्स संक्रमण देखिएकाले नेपालमा यसको पूर्वतयारी थालिएको छ।’

अधिकारीका अनुसार सीमानाका तथा हवाई माध्यमबाट नेपाल प्रवेश गर्नेहरूको संख्या दैनिक हजारौं भएकाले मंकीपक्स सहजै प्रवेश गर्न सक्ने भन्दै पूर्वतयारी थालिएको हो। पूर्वतयारीका लागि इपिमिडियोलोजी, उपचार प्रोटोकल, प्रयोगशाला निदान रणनीति आदि अभिमुखीकरण भइसकेको छ। त्यस्तै, मंकीपक्सको जोखिम न्यूनीकरणका लागि गर्ने तयारी र प्रतिकार्यका कदम सिफारिस गरेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार सबै प्रदेशमा १४ जना फोकल चिकित्सक तोकेर केस अनुसन्धान गर्न परिभाषा बनाइएको छ। सबै स्थानमा भर्चुअल, कान्ति बाल अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ।

त्यस्तै, मन्त्रालयले भारतमा संक्रमण देखिएसँगै त्रिभुवन विमानस्थल र १४ वटा सीमानाकामा हेल्थ डेस्क स्थापना गरी निगरानी बढाइएको छ। 

मंकीपक्स परीक्षण गर्ने, नमुना संकलन व्यवस्था अगाडि बढाइएको छ।

अधिकारीका अनुसार नाकाहरूमा अभिमुखीकरण गर्ने, स्वास्थ्यकर्मीलाई तालिम दिने, संक्रमणको पहिचान र निदानका लागि प्रयोगशाला क्षमता विकास गर्नेलगायतका काम गर्ने तयारी भइरहेको छ। 

संक्रमणको जोखिम हुन सक्ने जनसंख्या वा समुदायमा सम्भावित संक्रमणबारे भरपर्दो जानकारी बढाउन मुख्य समुदाय आधारित समूह, यौन स्वास्थ्य र नागरिक सञ्जाललाई संलग्न गराउने मन्त्रालयको योजना छ।

त्यसैगरी मन्त्रालयले संक्रमण प्रभावित व्यक्तिको मानव अधिकार, गोपनीयता, मर्यादा र तिनको सम्पर्क अवस्थाबारेको पूर्वतयारी गरेको छ। 

भारतमा मंकीपक्स भाइरसको संक्रमण बढ्दै गएपछि नेपालसँग खुला सीमा भएकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि पूर्वतयारी थालेको छ।

टेकुस्थित एक मात्र केन्द्रीय सरुवा रोग अस्पतालले सम्भावित मंकीपक्स संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यसको उपचारका लागि १० वटा एयरबेड छुट्याएको छ। एयर बेड भाइरसबाट संक्रमितको उपचार गर्दा भाइरस हावाको माध्यमबाट अर्को व्यक्तिमा नसरोस् भनेर बिरामीलाई राखेर उपचार गर्ने प्लास्टिक बेड हो। अस्पतालले हाल इमर्जेन्सी उपचारका लागि ४ वटा र अन्य आईसीयू बेड छुट्याएको अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीले जानकारी दिए। 

के हो मंकीपक्स? 

मंकीपक्स भाइरस संक्रमित जनावरसँगको अप्रत्यक्ष वा प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्ने गर्दछ। संक्रमित व्यक्तिको छाला वा बिबिरा र श्वास–प्रश्वासका थोपाको प्रत्यक्ष सम्पर्कमा आएमा मानिसदेखि मानिसमा यो रोग सर्न सक्छ। 

हाल प्रकोप फैलिएका देशमा मंकीपक्स संक्रमणमध्ये मुख्य रूपमा यौन सम्पर्कसहित नजिकको शारीरिक सम्पर्कमार्फत संक्रमण भएको देखिएको डब्लूएचओले जनाएको छ। 

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘मंकीपक्स’ भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरमा देखिएको थियो। यसै कारणले पनि यसको नाम ‘मंकीपक्स’ राखिएको हो। तर मानिसमा भने सन् १९७० मा कंगोमा देखिएको थियो।’

मंकीपक्स संक्रमण भएको ५ देखि २१ दिनसम्म लक्षण देखिने गर्दछ। सुरुको अवस्थामा ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नुलगायत लक्षण देखिन्छन्। सुरुमा अन्य संक्रामक रोगसँग मिल्दाजुल्दा लक्षण देखिने डा. पुन बताउँछन्। यस्ता लक्षण देखिएको १ देखि ३ दिनसम्म शरीरमा बिबिरा देखिने उनको भनाइ छ। 

यसको संक्रमण सामान्यतया २ देखि ४ सातामा आफैं निको हुने भए पनि १० जनामध्ये एक जनामा भने जटिलता आउन सक्ने अथवा मृत्यु नै हुन सक्ने उनी बताउँछन्। 

मंकीपक्स मानिसबाट मानिसमा थुकको छिटा, खुला छाला वा नाक, मुख, आँखामा भाइरस परे संक्रमण गर्न सक्दछ। पुन भन्छन्, ‘मंकीपक्सको विशेष औषधी छैन तर स्मलपक्सविरुद्ध प्रयोग गरिने खोपले पनि यसलाई काम गर्न सक्छ भनिएको छ।’

प्रकाशित: Jul 26, 2022| 11:28 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्