भैरहवा- विना इजाजत सञ्न्चालनमा रहेको मिनी क्यासिनो तत्काल बन्द गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठाडो आदेश दिएको छ ।
मन्त्रालय अन्र्तगको क्यासिनो हेर्ने पर्यटन विभागका अधिकृत नारायणप्रसाद भट्टराइको हस्ताक्षर रहेको विभागको चलानी नम्बर ४७३ नम्बरको पत्रमा रुपा इन्टरनेशनल कम्पनी मार्फत भैरहवाको होटल निर्वाणमा सञ्चालन भईरहेको क्यासिनो गैरकानुनि भएकोले तत्काल बन्द गर्नु भनिएको छ ।
विभागले सोमबार जिल्ला प्रशासन कार्यलयको नाममा पत्र लेख्दै सो क्यासिनो बन्द गराउन आदेश दिइएको जनाएको छ । पत्रमा भनिएको छ , ‘क्यासीनो नियमावली २०७० को नियम ९ को उपनियम ४ बमोजिम जुन होटलमा क्यासिनो सञ्चालनकोलागी अनुमति लिएको हो सोही होटलमा सन्चालन गर्नुपर्ने कानुनी प्रावधान भएकोले होटल निर्वाणामा सञ्चालित क्यासिनो गैरकानुनी भएकोले बन्द गर्नु’ भनिएको छ ।
रुपन्देहीमा विगत ३ वर्षदेखि एउटा लाइसेन्सले दुईवटा क्यासिनो सञ्चालनमा छन् । ह्याप्पी आवर प्रालिले होटल लाकौलमा क्यासिनो सञ्चालन गरिरहेको भएता पनि सोही नाममा होटल निर्वाणामा पनि विना इजाजत क्यासिनो सञ्चालनमा आएको छ । उक्त क्यासिनो करिब २ महिना पहिले होटल नान्समा सञ्चालन भएको थियो ।
एउटा मिनी क्यासिनोले कानुन संगत चल्दा राज्यलाई बार्षिक ७५ लाख राजस्व तिर्नुपर्ने प्रावधान छ । विना दर्ता, विना इजाजत यसरी चल्दा राज्यलाई ३ वर्षदेखि सबा २ करोड नोक्सानी भईरहेको छ । ठूला करदाता भित्र पर्ने क्यासिनोले अदालतमा विचौलियाको प्रयोग गरी आर्थिक चलखेलमा अन्तरिम आदेशको भरमा क्यासिनो सञ्चालन गर्दै आएकाछन् ।
होटल निर्वाणामा मनोज सुवेदीले क्यासिनो सञ्चालन गर्दै आएका छन् भने लाकौलमा सुरेन्द्रबहादुर सिंहले सञ्चालन गर्दै आएका छन् । हयाप्पी आवर सिंहको नाममा दर्ता रहेको छ । सिंह भन्छन् , ‘मैले ४ वटा क्यासिनो सञ्चालनको अनुमति लिई सञ्चालन गरिरहेको छु अरु विषयमा थाहा भएन । ’
ह्याप्पी आवर प्रालिले नेपालगञ्जको होटल स्नेहामा, काँकडभिट्टाको होटल ढाकामा, महेन्द्रनगरको होटल स्विट ड्रिममा र भैरहवाको नान्समा मिनी क्यासिनो सञ्चालन गर्ने अनुमति लिइ सन्चालन गरिरहेको छ ।
यता जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा पर्यटन विभागले दिएको आदेशानुसारको पत्र प्राप्त भएको छ तर उक्त पत्रको आदेश अनुसार तत्काल कार्यन्वयन गर्ने अवस्था नभएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए । उनले भने ‘हामीलाई पत्र प्राप्त भएको छ । तर तत्काल कार्यन्वय गर्ने अवस्था छैन ।’
उनले थप प्रस्टाउदै भने ‘हामीले केही समय पर्यटन विभागलाई कुन क्यासिनो वैद्य र कुन अबैध हो भनि लिखित रुपमा सोधेका थियौ, सोही विषयलाई लिएर क्यासिनोवालाले हामीलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्धा दायर गरेछन् । सर्वोच्चले मलाई आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । अब भदौं १२ गते सर्वोच्चले जे भन्छ त्यहि गर्ने हो । ’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४