धनगढी-कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बुधबार पनि बिहानैदेखि विरोध प्रदर्शन भइरहेको छ ।निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले नक्कली अभियुक्त सार्वजनिक गरेको भन्दै आन्दोलन चर्किएको हो ।
प्रहरीले मानसिक सन्तुलत बिग्रेका दिलिपसिंह विष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको भन्दै सोमबार उनलाई सार्वजनिक गरेको थियो । तर पीडितका आफन्त र स्थानीय बासिन्दाले भने वास्तविक हत्यारालाई प्रहरीले जोगाउन खोजेको भन्दै विरोध गरिरहेका छन् ।
उनीहरुले मंगलबार दिनभर पनि महेन्द्रनगर बजारमा प्रदर्शन गरेका थिए । सो क्रममा स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको थियो । बुधबार पनि बिहानैदेखि महेन्द्रनगर बजारमा प्रदर्शन भइरहेको छ ।
ठूलो संख्यामा जम्मा भएका आफन्त र स्थानीय बासिन्दाले प्रहरीलाई वास्तविक हत्यारा सार्वजनिक गर्न माग गरिरहेका छन् । उनीहरुले आफूहरुको आन्दोलनमा हवाई फायर गर्ने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको माग गरेका छन् ।
पीडित परिवारले आशंका गरेका व्यक्तिलाई अनुसन्धानको दाएरामा नै नल्याएको आरोप छ । प्रहरी बिरुद्ध सर्वत्र आलोचना भइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४