काठमाडौं- राष्ट्रिय गौरवको आयोजना तथा मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुट्याइएको बजेट गत आर्थिक वर्ष ०७४/७५ मा ७.६१ प्रतिशत मात्र खर्च भएको छ ।
बाराको निजगढमा निर्माणाधीन विमानस्थल कहिले सम्पन्न हुने भन्ने अन्योल कायमै देखिएको छ । विमानस्थल निर्माणको मोडालिटी नै हालसम्म तय हुन सकेको छैन । आयोजनाका लागि पूर्वतयारी हुन नसक्दा पनि अन्योलको बादल नहटेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार गत आव ०७४/७५ को भौतिक प्रगति पनि ३९.४४ प्रतिशत मात्र छ । उक्त विमानस्थलको कुल बजेट एक खर्ब २० अर्ब रुपैयाँ छ । गत वर्ष एक अर्ब दुई करोड रुपैयाँ विनियोजन भएको थियो । उक्त विमानस्थलको हालसम्मको भौतिक प्रगति ३९.४४ प्रतिशत र वित्तीय प्रगति १७.६२ मात्र छ ।
यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको गत आवको भौतिक प्रगति ३३.३४ प्रतिशत मात्रै भएको मन्त्रालयले जनाएको छ । गत आवमा उक्त विमानस्थलका लागि चार अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएकामा वित्तीय प्रगति ७.६१ प्रतिशत मात्रै भएको छ । मन्त्रालयका अनुसार हालसम्म उक्त विमानस्थलको भौतिक १५ र वित्तिय प्रगति ३०.०४ प्रतिशत भएको छ ।
विमानस्थल निर्माणको समयावधिका आधारमा कार्यप्रगति अगाडि बढेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए । पछिल्लो समय द्रुत गतिमा विमानस्थलको काम अगाडि बढेको उनको दाबी छ ।
विमानस्थल निर्माणका लागि विभिन्न नीतिगत ढिलाइ भएको देखिएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति भने निजगढ र पोखराको तुलनामा राम्रो देखिएको छ । गत वर्ष उक्त विमानस्थलको भौतिक प्रगति ८०.८८ प्रतिशत छ ।
गत आवमा गौतमबुद्ध विमानस्थलका लागि १३ अर्ब ६१ करोड रुपैयाँ विनियोजन भएको थियो । त्यसमध्ये वित्तीय प्रगति शतप्रतिशत भएको मन्त्रालयको वार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख छ ।
मन्त्रालयका अनुसार हालसम्म विमानस्थलको भौतिकतर्फ ५० र वित्तीयतर्फ ६६.६३ प्रतिशत प्रगति भएको छ । उक्त विमानस्थल योजनाको अवधि १५ जुन ०१८ सम्म थियो । त्यस अवधिमा काम सम्पन्न हुन नसकेकाले १८ जुन ०१९ सम्मका म्याद थपिएको छ ।