चितवन- चितवनको भरतपुरमा एक पुरुषले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
हत्यापछि तीन तलाबाट हामफालेर भाग्ने क्रममा श्रीमान्को पनि मृत्यु भएको छ। भरतपुर महानगरपालिका-१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आर्चार्यले गएराती ३५ वर्षीया श्रीमती रुष्मा आर्चार्य घिमिरेलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरी अधिकारीका अनुसार गएराती साढे १० बजे घरायसी बिवादका कारण आफ्नै बैठक कोठामा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए। गम्भीर घाइते रुष्माको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रवक्ता अधिकारीले बताए।
यस्तै प्रहार गर्ने कृष्णप्रसादले ३ तला माथी बाट हाम फाली भाग्न खोज्दा गम्भीर घाइते भएका थिए। उनको पनि चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको राती ११ बजे मृत्यु भएको प्रवक्ता अधिकारीले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनले जनाए।