काठमाडौं- नेपाल प्रहरीले बडादशैँ, तिहार, नेपाल संवत् र छठलगायत चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ।
चाडपर्वका समयमा हुन सक्ने चोरी, ठगी, लुटपाट, जुवातास, अनलाइन ठगी, सट्टेबाजी, नक्कली नोटको कारोबार तथा अवैध ओसारपसार नियन्त्रणका लागि देशभर ५० हजार ४५८ प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ।
सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यकासहित सातै प्रदेशमा ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यस्तै, अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा सहायता कक्ष स्थापना गरी थप ७०५ प्रहरी परिचालन गरिएको छ। लामो दूरीका सवारीसाधनमा यात्रुको सुरक्षा तथा सडक सुरक्षालाई प्राथमिकता दिँदै चालकको अनुमतिपत्र, मादक तथा लागूपदार्थ सेवन, यात्रु क्षमता, दुई चालक भए–नभएको र सवारीको यान्त्रिक परीक्षणसमेत जाँच गरिने प्रहरीले जनाएको छ।
प्रहरीले सुरक्षा निगरानीका लागि सिसीटिभी, शरीरमा लगाउने क्यामेरा, ड्रोन, तालिमप्राप्त कुकुर तथा सञ्चार प्रणालीको प्रयोग गर्ने जनाएको छ। मुख्य बजार, बैंक तथा वित्तीय संस्था, बसपार्क, विमानस्थल, धार्मिक तथा पर्यटकीय स्थल र सीमा नाकामा विशेष निगरानी गरिनेछ।
प्रहरीले अनलाइन ठगीबाट जोगिन गोप्य संकेत, व्यक्तिगत परिचय संकेत तथा पासवर्ड कसैलाई नदिन, शंकास्पद विद्युतीय सम्पर्क तथा संकेतमा विश्वास नगर्न र अपरिचित व्यक्तिका सन्देश तथा मागप्रति सचेत रहन आग्रह गरेको छ।
त्यस्तै, चाडपर्वमा घर छाडेर जाँदा झ्यालढोका, ग्यास र विद्युत् जाँच गर्न तथा घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न प्रहरीले अनुरोध गरेको छ। मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियम पालना गर्न र कुनै शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्नसमेत आग्रह गरिएको छ।