काठमाडौं- बाढीपहिरोले अवरुद्ध बेनी–जोमसोम–कोरला सडक आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी खुलाउने लक्ष्यसहित मर्मत तीव्र पारिएको छ। अधिकांश स्थानमा प्रारम्भिक मर्मत सकिए पनि कुनौटा र पोखरेबगरमा काम बाँकी रहेकाले सडक पूर्ण रूपमा सञ्चालनमा आएको छैन।
बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार मङ्गलबारसम्म म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटा र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरस्थित पुलको पहुँचमार्गबाहेक अन्य स्थानमा प्रारम्भिक मर्मत सम्पन्न भएको छ। असोज ८ देखि ११ गतेसम्मको वर्षापछि सडकका ५५ स्थान बाढीपहिरोले अवरुद्ध भएका थिए। कालीगण्डकी नदीको बाढीले १० स्थानमा सडक कटान गरेर बगाएको तथा भत्काएको थियो।
कुनौटामा पैदलयात्रासमेत गर्न नमिल्ने गरी २५० मिटर सडक र पोखरेबगरमा पुलको पहुँचमार्ग बगेको थियो। नौटामा चार एक्साभेटर र टिप्पर प्रयोग गरी माटो भर्ने काम भइरहेको छ। पोखरेबगरमा मजदुर तथा उपकरण परिचालन गरेर ग्यावियन पर्खाल निर्माण जारी छ। रातोपानी, धिरच्याङ, भिरकाटे, महभिर, तिप्ल्याङ र बेगखोलामा पहिरो पन्छाउने तथा नयाँ मार्ग बनाउने काम सकिएको योजनाले जनाएको छ।राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृहअगाडि कटान भएको सडकको विकल्पमा मार्ग खुलाइएको छ।
सुरुमा देखिएको इन्धन अभाव ढुवानी तथा सापटीमार्फत व्यवस्थापन गरिएको आयोजनाको भनाइ छ। सङ्घीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीका अनुसार मर्मतमा १५ एक्साभेटर, १२ टिप्पर र १५ लोडरसहित जनशक्ति परिचालन गरिएको छ। सडक पुनर्निर्माणमा तीन अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान सडक विभागले गरेको छ।मुस्ताङको स्याउ बजार पठाउने समय, दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा ढुवानी र पर्यटकीय याम सुरु भएकाले सडक खुलाउन दबाब बढेको छ। म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले चीनसँगको व्यापारका लागि महत्त्वपूर्ण कोरला नाका जोड्ने सडक सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।