वीरगञ्ज- भारतीय अपराधी बब्लु दुबेको हत्यापछि संगठित अपराधका गतिविधि शून्य बनेको वीरगञ्जमा अहिले पुनः भारतीय आपराधिक समूह सकृय हुन थालेका छन्। दुई सातायता यहाँका ठूलो औद्योगिक समूहका सञ्चालकहरूलाई भारतीय अपराधीले करोडौं रुपैयाँ माग्दै ज्यान मार्ने धम्की दिन थालेका छन्।
हालसम्म ६ जना व्यापारीलाई फोनमार्फत् धम्की आइसकेको स्थानीय एक उद्योगीले जानकारी दिए। 'यस विषयमा पर्सा प्रहरीलाई जानकारी गराइए पनि नियन्त्रणको साटो बढ्दो क्रममा छ,' उनले नेपाल समयसँग भने, 'फोनबाट धम्क्याउँदै जनही करोड रुपैयाँभन्दा बढी फिरौती माग्ने गरिएको छ।'
असुरक्षा बढेकाले व्यापारीले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन र धम्क्याउने समूहलाई नियन्त्रण गर्न प्रहरीलाई दिइरहेका छन्। 'हामीले थ्रेट कलबारे प्रहरीमा जानकारी गराइसकेका छौं,' वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले भने, 'तर, अझैसम्म प्रहरीले नियन्त्रण गर्न सकेको छैन। झन्झन् बढ्दै गएको छ।'
प्रहरीले अपराधीलाई पक्राउ गर्नुको साटो व्यापारीको पछि लागेको अध्यक्ष शर्माको गुनासो छ। 'छापामारी र अनुगमनका नाममा व्यापारीलाई आतंकित बनाउन चासो छ,' उनले भने, 'तर, अझैसम्म अपराधी पक्रन सकेका छैनन्।'
पछिल्लो समय ११ जेठ ०७३ मा स्थानीय व्यापारी सुरेश केडियाको अपहरणबाट भारतीय आपराधिक समूहले पुनः वीरगञ्जमा पाइला टेक्न खोजेका थिए। तर, नेपाल प्रहरी र विहार प्रहरीबीचको प्रभावकारी समन्वयका कारण निष्तेज बनेका थिए।
विहारको मोतिहारी जेलबाटै केडियाको अपहरण गराएका कुख्यात अपराधी बब्लु भनिने मिथिलेश दुवे २८ वैशाख ०७४ मा बेतिया अदालत परिसरमै मारिएपछि यहाँका व्यापारीले राहतको सास फेरेका थिए।
असुरक्षित महशुस गरेका उद्योगी/व्यापारीहरूले निजी सुरक्षा अधिकृत (पीएसओ) माग गर्न थालेका छन्।
हालका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल नारायणी अञ्चल प्रहरी प्रमुख (एसएसपी) छँदा १७ जेठ ०७० मा दुवेलाई समातेर अनौपचारिक रूपमा विहार प्रहरीको जिम्मा लगाएका थिए। आफ्नो आतंक नेपाल प्रहरीले निष्तेज पारेको बताउँदै बदलास्वरूप बब्लुले विहारको बक्सर जेलबाटै व्यापारी केडियाको अपहरणको योजना बुनेका थिए।
राजनीतिक अस्थिरता, पटक-पटकको बन्द, हडताल र भारतको नौ महिने नाकाबन्दीको चर्को मार खेपेको वीरगञ्जमा लगानीका लागि उपयुक्त माहोल खोजी भइरहेको थियो। त्यही बेला पुनः भारतीय अपराधी सकृय हुन थालेपछि व्यापारी चिन्तित छन्।
बारा-पर्सा औद्योगिक करिडोरका प्रहरीसँग निजी सुरक्षा अधिकृत (पीएसओ) उपलब्ध गराउन अनौपचारिक रूपमा आग्रह गरेका छन्। उनीहरूले उद्योग-व्यवसायमा अर्बौ रुपैयाँ लगानी गरेका छन्।
नेपाली र भारतीय दुवै नम्बरबाट व्यापारीलाई फोनमार्फत् धम्की आइरहेको गुनासो प्राप्त भएको जिल्ला प्रहरी पर्साका डीएसपी मानबहादुर राईले बताए। 'हामीले फोन नम्बरमार्फत् अपराधीको पहिचान गर्ने प्रयास जारी राखेका छौं। परिणाम आउन बाँकी छ,' उनले भने।
प्रहरीले धम्कीबारे अनुसन्धान भइरहेको बताइरहँदा पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले भने व्यापारीलाई फोन थ्रेटबारे कुनै जानकारी नआएको दाबी गरे। उनले भने, 'थ्रेट आएको हो भने व्यापारीले हामीलाई उजुरी गर्नुपर्ने हो। प्रहरीमा पनि कुनै उजुरी परेको छैन। उजुरी आए नियन्त्रण थाल्नेछौं,' प्रजिअ पौडेलले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४