पोखरा- मुस्लिम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर-इद बुधबार उत्साहका साथ मनाइरहेका छन्।
तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ। यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ। मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ। बकर–इदका अवसरमा पोखराको इदगाहमा मुश्लिम धर्मालम्बीले पवित्रताका साथ आज बिहानैदेखि भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरिएको अलि मियाँ बाङ्मय प्रतिष्ठान पोखराका अध्यक्ष एवं धर्मगुरु हनिफ मियाँले जानकारी दिए।
पोखरामा दश हजारको हाराहारीमा रहेका मुश्लिम खुशीयालीका साथ पर्व मनाउन जुटेको उनले बताए। यस पर्वको अवसरमा परिवारका सम्पूर्ण सदस्य अनिवार्यरूपमा नयाँ वस्त्र धारण गर्ने गर्छन् । इदगाहमा नवाज पढेर एकापसमा शुभकामना आदान प्रदान गने चलन छ । बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी गर्ने गरिन्छ।
सो अवसरमा जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरीब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको धर्मगुरु मियाँले बताए।
इदको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उप।ाष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीलगायत दलका नेताहरुले पनि शुभकामना दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४