काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौमा बोलाइएको महासमिति बैठकको मिति धकेलेर सभापति शेरबहादुर देउवा पार्टी कमजोर बनाउने खेलमा लागेको आरोप लगाएका छन्।
नेपाल विद्यार्थी संघ केन्द्रीय अपांग विद्यार्थी समन्वय समितिले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘विधान मस्यौदा समितिमा बस्ने साथीहरूको नाम मैले नदिएर गठन हुन सकेन भन्ने आरोप लगाइँदो रहेछ तर मैले नाम दिएको तीन साता भइसक्यो । तर, किन गठन हुन सकेन सभापतिजी?’
विधान मस्यौदा समिति गठनमा ढिलाइ गरेर सभापति देउवा महासमिति बैठकको मिति पर सार्दै पार्टीलाई कमजोर बनाउने षडयन्त्रमा लागेको आरोप लगाए। 'पार्टीलाई गुटरहित बनाऊँ भनेर मात्र हुँदैन, त्यसका लागि केही आधार पनि हुनुपर्छ,’ पौडेलले देउवाप्रति लक्षित गर्दै भने, ‘न्याय, निष्पक्षता र निरपेक्ष मूल्यांकन नहुने अनि तपाईं पक्षपात गर्दै जाने भएपछि त्यसविरुद्ध लड्न गुट त बनिहाल्छ नि?’
पौडेलले महसमिति भेला गर्न अलमल गर्ने र नेविसंघ महाधिवेशन सार्ने षडयन्त्रमा सभापति आफैं लागेकाले जनताको भावनाको प्रतिनिधित्व नहुने जिकिर गरे। पौडेलले जनता र कार्यकर्ताको भावना एकातिर तर नेतृत्व अर्को बन्ने जालझेलले कांग्रेस कमजोर बन्दै गएको दु:खेसो गरे।
कांग्रेसको प्रभावशाली भातृ संस्था नेविसंघको महाधिवेशन नगर्ने षडयन्त्रमा संघका अध्यक्ष नैनसिंह महर नै लागेको आरोप लगाए। उनले नेविसंघ महाधिवेशन गर्न नदिने दोस्रो षडयन्त्र निर्देशक समितिले गरेको आरोप लगाए।
‘महाधिवेशन गर्न भनेर सभापति देउवाले हाम्रा केही साथीको नामसहित सबै आफ्ना राखेर निर्देशक समिति बनाउनु भएछ,’ पौडेलले भने, ‘अध्यक्षले महाधिवेशनको खाका अहिलेको परिस्थितिमा दिन सक्दिनँ भनेर भन्नु नै सभापति र निर्देशक समितिको महाधिवेशन नगर्ने षडयन्त्र हो।’
पौडेलले नेविसंघका अध्यक्षले आफूसँग १८ पटक भेटे पनि बाहिर गएपछि उल्टो-उल्टो कुरा गर्दै हिँडेको आरोप लगाए। उनले नेविसंघको म्याद तीन महिना थप्दै गर्दा महाधिवेशनको मिति नतोकिनु नै षडयन्त्र भएको बताए। निर्देशक समितिले महाधिवेशन नगर्ने छाँट ल्याएमा वर्तमान केन्द्रीय कार्यसमितिका बहुमत सदस्यलाई मिति तोकेर अगाडि बढ्न पौडेलले निर्देशन दिए। पार्टीलाई 'भिजनलेस' बनाएर कमजोर तुल्याउने काम १३ औं महाधिवेशनको म्यान्डेटले गरेको दाबी गरे।
‘म उपसभापति र संसदीय दलको नेता हुँदा एक व्यक्ति एक पदको कुरा उठाएर षडयन्त्र गरियो, रामशरण महतलाई पन्छाउन (सहमहामन्त्री र अर्थमन्त्री) पनि त्यही भनियो,’ पौडेलको प्रश्न थियो, ‘तर, सुशील कोइराला र शेरबहादुरजी सभापति र संसदीय दलको नेता हुँदा एक व्यक्ति एक पदको कुरा किन उठ्दैन?’
नेविसंघलार्इ धरासायी बनाउन उमेर हदको कुरा उठाइएको पौडेलको ठम्याइ छ। उनले भने, ‘संगठनको नेतृत्व लिन उमेरको डिमार्केसन लगाउने कहाँको लोकतान्त्रिक कुरा हो? नेतृत्व कसले लिने भन्ने विषय उसको निष्ठा, आस्था, योग्यता, क्षमता र लोकप्रियताको आधारमा हुने हो।’
पार्टीभित्र गुट-उपगुट हटाऊँ भन्ने साथीहरूले नै बढी गुट-उपगुट चलाइरहेको पौडेलको आरोप थियो। ‘हाम्रा साथीहरू आफूलाई केन्द्रविन्दुमा राखेर म र आफू भन्छन्। अहिले आफू होइन, पार्टीलाई सुधारौं,’ महामन्त्री डा. शशांक कोइरालाप्रति लक्षित गर्दै उनले भने, ‘पार्टीभित्रको विकृति हटाऔं, सुधार गरौं अनि ज-जसलाई जे जे चाहिन्छ, त्यही पद लिउँला र बनौंला।’
ओली सरकारमा संस्थागत भ्रष्टाचार
नेता पौडेलले नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा संस्थागत भ्रष्टाचार भएको दाबी गरे। प्रधानमन्त्री ओलीले सरकारमा जानुअघि भ्रष्टाचार नियन्त्रण गर्छु भने पनि सरकारी कार्यालयमा घुस नभर्इ कामै हुन छाडेको गुनासो गरे।
‘ओली भ्रष्टाचार हटाएर सुशासन ल्याउँछु भन्नुहुन्थ्यो तर पर्यटन मन्त्रीले अर्बौंको जहाज निर्माण कम्पनीसँग नभई दलालमार्फत् खरिद गर्दा अर्बौं रकम लिएका छन्,’ पौडेलले भने, ‘कम्पनीसँग प्रत्यक्ष डिल नगरी विचौलियासँग जहाज खरिद गर्दा भोलिका दिनमा जहाज मर्मतको जिम्मासमेत कम्पनीले लिँदैन।’
कांग्रेस सरकारमा हुँदा कांग्रेसका केहीले व्यक्तिगत रूपमा भ्रष्टाचार गरे पनि ओली नेतृत्वको सरकारमा संस्थागत भ्रष्टाचार भएको ठोकुवा गरे। पौडेलले एमाले र माओवादी मिल्दा नै जनवादको सूत्र लगाएकाले वर्तमान नेकपाको सरकार संघीयताविरोधी भएको दाबी गरे। उनले अहिले कमाएको रकम नेकपाले चुनावमा प्रयोग गर्ने आरोप लगाए।
‘जनवादमा कहीँ पनि संघीयता टिकेको दृष्टान्त छैन,’ पौडेलले भने, ‘जनवादी शासनमा जनवादी केन्द्रीयता लागू हुन्छ। संघीयता र बहुलवादप्रति यो सरकार प्रतिबद्ध छैन।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४