धनगढी - कैलाली सदरमुकाम धनगढीमाबाट संचालन भइरहेको मोहन्याल गाउँपालिकाको कार्यालय गाउँमै सार्न स्थानीयले अल्टिमेटम दिएका छन्।
दर्जनौंको संख्यामा धनगढीस्थित गाउँपालिकाको कार्यालय पुगेका स्थानीयले लामो समय सम्म कार्यालय सदुरमुकाममै राखेर जनतालाई दुःख दिएको भन्दै तत्काल कार्यालय गाउँमै स्थापना गर्न अल्टिमेटम दिएका हुन्। कार्यालयका सामाग्रीहरु आफैं लगेर कार्यालय गाउँमै स्थापना गर्छु भन्दै मंगलबार धनगढी पुगेका स्थानीयले चार दिनको अल्टिमेटम दिएको स्थानीय भवानीप्रसाद देवकोटाले बताए।
गाउँकार्यपालिकाले कार्यालय वडा नम्बर ३ को फलेविसौनामा राख्ने निर्णय गरेको महिनौ बितिसक्दा पनि प्रमुख प्रशासकिय अधिकृत गणेशदत्त ओझाले कार्यालय त्यता लिने चाँसो नदिएको भन्दै स्थानीय आक्रोसित भएर धनगढी नै पुगेका हुन्। स्थानीय तहको निर्वाचन भएको १४ महिना भैसक्दा पनि गाउँपालिकाको कार्यालय गाउँमा नहुँदा बाध्य भएर धनगढी आउनु परेको देवकोटाले सुनाए।
बैशाख १७ गते बसेको गाउँकार्यपालिकाको बैठकले सबै क्षेत्र लाई पायक पर्ने स्थान भन्दै फलेविसौनालाई तत्कालको लागि अस्थाई केन्द्र तोक्ने निर्णय गरेको थियो।
स्थानीय आफैंले गाउँपालिकाको कार्यालय सार्न लागेको खबर पाएपश्चात जिल्ला समन्वय समिति कैलालीका संयोजक शुर्य थापाले मंगलबार नै गाउँपालिका अध्यक्ष नवलसिंह रावल र प्रमुख प्रशासकिय अधिकृत ओझलाई आफ्नै कार्यालयमा बोलाएर कार्यालय चार दिन भित्र सार्न निर्देशन समेत दिएका छन्।
संयोजक थापाले जनतालाई सहजताका लागि लामो समय सम्म छलफल गरेर तोकेको अस्थायी केन्द्र कर्मचारीको कारणले सार्न अटेर गरेको गुनासो बढेको भन्दै तत्तकाल सारेर सेवा सुचारु गर्न अधिकृत ओझालाई निर्देशन दिए।
धनगढी पुगेका स्थानीय अगुवा भिम विकले जिल्लाको सदरमुकाम धनगढीमा रहेको कार्यालय चार दिन भित्र सारिने मौखिक सहमति भएको बताए। उनले भने,‘जिल्ला समन्वय समितिका संयोजकले हामीलाई आश्वासन दिनु भएको छ, उहाँले दिएको समयसम्म पर्खिन्छौं, त्यस पछि पनि कार्यालय नसारिए आफैं लगेर कार्यालय स्थापना गर्छौं।’
गाउँपालिकाबाट पाउने सेवा लिन सदरमुकाम धाउनु पर्ने बाध्यता रहेको भन्दै कार्यालय गाउँमै सञ्चालन गर्नुपर्ने उनले माग गरे। कैलालीको पहाडी भेगमा पर्ने गाउँपालिकामा इमेल-इन्टरनेट तथा बैकिङ सेवा नहुँदा काम गर्न असहज हुने भन्दै एक बर्ष देखि धनगढीमा कोठा भाडामा लगेर कार्यालय संचालन हुँदै आएको छ।
कार्यालय धनगढी हुँदा गाउँपरिषद्, कार्यपालिकाको बैठक कहिले धनगढी त कहिले बौनियाँ, सोल्टा, चिसापानीलगायतका स्थानमा संचालन हुने गर्दछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४