काठमाडौं- धारिलो हतियार प्रहारबाट मृत अवस्थामा फेला परेका पूर्वराजदूत केशव झाको हत्याको बिषयमा परिवारले किटानी जाहेरी नदिने भएको छ।
सोमबार हत्या गरिएका झाको विषयमा जाहेरी नदिने पारीवारिक श्रोतले जनाएको छ।
सोमबार आफ्नै निवासमा मृत अवस्थामा भेटिएका झाको धारिलो हतियारबाट हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी श्रोतले जनाएको छ।
८३ वर्षिय पूर्वराजदूत झा ७५ वर्षिय श्रीमती ज्ञानु झा र घरमा सहयोगीको रुपमा काम गर्ने काभ्रेका ४८ बर्षिय कान्छा तामाङसहित बबरमहलस्थित आफ्नै निवासमा बस्दै आएका थिए। हत्याको अनुसन्धानका लागि प्रहरीले तामाङसहित मालीको काम गर्ने तिन जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
सामाजिक सेवामा लामो समयदेखि काम गर्दै आएका मृतक झाका श्रीमती, एक छोरा र एक छोरी छन। विश्व स्वास्थ्य संगठन डव्लुटिओ अर्न्तगत पूर्वी टिमोरमा कार्यरत उनकी छोरी बरिष्ठ प्रसुती रोग विषेशज्ञ डा. राजश्री झा बुधबार नेपाल आएपछि टिचिङमा राखिएको झाको बुधबार पोष्टमार्टम गरिने परिवार श्रोतले बताएको छ।
परिवारसहित आयरल्याण्डमा बस्दै आएका उनका छोरा डा किरणराज झा नेपालमा छुट्टी मनाई गत शनिबार मात्र आयरल्याण्ड गएका थिए। उनि बिहिबार नेपाल आउने र सोहि दिन झाको पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने बताईएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४