मंगलबार, कात्तिक ६, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • वाणिज्य बैंकहरूमा दाजुभाइ, ज्वाइँदेखि 'खेताला' सञ्‍चालकसम्म

Siddartha premir insuranceSiddartha premir insurance

वाणिज्य बैंकहरूमा दाजुभाइ, ज्वाइँदेखि 'खेताला' सञ्‍चालकसम्म

अधिकांश बैंकमा हिस्सेदार रहेका उद्योगी, व्यवसायीले आफ्नो बहुमत हुने गरी सञ्चालक नियुक्त गर्दै आएका छन्। हिस्सेदार रहेका बैंकलाई आफू अनुकूल बनाउन एकाघरका दाजुभाइ, ज्वाइँ, ‘खेताला’ सञ्चालकसमेत खडा गरेर ‘आफ्नो हात जगन्नाथ’ गर्ने प्रवृत्ति बढ्दै गएको छ।
 |  शुक्रबार, साउन ६, २०७९
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

शुक्रबार, साउन ६, २०७९

काठमाडौं– नेपालमा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकमध्ये १५ वटामा ५३ जना सञ्चालक कुनै न कुनै व्यापार, व्यवसाय वा उद्योगधन्दामा संलग्न रहेको पाइएको छ ।

triton college

तीन वटा बैंक सरकारको लगानीका भएकाले सरकारले विषयविज्ञका रूपमा सञ्चालक नियुक्त गर्ने गरिएको छ। त्यस्तै, ७ वटा बैंकमा व्यापारी, व्यवसायीका ‘खेताला’ सञ्चालक रहेका छन्। राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार एक बैंकमा कम्तीमा ५ जना र बढीमा ७ जना सञ्चालक रहने प्रावधान छ।

अधिकांश बैंकहरूमा उद्योगी–व्यवसायीहरूले आफ्नो बहुमत हुने गरी नै सञ्चालक नियुक्त गर्दै आएका छन्। सञ्चालक नियुक्ति प्रक्रिया बैंकको साधारणसभालाई नै दिएको हुँदा राष्ट्र बैंकले यसमा हस्तक्षेप गरेको भने पाइन्न।

नबिल बैंक

नबिल बैंकमा ३ जना सञ्चालक उद्योगी, व्यापारी तथा व्यवसायी रहेका छन्। बैंक अध्यक्षमा व्यावसायिक बैंकर उपेन्द्र पौड्याल भए पनि सञ्चालक निर्वाण चौधरी सिजीकर्पका प्रबन्ध निर्देशक र उद्योग परिसंघका उपाध्यक्ष पनि हुन्। अधिकांश सेयर चौधरी समूहको रहेको सो बैंकमा ७ जना सञ्चालक रहेका छन्। नबिल बैंकका अर्का सञ्चालक प्रवीण टिवडेवाल व्यवसायी, उद्यमी हुन् भने अनन्त पौडेल नेपाल एजुकेसन कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर हुन्।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकमा पनि ६ सञ्चालकमध्ये ३ जना व्यापारी र व्यवसायी नै रहेका छन्। बैंक अध्यक्ष चन्द्रप्रसाद ढकाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष हुन्। यो संस्थाले सम्पूर्ण व्यापारी व्यवसायीको पक्षमा लबिङ गर्दै आएको हुन्छ। त्यस्तै, बैंकका अर्का सञ्चालक क्याबिनेट श्रेष्ठ भारतीय कम्पनी महिन्द्रा एन्ड महिन्द्रा ग्रुपको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपका प्रबन्ध निर्देशक हुन्।

Metro Mart
vianet

हिमालयन बैंक
हिमालयन बैंकमा पनि अध्यक्षसहित ४ जना सञ्चालक विभिन्न व्यापार व्यवसायमा संलग्न छन्। अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ न्यू एभरेष्ट कन्स्ट्रक्सनका एमडी हुन्। अर्का सञ्चालक विजयबहादुर श्रेष्ठ नेपाल ल्युब आयल लिमिटेड र स्नोलाइन कार्पेट प्रालिका निर्देशक हुन्।

त्यसैगरी सञ्चालक राधाकृष्ण पोते र आशीष शर्मा पनि व्यवसायी नै हुन्। उक्त बैंकका अर्का सञ्चालक सुनिलकुमार थापा नेपाली कांग्रेसका पूर्वमहामन्त्री र पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत हुन्। रोचक के भने थापा हिमालयन बैंकका संंस्थापक हिमालय शमशेरका ज्वाइँ पनि हुन्।

नेपाल इन्भेष्टमेण्ट बैंक

नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे आफैं व्यवसायी हुन्। उनी काठमाडौंको ठमेलमा रहेको छाया सेन्टरका सञ्चालक हुन्। छाया सेन्टरले विभिन्न क्षेत्रमा लगानी गरेको छ। त्यस्तै, अर्का सञ्चालक प्रजन्य राजभण्डारी उद्योग वाणिज्य महासंघका पूर्वकार्यसमिति सदस्य हुन् भने कविकुमार टिवडेवाल व्यवसायी हुन्। टिवडेवालको रेमिट्यान्स, ग्रोसरी, पेट्रोल्युब इन्डस्ट्रीलगायतका कम्पनी छन् ।  

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकमा ५ जना सञ्चालक व्यापारी व्यवसायी रहेका छन्। यीमध्ये तुलसीराम अग्रवाल, त्रिलोकचन्द्र अग्रवाल र निकुन्ज अग्रवाल विशाल ग्रुपका हुन्। त्यस्तै, रामचन्द्र संघई उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष हुन्।

सनराइज बैंक

सनराइज बैंकमा पनि ६ सञ्चालकमध्ये ४ जना व्यापार, व्यवसाय क्षेत्रकै रहेका छन्। सो बैंकमा सञ्चालक रहेका मोतीलाल दुगड र मालचन्द दुगड दाजुभाइ हुन् भने दुगड ग्रुपबाटै प्रतिनिधित्व गर्छन्। त्यस्तै, बच्छाराज तातड पनि परिचित व्यापारी हुन्। अर्का सञ्चालक शैलेन्द्र गुरागार्इं नेपाल ऊर्जा उत्पादक संघका अध्यक्ष हुन्।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकमा ५ सञ्चालक उद्योगी, व्यवसायमा संलग्न छन्। केडिया ग्रुपको वर्चस्व रहेको सो बैंकमा अध्यक्ष मनोजकुमार केडिया हुन्। उनको लगानी बृज सिमेन्ट, अर्घाखाँची सिमेन्ट, श्री स्टिल्स, सीताराम दूध, राजहंस घ्यू, चिनीदेखि बैंकिङ र बिमा क्षेत्रमा पनि ठूलो मात्रामा रहेको छ। यस्तै, अंकित केडिया पनि सोही ग्रुपकै सदस्य हुन्। बैंकका अर्का सञ्चालकत्रय नरेन्द्रकुमार अग्रवाल, राहुल अग्रवाल र दिनेशशंकर पालिखे पनि व्यापारी नै हुन् ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकमा पनि तीन जना सञ्चालक व्यवसायी रहेका छन्। विभिन्न होटलमा उनीहरूको लगानी रहेको छ। यस्तै, अन्य सञ्चालक अरुणमान शेरचन र बालगोपाल वैद्य पनि व्यवसायी हुन्।

बैंक अफ काठमाण्डू

बैक अफ काठमाण्डूमा पनि तीन जना व्यवसायी बैंक सञ्चालक रहेका छन् । प्रकाश श्रेष्ठ, विजयकुमार श्रेष्ठ र मदनलाल जोशी व्यवसायी हुन्।

सेन्चुरी कमर्सियल बैंक

सेन्चुरी कमर्सियल बैंकमा पनि दुई सञ्चालक व्यवसायी रहेको पाइएको छ। राजेशकुमार श्रेष्ठ र अभिषेक वज्राचार्य व्यवसायी रहेका र उक्त बैंकमा संस्थापक सेयरधनीको रूपमा सञ्चालक बनेको पाइएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल

सिटिजन्स बैंकमा पाण्डे ग्रुपका प्रबलजंग पाण्डे सञ्चालक रहेका छन्। उनको विभिन्न उद्योगमा लगानी रहेको छ। विशेषगरी औषधी उद्योगका लगानीकर्ता रहेका पाण्डेको लगानी कसमस सिमेन्टलगायत क्षेत्रमा रहेको छ। त्यस्तै, सो बैंकमा सञ्चालक रहेका प्रकाशचन्द्र मैनाली, सीता कार्की केसी र साजन शर्मा पनि व्यापारी नै हुन्। उनीहरूको ठूलो लगानी भने रहेको पाइएको छैन।

सिभिल बैंक

सिभिल बैंकमा पनि पाँच जना संचालक व्यापारी तथा व्यवसायी रहेका छन्। हाल बैंक अध्यक्ष रहेका प्रतापजंग पाण्डे पाण्डे ग्रुपका हुन्। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपजंग पाण्डेका छोरा हुन् । त्यस्तै, सिटिजन्स र सिभिल बैंकमा पाण्डे समूहको लगानी रहेकाले दुवै संस्थामा दाजु र भाइ सञ्चालक छन्। अर्का सञ्चालक इच्छाराज तामाङ घरजग्गा कारोबारी हुन्। सिभिल सहकारीमा बचत राखेको सर्वसाधारणको अर्बांै रकम खाएपछि प्रहरीले पक्राउ गरी तामाङलाई हाल कारागारमा राखिएको छ। त्यस्तै, बैंक सञ्चालक अम्बिर बोगटी, प्रकाश तयाल र योगेशबहादुर मल्ल पनि व्यवसायी हुन्।

प्राइम बैंक

प्राइम बैंकमा ६ सञ्चालकमध्ये ४ जना व्यवसायी रहेको पाइएको छ। राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ, नरेन्द्र वज्राचार्य र प्रचण्डमान श्रेष्ठ व्यवसायी हुन्। उनीहरूको पर्यटन क्षेत्रमा ठूलो लगानी रहेको छ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकमा पनि दुई सञ्चालक व्यवसायी रहेका छन्। व्यवसायी रहेका बैंकका दुई सञ्चालकमा वीरेन्द्रकुमार महतो र रोशन केसी हुन्। महतो गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोका भाइ हुन्। उनीहरूले महतो ग्रुप अफ इन्डस्ट्री खोलेर विभिन्न क्षेत्रमा लगानी गरिरहेका छन्।

एनएमबि बैंक

एनएमबि बैंकमा पनि तीन जना सञ्चालक उद्योगी र व्यवसायी रहेका छन्। बैंक अध्यक्ष पवनकुमार गोल्यान, गोल्यान ग्रुपका अध्यक्ष हुन्। सो ग्रुपले अपार्टमेन्ट, होटल, कृषि, स्टिल्स उद्योगलगायतका क्षेत्रमा लगानी गरेको छ। त्यस्तै, अर्का सञ्चालक योगेन्द्रलाल प्रधान पर्यटन व्यवसायी हुन् भने शिरीषकुमार मुरारका मुरारका गु्रपका सदस्य हुन्।

कुमारी बैंक

कुमारी बैंक अध्यक्षमा अमिरप्रताप जबरा रहेका छन्। जबरा उद्योगी हुन्। उनको गोल्डस्टार जुत्ता कम्पनी नेपालमा मात्र नभई विदेशमा पनि चर्चित भइरहेको छ।

त्यसैगरी प्रभु बैंक, लक्ष्मी बैंक, सानिमा बैंक, मेगा बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंकमा अधिकांश ‘खेताला’ सञ्चालक रहेको पाइएको छ। उनीहरूले व्यापारी व्यवसायीका तर्फबाट प्रतिनिधित्व गर्ने गरेको र तिनकै इशारामै निर्णय प्रक्रियामा सहभागी हुने गरेको बताइन्छ।

प्रकाशित: Jul 22, 2022| 15:20 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्