सुर्खेत- सरकारले आफ्नो रोजीरोटी खोस्न खोजेको भन्दै सुर्खेतका अटो रिक्सा व्यवसायीहरु आन्दोलित भएका छन्। वीरेन्द्रनगर नगरपालिका, बसपार्क व्यवस्थापन समिति र प्रहरीले अटो रिक्सा चालक माथि अनावश्यक कडाई गरेको भन्दै मंगलबार प्रदर्शन गरेका हुन्। भौतिक तथा पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था कार्यालय र जिल्ला प्रशासन कार्यालय सुर्खेतमा उनीहरुले प्रदर्शनसँगै धर्ना दिएका हुन्।
उनीहरुले पेशाको सम्मान हुनुपर्ने, बसपार्क नजिकै पार्किङ्को व्यवस्था गरिनुपर्ने, लाइसेन्स नआउँदासम्म अटो चलाउन पाउनुपर्ने लगायतका माग राखेका छन्। ‘बसपार्कमा प्रवेश निषेध गरेर हाम्रो रोजीरोटी खोस्न खोजियो’ अटो व्यवसायी निलकुमार तामाङले भने ‘स्थानीय सरकारले आफुखुसी कानून बनाउने र ट्राफिक प्रहरीलेसमेत विभिन्न नाम दुःख दिने काम गरेको छ।’ उनले आफ्नो पेशाको समेत सम्मान नभएको बताए।
अटो रिक्सा चालक सुरज तारामी मगरले वसपार्कमा अटो पार्किङ्ग गर्न नदिँदा अटो व्यवस्थापनमा चुनौती भएको बताए। ‘बसपार्कमा अटो रिक्सा लिएबापत यातायात व्यवसायीदेखि प्रहरीले जरिवाना तिराउँछ’ उनले भने, ‘प्रहरीले अनेक गल्ती देखाएर सताउँदै आएको छ।’
यसैबीच, नियमविपरित अटो रिक्सा चलाएको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले १ सय ३६ अटो रिक्सा प्रहरी नियन्त्रणमा लिएको छ। ‘वीरेन्द्रनगरमा रहेका अटोरिक्साहरूले कानुनको मापदण्ड विपरित सवारी चलाएकाले नियन्त्रणमा लिएका हौं’ जिल्ला ट्रफिक प्रमुख हरिबहादुर विसीले भने,‘अहिलेसम्म धेरै जसो अटो रिक्सा चालकसँग सवारीचालक अनुमतिपत्र छैन्, उनीहरुले तीव्र गतिमा अटो रिक्सा चलाउँदै आएका छन् ।’ जथाभावी अटो चलाउने यात्रबाट मनपरी भाडा असुल्ने गरेकाले अटो रिक्सालाई नियन्त्रणमा लिइएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४