सोमबार, वैशाख २४, २०८१

विज्ञ भन्छन् – कोरोनाको चौथो लहरले लपेट्यो, घोषणा गर्दैन मन्त्रालय

धेरै मानिसले खोप लगाइसकेकाले अघिल्ला लहरमा झैं अस्पताल भरिभराउ हुने र सिकिस्त बिरामी हुने अवस्था नआए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न विज्ञहरूको सुझाव छ।
 |  बिहीबार, साउन ५, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, साउन ५, २०७९

काठमाडौं– पछिल्ला साता नेपालमा दैनिक करिब चार सयको संख्यामा कोरोना संक्रमित थपिन थालेका छन् भने संक्रमणदर पनि १२ प्रतिशत पुगेको छ। गत असार १ मा ०.६४ प्रतिशत पुगेको संक्रमण दर साउन ५ सम्म आइपुग्दा १२.१ .प्रतिशत पुगेको छ। तेस्रो महामारीको लहर गत फागुनबाट क्रमशः मत्थर हुँदै गएको थियो। तेस्रो लहरमा संक्रमण दर ५० प्रतिशतमाथि पुगेको थियो।

triton college

पछिल्ला साता कोभिड संक्रमितको संख्या दैनिक बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकडाअनुसार दैनिक झन्डै ४ सय हाराहारी संक्रमित थपिन थालेका छन्। 

२ साउनमा ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको थियो, जुन पछिल्ला चार महिनायताकै उच्च हो। असार २० सम्म १ प्रतिशत रहेको कोरोना संक्रमण दर अहिले झन्डै १२ प्रतिशतमा आइपुगेको छ।

योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ५३७ पुगेको छ। 

किन बढ्न थाल्यो कोरोना ? 

corrent noodles
Metro Mart

पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्नुको कारण ओमिक्रोन भेरियन्टको सबभेरियन्ट बीए५ संक्रमण हुन सक्ने विज्ञहरूले औंल्याएका छन्। यसरी कोरोना संक्रमण बढ्दै जानु र सक्रिय संक्रमितको सख्या पनि बढ्दै जानुलाई विज्ञहरूले कोरोनाको चौथो लहर सुरु हुने संकेतको रूपमा बुझेका छन्।

टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास कोरोनाको चौथो लहर सुरु हुने संकेत देखिएको बताउँछन्। निरन्तर घट्दै गइरहेको कोरोना संक्रमण दर असारयता उकालो लाग्न थालेको उनको अनुमान छ।

पछिल्लो समय कोरोना संक्रमण बढ्नुमा ओमिक्रोन भेरियन्ट र यसका उप–प्रजाति बीए टु र बीए फाइभ बढी सक्रिय भएको हुन सक्ने विज्ञहरू बताउँछन्। दासका अनुसार भारतमा पनि ओमिक्रोनको नयाँ प्रजाति बीए फाइभको संक्रमण तीव्र रूपमा फैलिरहेको छ। सीमानाका हुँदै नेपाल प्रवेश गर्नेमध्ये दैनिक २० बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैले नेपालमा पनि ओमिक्रोनको नयाँ उपप्रजाति फैलिएको अनुमान छ।

नेपालमा ओमिक्रोनको नयाँ उप–प्रजाति बी ए फाइभ पुष्टि भइसकेको छ। ‘बीए फाइफ’ भेरियन्टलाई अन्य भेरियन्टभन्दा निकै संक्रामक मानिएको छ। अहिले विश्वभर फैलिरहेको ओमिक्रोनका भेरियन्टबाट बच्न बुस्टर डोज बढी प्रभावकारी रहेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ। 

पछिल्लो समय दैनिक थपिने कोभिड–१९ का संक्रमितको संख्या बढ्न थालेपछि चिकित्सकले अनिवार्य बुस्टर डोज खोप लगाउन सुझाएका छन्। पूर्ण मात्रा खोप लगाएकाले बुस्टर जोड खोप लगाए संक्रमण भए पनि स्वास्थ्यमा जटिलता कम आउने विज्ञको भनाइ छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार अहिले ७७ वटै जिल्लामा बुस्टर डोज लगाइँदै छ। बुस्टर डोजका लागि पर्याप्त मात्रामा खोप उपलब्ध रहेको महाशाखा प्रमुख डा. विवेककुमाल लालले बताए।

धेरै मानिसले खोप लगाइसकेकाले अघिल्ला लहरमा झैं अस्पताल भरिभराउ हुने र सिकिस्त बिरामी हुने अवस्था नआए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न विज्ञहरूको सुझाव छ। 

जनस्वास्थ्यका मापदण्डलाई नागरिकले पालना गर्न छाडेकाले त्यसलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन कोरोना जोखिम बढ्दै गएपछि सतर्कता अपनाउन आग्रह गर्छन्। ओमिक्रोन भेरियन्टको उप–प्रजातिको संक्रमण बढ्दै जाँदा खोप नलगाएका र खोप लगाएका तीन महिना पुगिसकेका सबैलाई बुस्टर डोज अनिवार्य लगाउन पुनको सुझाव छ। 

‘ओमिक्रोन संक्रामक मानिएको छ। नेपालमा नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गर्न छाडिइसकेको अवस्था छ। अब फेरि जनस्वास्थ्यका मापदण्डलाई अनिवार्य पालना गर्नुपर्ने समय आएको छ’, पुनले भने। 

धेरै मानिसले खोप लगाइसकेकाले अघिल्ला लहरमा झैं अस्पताल भरिभराउ हुने र सिकिस्त बिरामी हुने अवस्था नआए पनि सतर्क हुनु भने जरुरी उनले बताए। पुनले भने, ‘केही साताअघि नै नेपालमा बीए फाइभ पुष्टि भइसकेको छ। अहिले पनि समुदायमा संक्रमण फैलिरहेको छ तर परीक्षण नभएकाले कम संख्यामा संक्रमित देखिएका मात्र हुन्।’ 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक दासका अनुसार संक्रमण बढ्दै गएपछि देशका विभिन्न नाकाबाट नमुना संकलन गरी जिन सिक्वेन्सिङ गर्न थालिएको बताउँछन्। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पूर्वनिर्देशक डा.बाबुराम मरासिनी कोरोना संक्रमण चौथो लहर सुरु भएको बताउँछन्। ‘तेस्रो लहर न्यूनतम बिन्दुमा झरिसकेको छ। अहिले दैनिक १० प्रतिशतसम्म फेरि संक्रमित हुनु भनेको चौथो लहर हो’, उनले भने। पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्नुमा ओमिक्रोन भेरियन्टको सबभेरियन्ट बीए ५ हुन सक्ने उनले औंल्याए। 

सक्रमण दर बढ्दै गए पनि मन्त्रालयले चौथो लहर आइपुगेको घोषणा भने गरेको छैन। तर विज्ञहरूले भने चौथो लहर सुरु भएकाले सोहीअनुसार तयारी थाल्न सरकारलाई सुझाव दिएका छन्। 

स्वास्थ्य मन्त्रालयका अनुसार अस्पताल तथा प्रयोगशालालाई तयारी अवस्थामा राखिएको छ। चौथो लहर फैलिए पनि अस्पताल तथा पूर्वाधारले धान्न सक्ने मन्त्रालयको दाबी छ। इडीसीडीका निर्देशक डा. दासका अनुसार कोरोना महामारीसँग जुध्न सबै संयन्त्र तयारी अवस्थाामा छन्। सीमानाकामा कडाइ गरिएको छ। अस्पताल तथा प्रयोगशाला र जनशक्तिलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। 

मन्त्रालयको तथ्यांकअनुसार देशभर ८ हजार २०२ आइसोलेसन बेड र ३ हजार ८४६ एचडीयू बेड तयारी अवस्थामा छन्। त्यस्तै, २ हजार ७९७ आईसीयू बेड, १ हजार ८ भेन्टिलेटर, १५ हजार ४६५ अक्सिजन सिलिन्डर, १३२ अक्सिजन प्लान्ट र २७ वटा अक्सिजन ट्यांकी तयारी अवस्थामा छन्। 

सरकारले हाल ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि २७ जिल्लामा खोपको दोस्रो डोज लगाउन सुरु गरेको छ भने अन्य उमेर समूहका लागि निरन्तर पहिलो, दोस्रो तथा बुस्टर डोज लगाइरहेको छ। कोरोना संक्रमण बढ्न नदिन चिकित्सक तथा विज्ञहरूले अनिवार्य रूपमा खोप लगाउन सुझाएका छन्। पूर्ण मात्रामा खोप लगाएकाले बुस्टर डोज लगाए संक्रमित भए पनि कम जटिलता आउने चिकित्सकहरू बताउँछन्। 


प्रकाशित: Jul 21, 2022| 17:14 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्