सोमबार, वैशाख २४, २०८१

अक्सिजेनेटर अभाव हुँदा मुटुको शल्यक्रिया बन्द!

अक्सिजेनेटर नहुँदा शल्यक्रियाका लागि बोलाइएका ४० भन्दा धेरै बिरामीलाई अस्पातलले फिर्ता पठाएको छ।
 |  बुधबार, साउन ४, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, साउन ४, २०७९

काठमाडौं- मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने 'अक्सिजेनेटर'को अभाव भएपछि सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया बन्द भएको छ। अक्सिजेनेटर नहुँदा शल्यक्रियाका लागि बोलाइएका ४० भन्दा धेरै बिरामीलाई अस्पातलले फिर्ता पठाएको छ। 

triton college

अस्पतालका चिकित्सक रामेश कोइरालाले बुधबार वयस्क व्यक्तिको शल्यक्रिया रोकिएको जानकारी दिए। उनका अनुसार बुधबार ४ जना बालबालिकाको भने शल्यक्रिया भएको छ। वयस्क र बालबालिकाको मुटुको शल्यक्रिया गर्नुपर्दा छुट्टाछुट्टै साइजको अक्सिजेनेटर आवश्यक हुन्छ। 

शल्यक्रियाका लागि आवश्यक मेडिकल सामग्री नभएपछि फिर्ता पठाइएका बिरामीलाई सामग्री आएपछि शल्यक्रियाका लागि बोलाइने भन्दै सम्पर्क नम्बर लिएर फिर्ता पठाइएको डा. कोइरालाले जानकारी दिए। अस्पतालमा अब बालबालिकाका लागि प्रयोग हुने अक्सिजेनेटर मात्र छ। 

'चैतमा माग गरेको सामान अहिलेसम्म आइपुगेको छैन,' अधिकारीले भने, 'अस्पतालमा दैनिक ६/७ जनाको शल्यक्रिया हुने गरेको थियो। सामग्री अभावका कारण वयस्क बिरामीको शल्यक्रिया बन्द गर्नुपरेको हो।'

अस्पतालका निर्देशक चन्द्रमणि अधिकारीले विश्व बजारमा नै अक्सिजेनेटरको अभाव भएको र नेपालमा आपूर्ति नहुँदा वयस्क बिरामीको शल्यक्रिया बन्द गर्नुपरेको बताए। उनका अनुसार अब अक्सिजेनेटर नआएसम्म 'ओपन हार्ट सर्जरी' गर्न सकिने अवस्था छैन। अति गम्भीर अवस्थाका बिरामीको शल्यक्रिया गर्नुपर्ने हुन सक्ने भएकाले अस्पतालले केही थान अक्सिजेनेटर जगेडामा राखेको उनको भनाइ छ। 'चैतमा माग गरेको सामान अहिलेसम्म आइपुगेको छैन,' अधिकारीले भने, 'अस्पतालमा दैनिक ६/७ जनाको शल्यक्रिया हुने गरेको थियो। सामग्री अभावका कारण वयस्क बिरामीको शल्यक्रिया बन्द गर्नुपरेको हो।'

नेपालमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर (शिक्षण अस्पताल परिसर)ले पनि मुटुको ओपन हार्ट सर्जरी गर्दै आएको छ। अस्पतालमा भएको अक्सिजेनेटरले तीन सातासम्म पुग्न सक्ने आकलन व्यवस्थापनको छ। अस्पतालका कार्यकारी निर्देशक उत्तम कृष्ण श्रेष्ठले नेपालमा मात्र नभई विश्वबजारमा नै अभाव भएकाले समस्या भएको बताए।

corrent noodles
Metro Mart

‘नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रिय बजारमा नै यसको अभाव छ। मनमोहन अस्पतालमा पनि अक्सिजेनेटर कमी छ,' उनले भने, 'अहिलेसम्म शल्यक्रिया बन्द नै गर्नुपर्ने अवस्था नै आइसकेको त छैन, तर थप ल्याउन सकिएन भने तीन सातापछि अभाव हुने प्रष्ट छ।' मनमोहन अस्पतालमा वार्षिक ६ सय जनाको ओपन हार्ट सर्जरी हुने गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारी अक्सिजेनेटरको अभाव विश्वभर नै देखिएकाले त्यसको असर नेपालमा पनि परेको बताउँछन्। ‘हामीले पनि अक्सिजेनेटरको अभाव भएको भन्ने कुरा सुनेका छौं। चाँडो ल्याउनका लागि समन्वय गर्छौं,’ उनले भने, 'सबैकुरा हाम्रो वशमा पनि हुँदैन। सम्भव हुने कुरालाई हामीले समन्वय गर्नेछौं।' 

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद नवीना लामाले अक्सिजेनेटरको अभावमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको शल्यक्रिया रोकिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएकी थिइन्। 'सहिद गंगालाललगायत सबै मुटु अस्पतालमा मुटुको शल्यक्रिया बन्द भएको छ। अक्सिजेनेटरको अभावमा मुटुको शल्यक्रिया सेवा रोकिएको चिकित्सकले जानकारी गराएका छन्,' उनले अक्सिजेनेटरको व्यवस्था गर्न सरकारलाई निर्देशन दिन माग गरेकी थिइन्। 

मनमोहन अस्पतलाका निर्देशक श्रेष्ठका अनुसार अक्सिजेनेटर ओपन हार्ट सर्जरीका लागि आवश्यक मेसिन हो। शल्यक्रिया गर्दा मुटुलाई बन्द गर्नुपर्छ। मुटु बन्द गर्दा पनि शरीरलाई रक्तसञ्चार आवश्यक परिरहेकै हुन्छ। त्यस्तो बेला शरीरमा रक्तसञ्चार गराउने मेसिनलाई अक्सिजनेटर भनिन्छ। मुटुको शल्यक्रिया गर्दा मुटु र फोक्सोलाई सक्रिय राख्न उक्त उपकरण आवश्यक पर्दछ। एउटा अक्सिजेनेटरले एक जनालाई मात्रै प्रयोग गर्न सकिन्छ। यो बालबालिका र वयस्कको लागि फरकफरक आकारको हुन्छ। 

भारतमा पनि अभाव

नेपालमा भारतबाट अक्सिजेनेटर आयात हुने गरेको छ। भारतमा एक साताअघि देखि नै अक्सिजेनेटरको अभाव हुन थालेको थियो। उत्पादन कम भएकाले विश्वबजारमा अक्सिजेनेटरको अभाव देखिएको हो। भारतले युरोपेली देश र अमेरिकाबाट अक्सिजेनेटर आयात गर्दै आएको छ।

अक्सिजेनेटरको अभाव भएको भन्दै टाइम्स अफ इन्डियाले एक साताअघि समाचार प्रकाशन गरेको थियो। युक्रेन युद्धका कारण कच्चा सामग्रीको अभाव हुँदा अक्सिजेनेटर उत्पादन र बजार आपूर्ति शृंखलामा समस्या भएको हुनसक्ने समाचारमा बताइएको छ। 

भारतीय बजारका मेडिकल सामग्री आयातकर्ता निर्मल चड्डाले मुटुको शल्यक्रियाका लागि आवश्यक हुने अक्सिजेनेरेट, क्याथेटर र इन्ट्राओर्टिक बलुन पम्पजस्ता सामग्रीको आपूर्ति हालसम्मकै कम भएको जानकारी दिएका छन्। 'मुटुको शल्यक्रियाको योजना बनाउनुअघि नै सामग्रीको उपलब्धताबारे जानकारी लिन हामीले थुप्रै डाक्टर र अस्पताललाई अनुरोध गरिसकेका छौँ,'  चड्डाले भनेका छन्, 'हामीले एक सय अक्सिजेनेटर माग गर्‍यौँ भने २० वटा मात्र पाउने अवस्था छ।' 

गुजरातमा मेडिकल सामग्री आयात गर्दै आएका धनवन्त साहका अनुसार युक्रेन युद्ध मात्र नभएर पछिल्लो समय चीनमा कोरोना संक्रमण बढेको र उसले विभिन्न स्थानमा लकडाउन गर्दा विश्वबजारको आपूर्ति शृंखला प्रभावित भएको हुन सक्ने बताए। 'भारतसहित अन्तर्राष्ट्रिय बजारमा पनि कुनै विकल्प बाँकी छैन। यसको नियमित आपूर्ति कहिले हुन्छ भन्ने कुरा भन्न सकिन्न,' उनले भने। 

प्रकाशित: Jul 20, 2022| 20:16 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्