काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका राडार कर्मचारीको लापरवाहीले यूएस-बांग्ला र टर्किस एयरलाइन्सका विमानहरू दुर्घटना भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले स्वीकारेका छन्।
राडार कर्मचारीकै लापरवाहीको कारण २३ साउनमा समेत ओमानको मस्कटबाट आएको एक विमान ठूलो दुर्घटनाबाट बचेको मन्त्री अधिकारीले स्वीकारेका हुन्। पब्लिक इनोभेटर इन्जिनियर दीपेन्द्र कँडेलले विमानस्थलका राडार कर्मचारीमाथि कारवाही माग गर्दै ज्ञापनपत्र बुझाएपछि मन्त्री अधिकारीले यस्तो बताएका हुन्।
कँडेलले मन्त्री अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा विमानस्थलमा अवस्थित राडारमा कार्यरत कर्मचारीले गलत सूचना दिएका कारण विमानहरू बारम्बार दुर्घटना भएकाले तुरुन्त कडाभन्दा कडा कानूनी कारवाही माग गरिएको छ। मन्त्री अधिकारीले कँडेलले उठाएका मागहरू जायज रहेकाले धावनमार्ग सुधार गर्न टेन्डरसमेत प्रकाशित गरिसकेको जानकारी दिए।
‘विमास्थलमा कार्यरत राडार कर्मचारीको लापारवाहीका कारण हालै भएको घटनाबारे मलाई पनि जानकारी छ,’ मन्त्री अधिकारीलाई उद्धृत गर्दै उनको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो घटनाप्रति सरकारको ध्यानाकर्षण भएको छ।’
कँडेलले धावनमार्गलाई अन्तर्राष्ट्रियस्तरको नबनाएसम्म त्रिभुवन विमानस्थलबाट यात्रा नगर्न सर्वसाधारणसँग आव्हानसमेत गरेका छन्। उनले त्रिभुवन विमानस्थलमा भएको युएस-बांग्ला विमान दुर्घटनाको प्रतिवेदन पनि बिलम्ब नगरी बाहिर ल्याउन आग्रह गरेका छन्।
गत २३ साउनमा मस्कटबाट आएको डब्ल्यूटी-३३७ कलसाइनको विमान अवतरण गर्न लाग्दा राडार कर्मचारीले खराब मौसम बताउँदै ३० मिनटसम्म आकाशमै 'होल्ड' गराएका थिए।
काठमाडौंको आकाशमा ११ राउन्ड लगाउँदासमेत राडार कर्मचारीले कुनै सूचना नदिएपछि विमानलार्इ जबर्जस्ती अवतरण गराउनुपरेको थियो। तर, अहिले त्यहाँका कर्मचारीलाई कुन मिति र समयमा मौसम खराब भएको भन्नेबारे सोधीखोजी गर्दा कुनै सूचना नदिएको कँडेल बताउँछन्।
‘मसमेत सवार भएको विमानका पाइलटले इन्धन सकिएको र इन्धन भर्न लखनऊ जानुपर्ने बताए,’ कँडेलले भनेका छन्, ‘त्यसबेला सबै यात्रु चिच्याउने र नर्भस भएका थिए। पाइलटले धावनमार्गमा बाध्य भएर जहाज अवतरण गराएका थिए।’ विमानस्थलमा अवतरण गरेपछि काठमाडौंको मौसमको अवस्था खराब नभएको उनले बताए। ‘राडारका कर्मचारीले गलत सूचना प्रवाह गरेका थिए भन्ने त्यसबेला थाहा भयो, जहाँ धावनमार्ग मर्मत हुँदै थियो,’ उनले भने।
काठमाडौंको धावनमार्ग अवतरणका लागि निकै चुनौतिपूर्ण हुनु, आधुनिक राडार प्राविधिको अभाव तथा अनुसन्धानमा कमजोरी र गलत सूचना प्रवाह गर्ने कन्ट्रोल रुमका कारण दुर्घटना भइरहेको बताउँदै मन्त्रीको ध्यानाकर्षण गरिएको हो।
कन्ट्रोल समूहको गलत सूचनाले धावनमार्ग नदेखिने र बिग्रिएकाले मर्मत गर्नुपर्ने भएका कारण उडान र अवतरण बारम्बार रोक्ने काम भएको उनको गुनासो छ। युएस-बांग्ला वायुसेवाको ४९ यात्रुको ज्यान जानुको कारण पनि राडारका कर्मचारीको गलत सूचना रहेको उल्लेख गरेका छन्। यस्तै, टर्किस एयरलाइन्सको फ्लाइट टीके-७२६ धावनमार्गमा चिप्लिएर दुर्घटना हुनुको कारण पनि अवतरण गर्ने बेलामा धावनमार्गमा बाक्लो हुस्से लागेको सूचना राडार कर्मचारीले नदिनु रहेको अनुसन्धानका क्रममा खुलेको छ।
धावनमार्ग निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन, विमानस्थल सुरक्षाको विषयमा छलफल गर्न अन्तर्राष्ट्रिय हवाई उड्डयनका सदस्यहरूलाई बोलाउन र यूएस-बांग्लाको जहाज दुर्घटना प्रतिवेदन पुन: अध्ययन गर्न कँडेलले माग गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४