आइतबार, वैशाख १६, २०८१

खोला दोहनले खेतीयोग्य जमिन मरुभूमीकरण हुने जोखिम

लोहोन्द्रा खोलाबाट लगिएको लोहोन्द्रा-हैंसरी पैनीले ४ हजार ५०० बिघा बढी खेतीयोग्य जमिनमा सिँचाइ हुँदै आए पनि खुलेआम नदीजन्य वस्तुको दोहन गरिँदा १५ फिटभन्दा माथि पुग्यो खोला।
 |  बुधबार, साउन ४, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, साउन ४, २०७९

मोरङ- मोरङको सुन्दरहरैंचा नगरपालिका र ग्रामथानका किसान बर्सेनि सिँचाइको समस्यामा पर्दै आएका छन्। सुन्दरहरैंचा-१ र ग्रामथान ४, ५, ६ र ७ नम्बर वडाका किसानले केही वर्षयता खेतमा सहजै लोहन्द्रा खोलाको पानी पुर्‍याउन सकेका छैनन्।

triton college

खेतीसम्म पुर्‍याउने पानी लैजाने पैनीको मुहान गहिरिँदै गएको छ। हरेक वर्ष मुहान सारेर पानी लैजानुपर्ने बाध्यता छ।

यही अवस्था रहिरहे अबको केही वर्षदेखि सुन्दरहरैंचा र ग्रामथानका किसानको खेतमा पानी नै नपुग्ने जोखिम देखिएको छ।

खोला १५ फिटभन्दा बढी गहिरिएर गएको स्थानीय इन्द्र भट्टराईले बताए। पैनीबाट खोलाको सतह गहिरिँदै जाँदा त्यहाँबाट पानी लगेर सिँचाइ गर्न नपाउँदा धान रोपाइँ नै प्रभावित बनेको उनको गुनासो छ।

खोला गहिरिएका कारण पैनीमा पानी नचढ्दा सिँचाइ अभावले रोपाइँ गर्न नपाउँदा खेत बाँझै रहन थालेको उनले बताए। सुन्दरहरैंचा-१ को लोहोन्द्रा खोलाबाट लगिएको लोहोन्द्रा-हैंसरी पैनीले ४ हजार ५०० बिघा बढी खेतीयोग्य जमिन सिँचाइ हुँदै आएको छ।

corrent noodles
Metro Mart

लोहोन्द्रा खोलाबाटै लोहोन्द्रा-कोरियाडाँगी र लोहन्द्रा-किस्ती पैनी पनि सञ्चालनमा छ। 

लोहोन्द्रा-कोरियाडाँगीले करिब ७ सय र लोहन्द्रा-किस्ती पैनीबाट करिब ५०० बिघा जमिनमा सिँचाइ हुँदै आएको छ। हरेक वर्ष खोला गहिरिँदै गएका कारण सिँचाइमा समस्या हुँदै आएको भट्टराईले बताए।

उनले भने, ‘खोलाभन्दा खेत भएको जमिन उच्च बनेको छ। खोला गहिरिँदै गएका कारण करिब ६ हजार बिघामा सिँचाइको समस्या छ।’ 

उनका अनुसार लोहोन्द्रा-हैंसरी पैनीको पानी पहिले विराटनगरसम्म लैजाने गरिएको थियो। उनले भने, ‘निकै पुरानो सरकारी पैनी खोला गहिरिएका कारण मासिने अवस्थामा पुग्यो।’ 

ग्रामथान–७ का खेम घिमिरे पछिल्ला वर्ष दुःख हुँदै गएको सुनाउँछन्। बुबा, हजुरबुबाका पालादेखि लोहन्द्रा खोलाबाट पानी लगेर धान रोपाइँ गरिँदै आए पनि बर्सेनि खोला गहिरिँदा समस्या भएको उनको भनाइ छ।

पछिल्लो चार वर्षमा साविक स्थानबाट पैनीको मुहान दुई किलोमिटर पर सार्दा पनि खेतीमा पानी लैजान समस्या भइरहेको छ। उनले भने, ‘खोलो गहिरिएका कारण बाँध बाँधे पनि बाढीले एकै रातमा बगाइदिने गरेको छ।’

पहिले सहजै खेतीमा पानी पुगे पनि अहिले डोजर लगाएर बाँध बाध्नुपरेको उनले गुनासो गरे। 

खोलामाथिको अधिक दोहनका कारण स्थानीय किसान समस्यामा परेको सुन्दरहरैंचा-१ का रोहित श्रेष्ठले बताए। केही व्यक्तिसँगको मिलेमतोमा खोलामाथि दोहन हुँदा कृषिमा निर्भर रहेकाहरू मर्कामा परेको उनको दाबी छ।

मेसिन हालेर खोलामा दोहन गरिएको भन्दै नगरपालिकामा दिइएको उजुरीमाथि पनि सुनुवाइ नभएको उनले बताए। कानुनी आधारबिनै मापदण्ड विपरीत ठेकेदारले खोलामा मेसिन हालेर नदीजन्य पदार्थ उत्खनन गर्दा न नगरपालिकाले रोक्यो, न त कारबाही नै गरियो।

पछिल्लो चार वर्षमा गरिएको दोहनका कारण खोलो १५ फिटभन्दा बढी गहिरिएर जाँदा कृषियोग्य जमिन मरुभूमिकरण हुने अवस्थामा पुगेको उनले बताए।

श्रेष्ठले भने, ‘खोलाबाट जेसीबी, एक्जाभेटर हालेर अवैध उत्खनन गर्दा यो अवस्था आएको हो। खोला गहिरिएपछि पानीको स्रोत पनि नासिँदै गएको छ। खोलामा बाढी आउनुअघि विरक्त लाग्ने खाल्डा थिए। अहिले बाढीले केही सम्यायो ।’

लोहोन्द्रा खोलालाई च्यानलाइज गर्ने नाममा अत्यधिक दोहन भएको श्रेष्ठको दाबी छ। 

खोलामा जेसीबी र एक्जाभेटर हालेर उत्खनन गर्न थालेपछि स्थानीयले विरोध नगरेका भने होइनन्। प्रहरी लगाएर स्थानीयलाई लखेट्ने काम गरिएको स्थानीय हरि दाहालले बताए।

सुन्दरहरैंचा नगरपालिका र प्रशासनसमेतको मिलेमतोमा उत्खनन गर्दै नदीजन्य पदार्थ निकालिँदै आएको उनको भनाइ छ।

मेसिन हालेर खोलामा दोहन गरिएको भन्दै नगरपालिकामा दिइएको उजुरीमाथि पनि सुनुवाइ नभएको उनले बताए। कानुनी आधारबिनै मापदण्ड विपरीत ठेकेदारले खोलामा मेसिन हालेर नदीजन्य पदार्थ उत्खनन गर्दा न नगरपालिकाले रोक्यो, न त कारबाही नै गरियो।

खोला च्यानलाइजका नाममा मेसिन प्रयोग गरेर अवैध उत्खननका लागि ठेकेदारलाई सजिलो बनाइदिने काम नगरपालिकाबाटै भएको उनको आरोप छ। 

सुन्दरहरैंचा नगरपालिकाका एक प्राविधिक ठेकेदार कम्पनीले मनपरी ढंगबाट दोहन गरेको स्वीकार्छन्। वातावरणीय प्रभाव मूल्यांकन (आईई) प्रतिवेदनअनुसार खोलामा मेसिन प्रयोग नगरी नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा) निकाल्ने भनेर ठेक्का दिइए पनि प्रतिवेदनको प्रतिकूल हुने गरी काम भएको उनको दाबी छ।

उनले भने, ‘हामीलाई थाहा दिइएन। अनुगमनमा कहिल्यै पठाइएन।’

सुन्दरहरैंचा-१ को ल्यान्डफिड साइट नजिक अहिले ठूलो मात्रामा नदीजन्य पदार्थ मौज्दात राखिएको छ। मापदण्ड विपरीत उत्खनन गरेर खोला नजिक राखिएको नदीजन्य पदार्थ जफत गरिने नगरपालिकाले जनाएको छ।

खोलामा मेसिन हालेर मापदण्ड विपरीत उत्खनन गरेको पाइएको नगरप्रमुख केदारप्रसाद गुरागाईंले बताए। खोला उत्खनन गरेर एकै ठाउँबाट २० करोड बढीको नदीजन्य पदार्थ लगेको खुलेको उनले जानकारी दिए। 

 

आर्थिक वर्ष २०७८/७९ का लागि सुन्दरहरैंचा नगरपालिकाले लोहन्द्रा, गछिया, खदम र बूढीखोला ठेक्का लगाएको पाइएको उनले बताए। ६८ लाख घनफिट मात्रै उत्खनन् गर्न पाउने गरी भ्याटबाहेक ६ करोड १८ लाख रुपैयाँमा मनन कन्स्ट्रक्सन प्रालिलाई खोला ठेक्का दिइएको पाइएको उनले सुनाए। ठेक्का प्रक्रियाबारेका कागजात खोजीको काम भइरहेको नगरप्रमुख गुरागाईंको भनाइ छ। उनले भने, ‘खोला दोहन गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउँछौं।’ 

प्रकाशित: Jul 20, 2022| 12:36 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।