काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण प्रक्रिया केही समय लम्बिने भएको छ। नेकपा सचिवालयले ५ भदौसम्म जनवर्गीय संगठन तथा तल्ला कमिटीको एकीकरण गरिसक्ने निर्णय लिएको थियो ।
अधिकांश कमिटीले केन्द्रमा प्रतिवेदन बुझाएका छन् । तर, केहीमा नेतृत्वमा सहमति नभएपछि प्रतिवेदन आउन बाँकी छ। नेकपा महासचिव विष्णु पौडेलले भने अधिकांश कमिटीको प्रतिवेदन केन्द्रमा आइसकेको बताए । ५ भदौमा सम्पन्न गर्ने भनिए पनि केही समय पर सर्ने संकेत उनको थियो ।
कतिपय कार्यदलले धमाधम प्रतिवेदन बुझाएसँगै जिल्ला अध्यक्षहरू सर्वसम्मत चुनिँदै गएका छन् । हालसम्म डेढ दर्जनभन्दा बढी जिल्लामा सर्वसम्मत नेतृत्व चुनिएका छन् ।
सर्वसम्मत हुन नसकेका जिल्ला र प्रदेशका हकमा भने एकीकरण कार्यदलले पूर्वएमाले र पूर्वमाओवादीमध्ये कसको नेतृत्व रहने निक्र्योल गर्दै महासचिव विष्णु पौडेललाई नाम बुझाइरहेका छन् । कतिपय कार्यदलले भने संख्या मात्रै टुंग्याएर जिल्ला र प्रदेशको नेतृत्व केन्द्रीय सचिवालयले नै टुंग्याउने गरी जिम्मा लगाएका छन् ।
अन्तिम निर्णय भने केन्द्रीय सचिवालय र स्थायी समिति बैठकबाट हुनेछ । यसका लागि नेकपाले ८ र ९ भदौमा स्थायी समिति बैठक बोलाइसकेको छ । प्रदेश–३ र ४ का एकीकरण कार्यदलले आइतबार प्रतिवेदन बुझाएका छन् ।
प्रदेश–३ का १७ जिल्ला कमिटीमध्ये पूर्वएमालेले १० र माओवादीले सात लिने गरी बाँडफाँट गरेर एकीकरण कार्यदलले महासचिव पौडेललाई सोमबार प्रतिवेदन बुझाएको छ । पूर्वएमालेले भूगोलका जिल्लामध्ये काठमाडौंमा रामशरण ढुंगाना, मकवानपुरमा बद्री लम्साल, धादिङमा नेत्रराज पौडेल, रसुवामा कर्णेल लामा, सिन्धुपाल्चोकमा झम्क नेपाल, दोलखामा भीम दाहाल र ललितपुरमा हरिकृष्ण व्यञ्जनकारको नाम अध्यक्षमा सिफारिस गरेको छ ।
ती जिल्लामा पूर्वएमालेका तर्फबाट नेतृत्व हुने गरी सर्वसम्मत नाम टुंगिएको छ । भक्तपुरमा पूर्वएमालेले लिने समझदारी भए पनि विवादका कारण नाम सिफारिस भएको छैन ।
पूर्वमाओवादीले नेतृत्व गर्ने काभ्रेमा सूर्यमान दोङको नाम सिफारिस भएको छ । चितवन, सिन्धुली, रामेछाप र नुवाकोटका साथै युवा–विद्यार्थी र मजदूर विशेष जिल्ला कमिटीको नेतृत्व पूर्वमाओवादीले लिने गरी कार्यदलमा सहमति जुटेको छ । यस्तै, पूर्वएमालेले विशेष जिल्ला कमिटीतर्फ उद्योगी व्यवसायी र पेशागत विशेष जिल्लाको नेतृत्व पाउने गरी कार्यदलले प्रतिवेदन बुझाएको छ ।
गण्डकी प्रदेशले पूर्वएमाले र पूर्वमाओवादीले अध्यक्ष र सचिवको छुट्टाछुट्टै नामसहितको सूची बुझाएको छ । प्रदेश र जिल्लाको संख्यात्मक हिस्सेदारी टुंगो लगाएर एकीकरण कार्यदलले सहमतिमै केन्द्रीय सचिवालयबाट दुवैतर्फका जिल्ला अध्यक्ष र सचिवका दाबेदारहरूको नाम बुझाएको हो ।
पूर्वएमालेले गोर्खामा प्रेम गुरुङ, कास्कीमा दामोदर बैरागी, लमजुङमा कृष्णराज अधिकारी, म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, बाग्लुङमा कृष्ण पाठक, मुस्ताङमा रमेश भट्टचन र मनाङमा त्रिपल गुरुङको एकल नाम अध्यक्षमा बिसफारिस गरेको छ । यस्तै, तनहुँमा भगवती न्यौपाने, विष्णुभक्त सिग्देल, रामचन्द्र तिम्सेना, पर्वतमा भक्त कुँवर, मेघनाथ सुवेदी, नवलपुरमा दीपक अधिकारी, जीवन श्रेष्ठ, स्याङ्जामा रामचन्द्र भट्टराई, कृष्ण खाँण र उदय श्रेष्ठको नाम अध्यक्षमा सिफारिस भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४