काठमाडौं- इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालमै पहिलो पटक सर्वाधिक ठूलो धनराशीसहितका दुई रियालिटी शो आयोजना हुने भएका छन्।
काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ आयोजना गर्न लागिएको बताएका हुन्।
विश्वभर छरिएर रहेका नेपालीभाषीको सहभागितामा शो आयोजना गरिनेछ। ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले ७५ हजार डलर पुरस्कार पाउनेछन्। यस्तै, फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन्।
‘मेरो डान्स युनिभर्स’को विजेताले पनि ७५ हजार डलर पुरस्कार पाउनेछन्। यो शोको फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन्।
अध्यक्ष अधिकारीले भने, ‘यो कार्यक्रम आयोजना गरेर हामीलाई कुनै नाफा कमाउनु छैन। विश्वभर छरिएर रहेका नेपालीभाषीलाई एक सूत्रमा बाँध्ने र उनीहरूलाई नेपाली भाषाबारे सजग गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो।’
शोमा सहभागी हुन चाहने विश्वभरका नेपालीभाषीले इन्ट्रा फाउन्डेसनको एप डाउन लोड गरेर फर्म भर्न सक्नेछन्। आउँदो अगस्टदेखि सुरु हुने अडिसन डिसेम्बर ३१, २०२२ सम्म जारी रहने पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले जानकारी दिए।
जनवरी १ बाट प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिनेछ। अधिकारीका अनुसार नेपालको पूर्व, मध्य र पश्चिमाञ्चलमा अडिसन हुनेछ। क्यानडा र अमेरिकामा पनि १–१ स्थानमा अडिसन गरिनेछ।
यी बाहेक अन्य देशमा प्रतिस्पर्धीको संख्याका आधारमा अडिसन हुने बताइएको छ।
फेब्रुअरी २८ तारिखसम्म फिल्ड अडिसन सम्पन्न गरी साइटलेस अडिसनका लागि छनोट भएका प्रतिस्पर्धीलाई नेपालमा ल्याइने इन्ट्रा फाउन्डेसनका अध्यक्ष अधिकारीले बताए।
नेपाली गीत–संगीतलाई फराकिलो स्थान दिन यो कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ। यो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मानित गरियो।
कार्यक्रममा वरिष्ठ कलाकार निर शाह, नायक भुवन केसी, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, नायिका प्रियंका कार्की, कार्यक्रम होस्ट सुशील नेपाल, ‘द भ्वाइस अफ नेपाल’का अध्यक्ष लक्ष्मण पौडेललाई सम्मानित गरियो।
यस्तै, कुमार कार्की, दुर्गाप्रसाद पाण्डे, ज्ञानेन्द्रराज देवकोटा र माधव खरेलल पनि सम्मानित भए।कार्यक्रममा कलाकार किरण केसीले गीत गुन्जिए। गायक पुष्पन प्रधान, शिव परियारले पनि गीत गाएर कार्यक्रममा मनोरञ्जन दिए।
उक्त अवसरमा नेपाली वीरको विरता झल्कने नृत्यसमेत प्रस्तुत गरिएको थियो। इन्ट्रा फाउन्डेसनले अहिले ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए’ आयोजना गरिरहेको छ।