बुधबार, कात्तिक ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मिथिलामा मधुश्रावणीको रौनक

१३ दिनसम्म मनाउने यो पर्वमा अहिले मैथिल नवयौवना समवयस्कसँगको हासपरिहास र सामूहिक गायनमा रमाइरहेका छन्।
 |  मंगलबार, साउन ३, २०७९
nespernesper

रासस

रासस

मंगलबार, साउन ३, २०७९

महोत्तरी- मिथिलाका विवाहित नारीले मधुश्रावणी पर्व मनाइरहेका छन्। १३ दिनसम्म मनाउने यो पर्वमा अहिले मैथिल नवयौवना समवयस्कसँगको हासपरिहास र सामूहिक गायनमा रमाइरहेका छन्। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा सोमबारबाट सुरुआत भएको यो पर्व १३ औँ दिनमा समापन गरिनेछ। 

triton college

मिथिलाका प्रत्येक जसो बस्ती अहिले मधुश्रावणीको रङमा व्यस्त देखिन्छन्। साउन कृष्ण पञ्चमीका दिन सुरु भएर साउन शुक्ल तृतियाका दिन सम्पन्न गरिने यो पर्व बर्तालु र उनका सखीको वस्त्र परिधानको सजधज, सामूहिक प्रणयगान र फूल खोज्ने विधिले सबैको ध्यान खिच्ने गरेको छ।  शिव, पार्वती  र ‘विषहरा’ को आराधना गरिने यो पर्वमा भोलिपल्टको पूजा अर्चनाका लागि एक दिन अघिको सन्ध्या कालमा सामूहिकरुपमा फूल खोज्न निस्कने विधिलाई ‘फूल​लोढी’ भन्ने गरिएको छ। पर्वमा भगवान् शंकर र देवी गौरीलाई बासी फूल चढाउने चलन छ।

पर्व अवधिमा प्रत्येक दिन सूर्यास्त हुन पूर्वको बेलामा प्रणयगान गाउँदै विशेष वस्त्र परिधानमा सजिएका मैथिल नवयौवना फूल खोज्ने विधिका लागि निस्कँदा सामान्य बटुवा पनि टक्क अडिएर गीतको भावमा डुब्छन्। 

आमरुपमा प्रगाढ प्रणय सम्बन्धको अपीलमा सामाजिक शिष्टता नाघिने शब्द गीतमा हुँदैनन्। वर्षायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ। वनमा रमाउने मयूर पनि यसै मौसममा प्रणय सम्बन्धमा लिन हुन्छन्। यस्तो बेला नवविवाहिता जोडीबीच रतिरागदेखि भावात्मक रुपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको मिथिला संस्कृतिका जानकार बताउँछन्। यसैले यो पर्व नवविवाहिताका लागि खास हुने गरेको छ। 

पर्वमा नवविवाहिता मिथिलानी यौवनको  सखीहरूबीच भर्खरै सुरु भएको दाम्पत्य जीवनका कौतुहलता, पतिले देखाउने वास्ता र रति रागसम्मका अनुभव साटासाट हुन्छन्। ‘बेहुली भएर पति घर गएदेखि मधुश्रावणी मनाउन माइत आएबीचका अन्तरङ्ग अनुभव बर्तालुले सुनाउँदा विवाह योग्य उमेर पुगेकी सखीको कौतुहलताको मापन के होला?’ ८२ वर्षीय साहित्यकार महेश्वर राय भन्छन्, ‘यो कुराको अनुमानले मात्र पनि जो–कसैलाइ रोमाञ्चित बनाउँछ।’

Metro Mart
vianet

पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब साझा भइसकेको छ। पति घरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोक संस्कृतिको अभिन्न अङ्ग नै बनेको मिथिलानी बताउँछन्। पर्वमा शिव, पार्वती र विषहराको पूजा आराधना गरेपछि बर्तालुलाई ज्येष्ठ महिलाले मधुश्रावणी कथा सुनाउँछन्। यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरि, विहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीको कथा हुने गर्छन्। 

पातमाबाट पाँच नागकन्याको जन्म भएको कथा प्रचलित छ। तलाउमा जलक्रिडाका बेला जन्मेका यी छोरी भेट्न शिव जाने गरेका र यो वृत्तान्त थाहा नपाएकी पार्वतीलाई पतिप्रति शङ्का बढेपछि पिछा गरेकी कथा छ। एक दिन छोरीहरूसँग खेलिरहेका पतिलाई देखेपछि क्रोधित भएकी पार्वतीलाई शिवले सबै कुरा बताएपछि क्रोध शान्त भएको प्रसङ्ग छ।

पार्वतीलाई खुसी तुल्याएपछि शिवले साउन महिनामा यी नागिनीको पूजा गर्नेलाई सर्पको भय नहुने वरदान दिएबाट मधुश्रावणी पर्वमा विषहराको पूजा विधान सुरु भएको लौकिक जनविश्वास छ। देवी गौरी दाम्पत्य जीवन सुखद् बनाउने र सबै मनोकामना पूरा गर्ने मानिएकीले उनको पूजा अर्चना नवविवाहिताले यसै अभिष्ठका लागि सुरु गरेका मिथिला लोकसंस्कृतिका जानकार कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित महेशकुमार झाको भनाइ छ।

पर्वको मुख्य पक्ष नै नारी जीवनमा पतिप्रतिको स्नेह र सम्बन्ध प्रगाढ बनाउन केन्द्रित रहेकाले यससँग जोडिएर आउने ठट्यौली र हासपरिहासले पर्वको महत्ता उज्यालिएको पाका मिथिलानी बताउँछन्। प्राचीन वैदिक ग्रन्थ शिव पुराणमा कुष्ठरोग भएका आफ्ना पतिलाई ठिक गराउन  मधुश्रावणी नाउँकी नवविवाहितालाई शिवले यो व्रत गर्न लगाएका प्रसङ्ग छ। शिवको आज्ञाअनुसार मधुश्रावणीका पति ठिक भएपछि पति कल्याण र आपसी सम्बन्ध प्रगाढताको कामना राखिने यो पर्व परम्परा चलेको विश्वास गरिन्छ।

प्रकाशित: Jul 19, 2022| 09:13 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।